- सावित्रा भण्डारीले आफ्नो घुँडाको गम्भीर चोटका लागि उपचार खर्च जुटाउन सरकार र समर्थकसँग सहयोगको अपिल गरेकी छन्।
- उपचारको लागि झन्डै ८०,००० अमेरिकी डलर आवश्यक भए पनि एन्फाले केवल नगद ५ लाख मात्र सहयोग गरेको छ।
- उनले कतरको अस्पेटारमा उच्च स्तरीय उपचार गराउने इच्छा रहेको बताउँदै सामाजिक सञ्जालमार्फत सहयोगको याचना गरेकी छन्।
नेपाली महिला फुटबलकी कीर्तिमानी स्ट्राइकर तथा राष्ट्रिय टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले आफ्नो उपचारका लागि आम समर्थक र सरकारसँग सहयोगको अपिल गर्दै क्युआर कोड सेयर गरेकी छन्।
पछिल्लो सात हप्तादेखि चोटका कारण मैदान बाहिर रहेकी साम्बाले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट सहयोगको आश्वासन पाए पनि अन्त्यमा प्रशासनिक सहयोग गर्न नसक्ने जवाफ पाएपछि सामाजिक सञ्जालमार्फत सहयोगको याचना गरेकी हुन्।
सावित्राको घुँडाको एसीएल (एसीएल) र एमसिएल (एमसीएल) दुवैमा गम्भीर चोट लागेको भन्दै गम्भिर सल्याक्रिया गर्नुपर्ने बताइन्। यसअघि शल्यक्रिया गरिएको स्थानमै पुन: चोट लागेकाले यो पटकको उपचार थप जटिल बनेको भन्दै उनले न्युजिल्याण्डमा व्यावसायिक फुटबल खेल्ने क्रममा लागेको चोटका कारण झन्डै दुई महिनादेखि उपचारको पर्खाइमा भौतारिनु परेको दुखेसो गरेकी छिन्।
उनले भनिन् ‘चोट लागेको ३ सातापछिको लागि क्लबको पहलमा शल्यक्रिया मिति तोकिएको भएपनि एन्फाले आफ्नो तर्फबाट प्रयास गर्ने बतायो । तर सो अनुसार एन्फाबाट प्रक्रिया अघि बढेन। मैले पटक पटक प्रयास गर्दापनि वहाँहरुलाई सम्पर्क गर्न कठिन भयो।’
साम्बाले अगाडी भनिन् ‘अघिल्लो साता एन्फा अध्यक्ष आफैंले मेरो उपचारमा एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो। वहाँले नगद ५ लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैं गर्न भन्नुभयो । एक त मैले यसअघि चालेको प्रक्रिया रोकियो, अर्कोतर्फ मैले झन्डै २ महिनापछि मात्र शल्यक्रिया मितिको लागि फेरी प्रयास गर्नुपर्ने भएको छ।’
निराश बनेकी साम्बाले इतिहासकै कठिन लडाँइ लडिरहेको बताइन्। क्लबका लागि खेल्दा लागेको चोट भन्दै एन्फा पन्छिन खोज्दा उनले आफ्नो करियरकै सबैभन्दा कठिन मानसिक र आर्थिक लडाइँ लड्नु परेको बताएकी छिन्।
उपचारका लागि ठूलो आर्थिक आवश्यकता
साम्बाले कतारको अस्पेटारमा उच्च स्तरीय उपचार गराउने इच्छा राखेकी छन् जहाँ उनको अघिल्लो शल्यक्रिया भएको थियो। शल्यक्रिया र करिब ८ महिना लामो पुनस्र्थापना (रिहाब) का लागि झन्डै ८० हजार अमेरिकी डलर खर्च हुने प्रारम्भिक अनुमान गरेकी छिन्। क्लबले बीमा मार्फत केही रकम दिने भए पनि त्यो अपुग हुने देखिएपछि उनले समर्थकहरूमाझ सहयोगको हात फैलाएकी हुन्।
सरकार र समर्थकमाझ अपिल
विदेशमा रहेर पनि सधैं नेपालको नाम र झण्डा उँचो राख्न लडेकी साम्बाले सरकारी प्रक्रिया सुस्त हुँदा थप पीडा भोग्नु परेको बताएकी छन्। उनले आफू थाकेको तर नहारेको बताउँदै पुन: राष्ट्रिय जर्सीमा मैदान फर्कने अठोट व्यक्त गरेकी छन्। उनलाई सहयोग गर्न चाहनेले नेपालमा बैंक खाता वा क्यूआर कोड र विदेशमा रहेकाले गिभलिटल लिंक मार्फत योगदान गर्न सक्ने जनाएकी छन्।
यस्तो छ उनको स्टाटस
नमस्कार, म सावित्रा भण्डारी, तपाईंहरुको ‘साम्बा’
यहाँहरु सबैलाई थाहा नै छ म पछिल्लो ७ हप्तादेखि चोटका कारण मैदानबाहिर छु । सोचेजस्तो हुन्थ्यो भने अहिले म चोटको शल्यक्रिया गरेर फिजियो सुरु गरेको केहि समय बितिसक्ने थियो । तर अझैपनि म उपचारको लागि भौतारिएको छु ।
