- दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै लगातार तेस्रो जित निकालेको छ।
- कप्तान एइडन माक्रमले ८६ रनको अविजित इनिङ खेल्दा दक्षिण अफ्रिकाले १७ बल बाँकी राखेर लक्ष्य पुरा गर्यो।
- न्युजिल्यान्डका मार्क चाप्म्यानले ४८ र मार्को जनसेनले दक्षिण अफ्रिकाका लागि ४ विकेट लिए।
टी-२० विश्वकपको समूह चरण अन्तर्गत दक्षिण अफ्रिकाले लगातार तेस्रो खेल जितेको छ। शनिबार राति अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा दक्षिण अफ्रिकाले उपाधि दाबेदार न्युजिल्यान्डलाई ७ विकेटले पराजित गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको थियो। जवाफमा दक्षिण अफ्रिकाले १७ बल बाँकी रहँदै ३ विकेटको क्षति मात्रमा लक्ष्य पुरा गर्यो। कप्तान तथा ओपनर एइडन माक्रमले ४४ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ८६ रनको अविजित इनिङ खेले। क्विन्टन डिककले २० रन, रायन रिकेल्टनले २१ रन र डेवाल्ड ब्रेभिसले पनि २१ रन योगदान गरे। डेभिड मिलर २४ रनमा अविजित रहे। न्युजिल्यान्डका लागि लक्की फर्गुसन, जेमी निसम र रचिन रविन्द्रले समान १–१ विकेट लिए।
पहिले ब्याटिङ गरेको न्युजिल्यान्डका लागि मार्क चापमानले ४८, ड्यारी मिचेलले ३२ र फिन एलनले ३१ रन बनाए भने जेमी निसम २३ रनमा अविजित रहे। दक्षिण अफ्रिकाका लागि मार्को जनसेनले ४ विकेट लिँदा लुंगि एगिदी, केशब महराज र कोर्विन बोस्चले समान १–१ विकेट लिए।
यस जीतसँगै दक्षिण अफ्रिकाले समूह ‘डी’ मा ३ खेलबाट ६ अंक बनाएर तालिकाको शीर्ष स्थानमा रहेकी छ भने हारका बाबजुत न्युजिल्यान्ड ४ अंकसहित दोस्रो स्थानमा रहेको छ।