- नेपाली लोकरक ब्यान्ड नेपथ्यले फेब्रुअरी २८ मा बहुसांस्कृतिक सहर सिलिगुडीमा पहिलोपटक आफ्नो प्रस्तुति दिनेछ।
- स्थानीय आयोजक अनुसार कन्सर्टको एक साताअघि नै तीन हजारभन्दा बढी टिकट बिक्री भइसकेका छन्।
- नेपथ्यका मुख्य गायक अमृत गुरुङले भारतीय नेपालीभाषी श्रोताहरूको मायालाई नयाँ उचाइमा पुर्याउन अघि बढ्ने बताए।
काठमाडौँ- नेपाली लोकरक ब्यान्ड नेपथ्यले आगामी शनिबार, फेब्रुअरी २८ मा भारतको सिलिगुडीमा पहिलोपटक आफ्नो प्रस्तुति दिने भएको छ।
पूर्वोत्तर भारतको प्रवेशद्वार मानिने यस बहुसांस्कृतिक सहरमा हुन लागेको यो कन्सर्ट ब्यान्डका लागि सन् २०२६ को पहिलो अन्तर्राष्ट्रिय प्रस्तुति समेत हुनेछ।
हालै नेपालका चार सहरको साङ्गीतिक यात्रा सकेर फर्केको नेपथ्यको टोली अहिले सिलिगुडी कन्सर्टको अन्तिम तयारीमा व्यस्त छ।
यसअघि सिक्किम र सिलोङमा प्रस्तुत भइसकेको नेपथ्यलाई सुन्न यसपटक सिलिगुडीको ‘उत्सोधारा टिस्टा टाउनसिप’ स्थित कावाखाली ग्राउन्डमा भव्य व्यवस्था मिलाइएको छ।
नेपालीभाषीको बाक्लो उपस्थिति रहेको यस क्षेत्रमा आयोजना हुन लागेको यो कन्सर्टलाई एउटा उत्सवमय जमघटको रूपमा लिइएको छ। स्थानीय आयोजक ‘पोजिटिभ भाइब्स’ का अनुसार कन्सर्टको एक साताअघि नै तीन हजारभन्दा बढी टिकट बिक्री भइसकेका छन्।
यो ऐतिहासिक साङ्गीतिक साँझ हेर्न भारतका दार्जिलिङ, कालिम्पोङ, मिरिक, सिक्किम, डुवर्स र जयगाउँका साथै नेपालका सीमावर्ती जिल्लाहरू झापा र इलामबाट समेत उल्लेख्य दर्शक आउने अपेक्षा गरिएको छ।

शनिबार साँझ ५:३० बजे कार्यक्रमस्थलको ढोका खुल्नेछ भने त्यसको दुई घण्टापछि अर्थात् ७:३० बजेदेखि कन्सर्ट सुरु हुनेछ। कार्यक्रमका लागि ब्यान्डको आधिकारिक वेबसाइटमार्फत नेपाल र भारतका दर्शकका लागि छुट्टाछुट्टै पोर्टलबाट अनलाइन टिकट बुकिङको व्यवस्था समेत गरिएको छ।
नेपथ्यका मुख्य गायक अमृत गुरुङले भारतीय नेपालीभाषी श्रोताहरूको मायालाई यो प्रस्तुतिमार्फत नयाँ उचाइमा पुर्याउन आफूहरू आतुर रहेको बताउनुभएको छ।
मञ्चमा अमृतलाई ड्रममा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिनेछन्।
गत वर्ष लन्डनको वेम्बली एरिना र युरोपका विभिन्न सहरमा सफल प्रस्तुति दिएको नेपथ्यले यसपटक सिलिगुडीमा पनि सोही स्तरको प्राविधिक एवं साङ्गीतिक स्वाद पस्कने लक्ष्य राखेको छ।