दाङ – निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले निर्वाचन आचारसंहिताको पूर्ण पालनाले मात्र स्वतन्त्र, स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन सम्पन्न गर्न सकिने बताएकी छन्।
निर्वाचन आयोग र नेपाल कानून समाज ले संयुक्त रूपमा लुम्बिनी प्रदेशको भालुबाङमा शुक्रबार आयोजना गरेको ‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आचारसंहिताको अक्षरशः पालना अनिवार्य भएको स्पष्ट पारेकी हुन्।
आयुक्त तुलाधरले निर्वाचन केवल मतदानको प्रक्रिया मात्र नभई लोकतन्त्रको आत्मा भएको बताइन्।
कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले निर्वाचन आचारसंहिताको पूर्ण पालना भए नभएको विषयमा आयोगले सुक्ष्म ढंगले अनुगमन गर्नुपर्ने र आचारसंहिता विपरीतका गतिविधि रोक्न कठोर बन्नुपर्ने बताए।