- हुम्ला जिल्लामा हिमपातबाट प्रभावित हुने १६ मतदानस्थलको पहिचान गरी निर्वाचन आयोगलाई जानकारी गराइएको छ।
- बैठकले मतदानको बेला र अघि हिमपात भए कार्य गर्न कठिनाइ हुने ठहर गर्दै अग्रिम सूचना दिएको हो।
- नाम्खा र चङ्खेली गाउँपालिकाका मतदानस्थलमा हिमपात भए मतपेटिका ढुवानीमा समेत समस्या हुने निष्कर्ष निकालिएको छ।
हुम्ला – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको बेला हिमपात भए प्रभााबित हुने मतदानस्थलबारे निर्वाचन आयोगलाई जानकारी गरिएको छ। जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुचना योजना २०८२ हुम्ला समितिको बसेको बैठकले हिमपातबाट प्रभाावित हुने मतदानस्थलको पहिचान गर्दै उक्त निर्णय आयोगलाई जानकारी गराएको हो।
हुम्लामा बैशाख महिनासम्म हिमपात हुने र हिउँ पर्ने समय अझै बाँकी रहेको कारण जिल्लामा बसेको उक्त समितिको बैठकले दुई वटा गाउँपालिकाका मध्य चार वटा मतदानस्थल चङ्खेली र बाह्र वटा मदानस्थल नाम्खा गाउँँपालिकाका गरि सोह्र वटा मतदानस्थललाई हिमपात भए प्रभावित हुने निर्णय गरेर निर्वाचन आयोगलाई पत्रचार गरिएको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले बताए।
निर्वाचनको केही दिन अगाडीसम्म र मतदान भई रहेको समयमा ती मतदान स्थलमा हिमपात भए काम गर्न कठिन हुने निष्कर्ष बैठकले निकालेको र त्यसको अग्रमी जानकारी आयोगलाई गर्ने कार्य भएको उनले बताए।
यसरी समितिको बैठकले हिमपात भए प्रभावित हुने मतदानस्थलमा नाम्खा गाउँपालिकाका बुद्ध आवि हेक्पा, नाम्खा ख्योङजोङ प्रावि धिंगा, तातोपानी प्रावि केर्मी, मोतिराम प्रावि खगालगाउँँ, नमोडोछोमु आवि ताङ्गिन, महाबौद्ध मावि याल्वाङ, हिमालय प्रावि चाला, खासरपानी प्रावि मुचु, अरनीको प्रावि यारी, सुनखानी प्रावि हल्जी, भृकुटी प्रावि जाङ र हिमशिखर प्रावि तिल रहेका छन्। उक्त गाउँँपालिकामा बाह्र वटा मतदानस्थल छन्।
नाम्खा गाउँपालिकाका सबै मतदास्थलहरुमा मतदानको बेला र मतदान अघि हिमपात भए प्रभावित हुनेछन्। त्यसैगरि दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिकाका हिमपात भए प्रभावित हुने मतदानस्थलमा चङ्खेली आवि बोहरावाडा, महेन्द्र प्रावि मिमी, रारा आवि मेखाला र डाँँफे आवि नेप्का रहेका छन्।
मतदान कार्य भई रहेको समयमा हिमपात भए यी मतदान केन्द्रबाट मतपेटिका ढुवानी गर्न समेत समस्या हुने निष्कर्ष समितिले निकालेका उनले बताए। उक्त बैठकमा मुख्य निर्वाचन अधिकृत बराल, प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, चार वटै सुरक्षा निकायका प्रमुख, जिल्ला निर्वाचन अधिकारी लगाएतको उपस्थिति थियो।