मेरो घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको छ । यसका लागि मैले पुन: जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ । पछिल्लोपटक एन्फा नेतृत्वको पहलमा मेरो उपचारमा सम्पूर्ण व्यवस्थापन र सहयोग भएको थियो । त्यसबेला आर्थिक र मानसिक रुपमा मलाई कुनै समस्या थिएन, जसकारण मैले समयमा पुनरागमन गर्दै मैदान फर्कन सकें ।
तर यसपटक एन्फा नेतृत्वबाट वाचा गरेको सहयोग पनि पाइएन । चोट लागेको ३ सातापछिको लागि क्लबको पहलमा शल्यक्रिया मिति तोकिएको भएपनि एन्फाले आफ्नो तर्फबाट प्रयास गर्ने बतायो । तर सो अनुसार एन्फाबाट प्रक्रिया अघि बढेन । मैले पटक पटक प्रयास गर्दापनि वहाँहरुलाई सम्पर्क गर्न कठिन भयो । अघिल्लो साता एन्फा अध्यक्ष आफैंले मेरो उपचारमा एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो । वहाँले नगद ५ लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैं गर्न भन्नुभयो । एक त मैले यसअघि चालेको प्रक्रिया रोकियो, अर्कोतर्फ मैले झन्डै २ महिनापछि मात्र शल्यक्रिया मितिको लागि फेरी प्रयास गर्नुपर्ने भएको छ ।
यसबीचमा क्लबले मलाई न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गर्न तयार रहेको बताइरहेको छ । तर मेरो चोट गम्भीर रहेको र पछिल्लो पटक कतारको अस्पेटारमा गरिएको उपचार उच्च स्तरको रहेकाले मैले पुन: सोहि अस्पतालमा उपचार गराउने इच्छा राखेको हुँ । क्लबले विमाबाट प्राप्त रकम मेरो लागि निकासा गरिदिने भएको छ । तर उक्त रकम मेरो शल्यक्रिया र ७-८ महिना रिह्याबका लागि अपुग हुने भएकाले आम समर्थकमाझ सहयोग माग्न आइपुगेको छु । यसका लागि कुल ८० हजार अमेरिकी डलर खर्च हुने प्रारम्भिक आँकलन रहेको छ ।
म बाहिर रहेकाले सरकारसमक्ष पनि मेरो प्रतिनिधित्व गर्दै उपचारका लागि सहयोगको प्रयास भएका छन् । तर सरकारी प्रक्रिया अपेक्षा गरेअनुसार अघि बढ्न नसक्दा मैले शल्यक्रिया नगरी भर गर्ने स्थिति रहेको छैन ।
मैले आफ्नो करियरमा सधैं कठिनाइहरूको सामना गर्नुपरेको छ, र हरेक पटक साहसका साथ त्यसलाई पार गरेको छु । यसपटक पुन: माथि उठ्न तपाईंको सहयोगको आवश्यकता परेको छ ।
मेरो लागि यो आफ्नो करियरको सबैभन्दा कठिन लडाइँ भएको छ । मैले यो अवस्था आउला भन्ने सोचेको पनि थिइनँ । आफ्नो अभिभावक मानेको एन्फाले पनि पछि हटेपछि मेरो साथ दिन आम समर्थकहरु नै हुनुहुन्छ । एन्फाभित्र म क्लबको लागि खेल्दा चोट लागेको भन्ने तर्क सुन्दा म आफैं निराश भएको छु । तर मैले देशको लागि सधैं शत प्रतिशत दिएको छु र आउने दिनमा पनि देशको लागि खेल्न तत्पर छु । इजरायल होस् या फ्रान्स, मैले सधैं नेपालकै नाम राखेको महसुस भएको छ । यहाँ न्युजिल्यान्ड र अष्ट्रेलियामा खेल्दापनि मैले व्यक्तिगत भन्दापनि राष्ट्रको पहिचान बोकेको ठानेको छु ।
आर्थिक रुपमा मैले आजसम्म आर्जन नगरेको रकम यो उपचारका लागि आवश्यक परेको छ । त्यसैले नै म आज यहाँहरुमाझ सहयोगको याचना गरिरहेको छु । आशा छ मेरो उपचारका लागि आवश्यक सहयोग चाडैं जम्मा हुनेछ । र म राष्ट्रिय टोलीको कप्तान, जो युरोपमा पुगेर खेलेको छु, मैले यो परिस्थितिको सामना गर्नुपर्छ भने सोच्नुहोस अरुको अवस्था के होला? मैले यसबारे निरन्तर आवाज पनि उठाउँदै आएको छु, तर नियतिले पुन: एकपटक मलाई नै यो अवस्थामा ल्याएको छ ।
मलाई सहयोग गर्न नेपालमा रहनुहुनेले तल राखिएको QR वा बैंक मार्फत सहयोग गर्नुहोला ।
विदेशमा रहनुहुनेले यो लिंकमा गएर सहयोग गर्नुहोला :
https://givealittle.co.nz/…/support-sambas-surgery…
यो चोटले मलाई शारीरिक र मानसिक रुपमा थकाएको छ, तर मलाई विश्वास छ म फर्कनेछु ।
थाकेको हो, हारेको छैन
पुन: एकपटक नेपालको जर्सी लगाएर मैदान फर्कनेछु ।
जय नेपाल!