धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा आफ्नो प्रदेशस्तरीय चुनावी सभा आयोजना गर्दैछ।
धनगढी बजारस्थित महोत्सव स्थलमा आयोजना हुने जनसभालाई पार्टीका सभापति रवि लामिछानेलगायतका केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सभाको तयारीका लागि सभापति लामिछाने मंगलबार साँझ नै धनगढी पुगिसकेका छन्। सभा सुरु हुनुअघि धनगढीको चौराहा र क्याम्पस रोडबाट छुट्टाछुट्टै र्याली निकाल्ने तयारी गरिएको छ।
उक्त प्रदर्शनसहितको टोली बजार परिक्रमा गर्दै महोत्सव स्थलमा पुगेर आमसभामा परिणत हुने आयोजकले जनाएको छ।
पार्टीले यस सभालाई आफ्नो सांगठनिक विस्तार र चुनावी रणनीतिको महत्त्वपूर्ण कडीका रूपमा लिएको छ। सुदूरपश्चिमका विभिन्न जिल्लाबाट कार्यकर्ता र समर्थकहरू धनगढी आउने क्रम जारी छ।
सभामा सभापति लामिछानेले पार्टीको आगामी कार्यदिशा र समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा राख्नेछन्।