- कवि अस्मिता विष्टको कवितासंग्रह ‘ब्ल्याकहोलमा गीतहरू’ काठमाडौँको सर्वनाम थिएटरमा सार्वजनिक गरियो।
- संग्रहले प्रेमलाई सर्वकालिक विषयको रूपमा प्रस्तुत गर्दै विष्टलाई समकालीन कविहरूमा अलग पहिचान दिलाउनेछ।
- कविताहरूमा नारी संवेदना, सामाजिक प्रतिरोध तथा गहिरा राजनीतिक पाठको सशक्त अभिव्यक्ति गरिएको छ।
काठमाडौँ- कवि अस्मिता विष्टको कवितासंग्रह ‘ब्ल्याकहोलमा गीतहरू’ शनिबार सार्वजनिक भएको छ।
कवि श्रवण मुकारुङ, विमला तुम्खेवा, समीक्षक गुरुङ सुशान्त र स्वयं विष्टले संयुक्त रूपमा काठमाडौँस्थित सर्वनाम थिएटरमा एक कार्यक्रमकाबीच पुस्तक सार्वजनिक गरेका हुन्।
कार्यक्रममा बोल्दै कवि मुकारुङले संग्रहलाई काव्यिक संरचनाका दृष्टिले अब्बल कृति भन्दै यसले समकालीन नेपाली कविताको महत्त्व स्थापित गर्ने बताए। उनका अनुसार पुस्तकमा मौलिक शैलीसहित प्रेमलाई सर्वकालिक विषयका रूपमा प्रस्तुत गरिएको छ, जसले विष्टलाई समकालीन कविहरूको भीडमा अलग पहिचान दिलाउनेछ।
समीक्षक गुरुङ सुशान्तले संग्रहका कवितालाई प्रेम, नारी संवेदना, आदिवासी सौन्दर्य र सामाजिक प्रतिरोधका सशक्त अभिव्यक्ति भएको टिप्पणी गरे। उनका अनुसार कविताहरू निजी अनुभूतिजस्ता देखिए पनि ती गहिरा राजनीतिक पाठ र महिला अनुभवका दस्तावेज हुन्।
कवि विमला तुम्खेवाले संग्रहलाई समकालीन परिदृश्यका तीखा स्वरको रूपमा चित्रित गर्दै महिला जीवनका दैनिक अनुभूति, स्पष्ट भाषा र सशक्त विम्ब प्रयोग यसको विशेषता रहेको बताइन्।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत महेन्द्र बहुमुखी क्याम्पस, धरानमा प्राध्यापनरत विष्टले आफ्ना कविता जीवन अनुभव, अध्ययन र अवलोकनबाट जन्मिएको उल्लेख गरिन्।
कार्यक्रममा रिमा केसी र प्रज्वल अधिकारीले कविता वाचन गरेका थिए ।
इन्डिगो इन्कद्वारा प्रकाशित पुस्तकको मूल्य ३४९ रुपैयाँ रहेको छ।