- कांग्रेसका उम्मेदवार महेन्द्र यादवले मतदातालाई आश्वासन दिँदै सिँचाई र खानेपानीका बिल माफ गर्ने भने।
- मुख्य निर्वाचन अधिकृतका अनुसार धनुषा ४ मा आचारसंहिता उल्लंघनको छानविन भइरहेको छ।
- मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले चुनावी आचारसंहिता उल्लंघन गरी पूर्ण अनुदान दिन्छु भनी घोषणा गरे।
जनकपुरधाम – धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा मतदातालाई रिझाउन निर्वाचन आचारसंहिता उल्लंघन गर्दै कांग्रेसका उम्मेदवार र जनप्रतिनिधिले ‘फ्रि कार्ड’ खेलेका छन्।
कांग्रेसबाट उम्मेदवार रहेका महेन्द्र यादवले केही दिनअघि चुनावी प्रचारप्रसारको क्रममा बटेश्वर गाउँपालिका ५ मा पुगेका थिए। कांग्रेसको प्रचारप्रसार समिति वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा उपस्थित मतदातालाई रिझाउन सो वडाका वडाध्यक्षलाई सिँचाई बिल तिर्न निर्देशन दिए।
उम्मेदवार यादवले वडाध्यक्ष शिवकरण यादवलाई निर्देशन दिँदै सिँचाईको जति बिल छ त्यो वडाबाट तिरिदिन निर्देशन दिँदै मतदातालाई तपाईहरुको माग पूरा भयो भनेर भने।
जवाफमा वडाध्यक्ष यादवले अहिले आफूहरु सिँचाईमा ६० प्रतिशत बित तिरिरहेको र बाँकीको ४० प्रतिशत मात्र तिर्नुपरिरहेको जवाफ दिएपछि पुनः उम्मेदवार यादवले शतप्रतिशत नै दिनभनेपछि वडाध्यक्ष यादवले पुनः हुन्छ भनेर जवाफ फर्काए। यस्तै उम्मेदवारले लक्ष्मिनीयाँमा पनि शतप्रतिशत फ्रि दिने भने। यादवले आफू जितेपछि यस क्षेत्रमा खानेपानीको जति बिल उठेपनि सबै माफ गराइदिने भनेर कांग्रेसलाई भोट दिन आग्रह गरे।
यादवले कांग्रेसलाई जबसम्म जिताउने तबसम्म सबैकुरा फ्रि हुने भनेर मतदातालाई आश्वासन दिए।
त्यसको केही दिनपछि मिथिला नगरपालिका २ मा आयोजित कार्यक्रममा बोल्दै त्यहाँका मेयर महेन्द्र महतोले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै बैशाखदेखि नगरमा सिँचाई बिल तिर्ने घोषणा गरे। उनले भने, ‘म सोँची रहेकोछु कम्तिमा बैशाख १ गतेदेखि सिँचाई मिटरमा पूर्ण अनुदान दिने कुरा अगाडि बढाइरहेको छु। अब भन्नुस काम गरोस कांग्रेस र भोट जाओस अन्यलाई रु’
निर्वाचन आचारसंहिता २०८२ गत माघ ५ गतेदेखि लागू छ। निर्वाचन आचारसंहिता २०८२ को दफा ५ को खण्ड ९क० मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसाग गर्न नहुने उल्लेख छ तर सोही खण्डको उपखण्ड ९४० मा स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्ने भन्ने प्रावधान छ।
आचारसंहिताको सोही दफाको ९ग० मा वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भए बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने उल्लेख छ। तर यसलाई बेवास्ता गर्दै धनुषा ४ मा सहभागी मात्र नभई सिँचाईमा बिजुली बिल फ्रि नै गर्ने भनेर वडाध्यक्ष र नगरप्रमुख लागेका छन्।
यता, मुख्य निर्वाचन अधिकृत सुभाषबाबु पुरीले निर्वाचन आचारसंहिता लागू भएको समय जनप्रतिनिधिले नयाँ कर्याक्रम घोषणा गर्न नपाउने भन्दै धनुषा ४ को हकमा निर्वाचन आयोगमा छानविन नै भइरहेको बताए।
उनले भने, ‘मिथिलाको मेयरले घोषणा गरेको कुरा आयोगसम्म पुगिसकेको छ। आयोगले यस विषयमा छानविन गरिरहेको छ। यो कुरा अगाडि देखि नै उठिरहेको छ, अस्ति हामीले क्षेत्र नम्बर ४ मा आचारसंहिताको कार्यक्रम नै गरेका थियौँ।’
मुख्य निर्वाचन अधिकृत पुरीले धनुषा ४ को आचारसंहिता उल्लंघनको घटनाको छानविन भइरहेको बताए।
धनुषा ४ मा ३७ जना उम्मेदवार छन्। यस क्षेत्रमा कांग्रेसबाट महेन्द्र यादव, नेकपा एमालेबाट रघुबीर महासेठ, नेपाली कम्युनिष्ट पार्टीबाट संजयकुमार महतो, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजकिशोर महतो, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट कृष्णचन्द्र प्रसाद साह लगायतका उम्मेदवार छन्।