- कञ्चनवनमा परिक्रमा यात्रीहरूले भगवान राम र सीताको धार्मिक विश्वासअनुसार होली उत्सव मनाएका छन्।
- विभिन्न मठ-मन्दिरका महन्थ, समाजसेवी र सांस्कृतिक अभियन्ताहरूले होलीमा उत्साहपूर्वक सहभागिता जनाएका छन्।
- मिथिला मध्यमा परिक्रमा अन्तर्गत, भक्तजनहरूले कञ्चनवनमा होली खेलेपछि मिथिलाञ्चलमा होली पर्वको औपचारिक शुरुआत भएको मानिन्छ।
जनकपुरधाम- मिथिला मध्यमा परिक्रमा अन्तर्गत सहभागी श्रद्धालुहरूले कञ्चनवन पुगेर एकअर्कालाई रंग-अबिर दलेर होली पर्व मनाएका छन्। त्रेता युगमा भगवान राम र सीताले यसै स्थानमा होली खेलेको धार्मिक विश्वासका आधारमा परिक्रमा यात्रीहरूले सोमबार कञ्चनवनमा होली उत्सव मनाएका हुन्।
हरेक वर्षझैं यस वर्ष पनि मिथिला बिहारीको डोलासहित कञ्चनवन पुगेका श्रद्धालुहरूले सामूहिक रूपमा होली खेलेका छन्। कञ्चनवनमा परिक्रमा डोला पुगेपछि होली खेल्ने परम्परा रहिआएको संस्कृतिविदहरूले बताएका छन्। यहाँ होली खेलेपछि मिथिलाञ्चल क्षेत्रमा होली पर्वको औपचारिक आगमन भएको मानिन्छ।
कञ्चनवनमा आयोजना हुने होलीमा मिथिलाञ्चलका विभिन्न मठ-मन्दिरका महन्थ, समाजसेवी, सांस्कृतिक अभियन्ता तथा राजनीतिक क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहने गरेको छ। यस स्थानमा इच्छावती र वीरजा गंगाको संगमसमेत रहेको छ। धार्मिक विश्वासअनुसार इच्छावती नदीले भगवान रामलाई होली उत्सव मनाउन सहयोग गरेको र यही स्थानमा राम-जानकीले होली खेलेको मान्यता रहेको छ।
कञ्चनवनको ऐतिहासिक तथा धार्मिक महत्वलाई मध्यनजर गर्दै बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले पछिल्ला वर्षहरूमा यहाँ विशेष होली महोत्सव आयोजना गर्दै आएको छ।
फागुन शुक्ल प्रतिपदादेखि सुरु हुने मिथिला मध्यमा परिक्रमा फागुन शुक्ल सप्तमीका दिन मिथिला बिहारीको डोलासहित ध्रुवकुण्डबाट कञ्चनवन पुग्ने परम्परा छ। जनकपुरधामको हनुमाननगरबाट सुरु भएको परिक्रमा कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडै र ध्रुवकुण्ड हुँदै अन्ततः कञ्चनवन पुगेको हो।
तस्बिरहरू:
