एक्लै भोट माग्दै हिँडेका सुर्खेतका पवन

एक्लै भोट माग्दै हिँडेका सुर्खेतका पवन
+
-
देशसञ्चार AI सारांश
  • पवन थापा मगरले चुनाव प्रचारमा पुस्तक र फिल्मका गफ छोडेर एक्लै हेन्ड माइक बोकेर गाउँगाउँमा समस्या सुन्दै भोट मागिरहेका छन्।
  • थापाले कर्णालीमा यातायात सुधार, शिक्षा र स्वास्थ्य सेवा सुनिश्चित गर्न तथा सामाजिक न्यायको लागि प्रतिबद्धता जनाएका छन्।
  • उनले पिछडिएको वर्गको आवाज उठाउँदै मिटरब्याज पीडित, भूमिहीन र शोषितलाई न्याय दिलाउने आफ्नो प्रमुख लक्ष्य बनाएका छन्।

एक दशकदेखि काठमाडौँका गल्लीहरूमा किताब र फिल्मका गफ गर्दै हिँड्ने सुर्खेतका पवन थापा मगर यतिखेर सुर्खेत क्षेत्र नम्बर २ का जनतासँग भोट माग्दै हिँडेका छन् । चुनाव चिन्ह ब्याट्रीमा भोट हाल्न अनुरोध गर्दै हिँडेका २७ वर्षीय थापा गतिशिल लोकतान्त्रीक पार्टीबाट उम्मेदवार हुन् ।

निर्वाचनको बेला तामझामसहित घोषणापत्र सार्वजनिक गर्ने पुरानो परम्परालाई तोडेका छन् उनले । कुनै भीड छैन उनीसँग । एक्लै हेन्ड माइक बोकेर आफ्नो गाउँमा भोट माग्छन् । गाउँ-गाउँमा उनी पैदल पुग्छन् । स्थानीयको समस्या सुन्छन् तर अनावश्यक सपना बाँड्दैनन् ।

अहिले पनि एक काँधे झोलामा चुनाव चिन्ह र घोषणा पत्र बोकेर उनी मिटरब्याज पीडित, भूमिहीन र मजदुरहरूसँग कुरा गर्न पुग्छन्। भुइँमान्छेका दु:ख सुन्छन् । आफ्नो चुनावी प्रतिबद्धता पत्रलाई ‘न्यायको दस्तावेज’को संज्ञा दिँदै थापाले सडकमा संघर्ष गरिरहेका किसान र मजदुरका मुद्दालाई नै आफ्नो मुख्य एजेन्डा बनाएका छन्।

बौद्ध दर्शनका अध्येता एवं सामाजिक अभियन्ता थापाले पश्चिम सुर्खेत र समग्र कर्णालीको विकासका एजेन्डाहरू अघि सार्दै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। कर्णालीमा सर्वसुलभ र सुरक्षित यातायात तथा सामाजिक न्यायको पक्षमा आफू सडकबाटै निरन्तर संघर्ष गरिरहेका उनको भनाइ छ ।

कर्णाली क्षेत्रमा भएका विभेद र अन्यायविरुद्ध आवाज उठाउँदै आएको दाबी गरेका थापा स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएको अनुभव, सामाजिक आन्दोलनमा संलग्नता तथा नागरिक अधिकारका मुद्दाहरूलाई निरन्तर उठाउँदै आएको पनि उनले उल्लेख गरेका छन् ।

‘केही मुद्दामा सफलता हासिल भएको छ भने केहीमा अझै संघर्ष जारी नै छ। अब यही संघर्षलाई अझ सशक्त, संगठित र परिणाममुखी बनाउन सुर्खेत क्षेत्र नम्बर २ बाट गतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएको छु,’ थापाले भने।

कर्णालीको सार्वजनिक यातायात सुधारमा योगदान दिएका उनले काठमाडौँ माइतीघर मण्डला निषेधित क्षेत्र हटाउनुपर्ने भन्दै उनले पटकपटक आन्दोलन पनि गरेका थिए।

लेखक तथा फिल्मकर्मीसमेत रहेका थापाले थाइल्याण्डमा ५ वर्ष बौद्ध दर्शनको अध्ययन गर्नुका साथै नेपालमा फिल्म निर्माणमा डिप्लोमा गरेका छन्। विगत १० वर्षदेखि सामाजिक र राजनीतिक अभियानमा सक्रिय उनी हाल दर्शन र राजनीतिशास्त्रमा स्नातक तहमा अध्ययनरत छन्।

