- टी-२० विश्वकपमा सुपर-८ चरणको पहिलो खेलमा पाकिस्तान र न्युजिल्यान्ड एकअर्काको सामना गर्दै छन्।
- पाकिस्तान र न्युजिल्यान्डले समूह चरणमा समान ३ जित र १ हार बेहोरेर सुपर-८ चरणमा स्थान पक्का गरेका थिए।
- आर. प्रेमदासा स्टेडियमको स्पिनरमैत्री पिचमा अधिकतम तापक्रम ३०-३१ डिग्री, ३०-४०% वर्षाको सम्भावना छ।
टी-२० विश्वकपमा आजबाट सुपर–८ चरणका खेलहरु सुरु हुँदै छन्। पहिलो खेलमा आज पाकिस्तानले न्युजिल्यान्डको सामना गर्दै छ।
आर. प्रेमदासा स्टेडियम मा साँझ ७ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्दै यात्राको सुखद सुरुवातको लक्ष्यमा रहेका छन्। दुबै टिमले समूह चरणको अन्तिम खेलमा जित निकाल्दै सुपर-८ पक्का गरेका थिए।
समूह चरणमा दुवै टोलीले ४-४ खेल खेलेका थिए, जसमा ३ जित र १ हार बेहोरे। पाकिस्तानले नेदरल्यान्ड्स, अमेरिका र नामिबियालाई हराउँदा भारतसँग पराजित भएको थियो। अर्को तर्फ न्यूजील्याण्डले अफगानिस्तान युएइ र क्यानडालाइ हराउँदा दक्षिण अफ्रिकासँग पराजित भएको थियो।
पाकिस्तान र न्यूजील्याण्डबीच टी-२० अन्तर्राष्ट्रियमा कडा प्रतिस्पर्धा भएको छ। दुइ टोलीबीच ४९ खेल हुँदा पाकिस्तानले २४ र न्यूजील्याण्डले २३ खेल जितेका छन्। २ खेल नतिजाविहीन रहे। विश्वकपमा भने पाकिस्तान केही बलियो देखिन्छ। दुवैबीच भएका ७ खेलमध्ये पाकिस्तानले ५ र न्यूजील्याण्डले २ खेल मात्र जितेका छन्।
न्यूजील्याण्डका लागि जारी विश्वकपमा टिम सेइफर्ट शीर्ष रन–स्कोररका रुपमा रहेका छन्। उनले ४ खेलमा १६७.९६ को स्ट्राइक रेटमा १७३ रन बनाएका छन। बलिङतर्फ लक्की फर्गुसन शीर्ष विकेट टेकर हुन्। उनले ३ खेलमा ९.६७ को इकोनोमीमा ४ विकेट लिएका छन्।
पाकिस्तानको तर्फबाट नामिबियाविरुद्ध समूह चरणमा शतक बनाएका सहिबजादा फरहानले सर्वाधिक २२० रनसहित टोलीका उत्कृष्ट ब्याटरका रुपमा रहँदा उनी प्रतियोगिताका टप रन–स्कोरर पनि हुन्। बलिङ एक्शनका कारण चर्चामा रहेका उस्मान तारिकले ३ खेलमै ८ विकेट लिएर टोलीका शीर्ष विकेट टेकर बनेका छन्।
कस्तो छ पिच र मौसम
आर. प्रेमदासा स्टेडियमको पिच स्पिनरमैत्री देखिएको छ। यस टी–२० विश्वकपमा यहाँ खेलेका ५ खेलमध्ये ४ खेलमा पहिला ब्याटिङ गर्ने टोली विजयी भएको छ। लक्ष्य पछ्याउँदै जित्ने एक मात्र खेलमा जिम्बाब्वेले श्रीलंकालाई हराएको थियो। समग्रमा यहाँ ५३ टी–२० अन्तर्राष्ट्रिय खेल हुँदा २९ पटक लक्ष्य पछ्याउने र २३ पटक पहिला ब्याटिङ गर्ने टोली विजयी भएका छन्। १ खेल नतिजाविहीन रह्यो।कोलम्बोमा शनिबार दिनभरि बादल र हावाको सम्भावना छ। वर्षाको सम्भावना ३०–४०% रहने अनुमान छ। अधिकतम तापक्रम ३०-३१ डिग्री सेल्सियस पुग्न सक्छ।
सम्भावित प्लेइङ–११
पाकिस्तान: सलमान आगा (कप्तान), साहिबजादा फरहान, साइम अयुब, बाबर आजम, उस्मान खान (विकेटकिपर), ख्वाजा नाफी, शादाब खान, मोहम्मद नवाज, फहीम अशरफ, सलमान मिर्जा र उस्मान तारिक।
न्यूजील्याण्ड
फिन एलन, टिम साइफर्ट (विकेटकिपर), रचिन रविन्द्र, ग्लेन फिलिप्स, मार्क च्यापम्यान, डेरिल मिचेल (कप्तान), कोल म्याककोन्ची, जिमी निसम, म्याट हेनरी, काइल जेमिसन र ज्याकब डफी।