उनी नेपालको नागरिक आन्दोलन समूहहरूमा सक्रिय रूपमा संलग्न छन्। माइतीघरदेखि कर्णालीसम्मका बेतिथिलाई सधैं उठाइरहेका उनी यसपटक प्रतिनिधिसभामा छिर्ने मनस्थितिमा देखिन्छन्।

यो क्षेत्रमा कांग्रेसबाट नारायण कोइराला, एमालेबाट कुलमणि देवकोटा, नेकपाबाट झक्कबहादुर मल्ल (सुदीप), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रमेश सापकोटा उम्मेदवार छन् ।

राष्ट्रिय जनमोर्चाबाट पूर्णबहादुर शाही, राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट कविराम पुरी, उज्यालो नेपाल पार्टीबाट गम्भीर सिंह भुल, नेमकीपाबाट तुल्छी खड्का, जसपा नेपालबाट दीप बहादुर नेपाली, नेपाल जनसेवा पार्टीबाट हृदेन्द्र अधिकारी र श्रम संस्कृति पार्टीबाट राजेन्द्र अधिकारी लगायतले उम्मेदवारी दिएका छन्।

त्यस्तै रमेश परियार, उदीराम चुनारा र कृष्ण खत्रीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

यसअघि स्थानीय तह निर्वाचनमा वडा अध्यक्षको उम्मेदवारी दिएर ९ मत प्राप्त गरे पनि थापाले तर जनसरोकारका मुद्दामा आफ्नो सक्रियता घटाएनन्। डाक्टर गोविन्द केसीको चिकित्सा शिक्षा सुधार अभियान, निर्मला पन्तको न्याय, मिटरब्याज पीडितको आन्दोलन र माइतीघरको निषेधाज्ञाविरुद्धको प्रदर्शनमा उनी अग्रपंक्तिमा रहेका थिए। सोही क्रममा उनले ७२ घण्टाभन्दा बढी हिरासत समेत भोगेका थिए।

उम्मेदवार थापाले आफू सदैव सडकको आन्दोलनमा पीडितहरूसँगै रहेको स्मरण गराउँदै भने, ‘यो मेरो लागि चुनाव मात्र होइन, न्यायको लडाईँ पनि हो। मिटरब्याज, वित्तीय शोषण र भूमिहीनका समस्या समाधानका लागि म संसदमा बुलन्द आवाज उठाउने प्रतिवद्धता व्यक्त गर्दछु।’

थापाले आफ्नो उम्मेदवारीका मुख्य नौवटा क्षेत्रगत एजेन्डाहरू प्रस्तुत गरेका छन् ।

यातायात क्रान्ति: ‘साझा यातायात’को मोडलमा स्थानीय सार्वजनिक यातायात सञ्चालन गर्ने र कर्णालीबासीको ९० प्रतिशत स्वामित्व रहने गरी ‘कर्णाली एयर’ स्थापनाको पहल गर्ने।

शिक्षा र स्वास्थ्य: गुणस्तरीय शिक्षा र सबैका लागि पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्न सरकारी लगानी वृद्धि गर्ने।

पर्यटन र सम्पदा: सुर्खेत विमानस्थलको स्तरोन्नति गर्ने र ऐतिहासिक काँक्रेबिहारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराई वार्षिक एक लाख पर्यटक भित्र्याउने लक्ष्य। कृषि र रोजगारीस् स्थानीय उत्पादनलाई लखनऊ, दिल्ली र काठमाडौँका बजारसँग जोड्ने तथा कृषि र पर्यटनमार्फत वडा-वडामा रोजगारी सिर्जना गर्ने।

आधारभूत सुविधा: चेपाङ्ग गाउँमा विद्युतीकरण र फोर-जी सञ्जाल विस्तारमा सफल पहल गरिसकेका थापाले आगामी दिनमा सुरक्षित खानेपानी र दिगो ऊर्जालाई प्राथमिकता दिने बताएका छन्।

युवा लक्षित कार्यक्रम: बढ्दो लागुऔधष दुर्व्यसनीलाई न्यूनीकरण गर्न पुनस्स्थापना केन्द्रको स्थापना र युवाहरूलाई कला तथा खेलकुदमा परिचालन गर्ने योजना पनि उनको घोषणापत्रमा उल्लेख छ।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?