- ‘ग्लोबल लिटरेचर फेस्ट २०२६’ विभिन्न साहित्यिक सत्रमा पठन संस्कृतिमा ‘रिल्स’को प्रभावबारे गहन बहस गर्दै सम्पन्न भएको छ।
- संग्रैला, लम्साल र तामाङले ‘रिल्स’को प्रभावमा पठन संस्कृति र साहित्यिक धैर्यबारे महत्वपूर्ण विचारहरू प्रस्तुत गरे।
- नयाँ पुस्तामा पठन संस्कृति प्रवर्द्धन गर्न अभिभावक, शिक्षक र सामाजिक सञ्जालको भूमिकाबारे विस्तृत चर्चा भयो।
काठमाडौँ- ‘ग्लोबल लिटरेचर फेस्ट २०२६’ सम्पन्न भएको छ। पठन संस्कृतिमा ‘रिल्स’ को प्रभावमाथि छलफल गर्दै सम्पन्न भएको हो। साहित्यकार खगेन्द्र संग्रौला, कवि तथा सञ्चारकर्मी नवराज लम्साल,कथाकार बिनाथिङ तामाङले छलफल गरेका थिए।
साथै, साहित्य, संस्कृति र सिर्जनशीलताको अन्तर्राष्ट्रिय संवादलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ग्लोबल कलेज अफ म्यानेजमेन्टअन्तर्गत ‘द एड्भान्ट–ग्रेड लिटरेरी क्लब’का विद्यार्थीहरूद्वारा आयोजित फेस्टिभलमा विभिन्न सेसनअन्तर्गत साहित्यिक विचार–विमर्श एवं कविता वाचन कार्यक्रम पनि भएको थियो।
प्रगतिशील साहित्यकार खगेन्द्र संग्रौलाले फेस्टिभलमा ‘प्रेम र जीवन’सेसनअन्तर्गत स्वागत प्रवचन दिएका थिए। उनले यस सेसनअन्तर्गत आफूले जीवनकालमा विद्यार्थी जीवनदेखि गरेको प्रेमानुभव सुनाएका थिए। उनले प्रेमले मान्छेलाई मानवीय र संवेदनशील बनाउने बताए। आफूले प्रेम गर्न उक्साएको र प्रेम नगर्न अर्ती दुवै नदिएको बताउँदै जीवनका प्राथमिकताहरूमा केन्द्रित हुनुपर्ने बताए। आफू आफ्नै खुट्टामा अडिग नभइ गरिने प्रेममा सम्मान र समान भाव दुवै नहुने उनको भनाइ थियो।
यसैगरी सङ्ग्रौलासहित कवि नवराज लम्साल र कथाकार बिनाथिङ तामाङले ‘रिल्स’को बढ्दो प्रभावबीच साहित्यको अर्थ, धैर्य र पुस्तान्तरणीय मूल्यबारे गम्भीर बहस गरेका थिए। पत्रकार तथा निबन्धकार दीपक सापकोटाले सञ्चालन गरेको उक्त सेसनमा वरिष्ठ साहित्यकार संग्रौलाले प्रेमलाई जीवनको सबैभन्दा बहुमूल्य तत्व भन्दै आजको पुस्ता सजिलो र छिटो माध्यमतर्फ आकर्षित भइरहेको बताए। उनका अनुसार वर्तमान पुस्ता ‘रेडिमेड नुडल्स’ जस्तो छिटो परिणाम खोज्ने प्रवृत्तिमा छ, जबकि साहित्यले धैर्य, प्रतीक्षा र गहिरो अनुभूति माग्छ।
उनले साहित्य मरेको नभई नयाँ पुस्तालाई आकर्षित गर्ने ढङ्गले लेखनमा सुधार आवश्यक रहेको उल्लेख गरे। प्रत्येक पुस्ताको आफ्नै भाषा, रुचि र मानसिकता हुने भएकाले बदलिँदो समयलाई बुझेर साहित्यिक गतिविधि अघि बढाउनुपर्ने उनको धारणा थियो।
संग्रौलाले आजको संसार तीव्र गतिमा अघि बढेकाले मानिसहरूलाई धैर्य अभ्यास गर्ने अवसर कम भएको र छोटा रिल्समा बढी समय बिताउने प्रवृत्ति बढेको बताए। केही दशकअघि मनोरञ्जनका साधन सीमित हुँदा जीवनसँग जोडिन र सिक्न साहित्य लोकप्रिय रहेको स्मरण गर्दै उनले समयसँगै मानिसहरू रिल्सतर्फ सरेको टिप्पणी गरे।
तर रिल्सले शिक्षा प्रणालीलाई पूर्ण रूपमा नकारात्मक असर नपारेको र केही हदसम्म सिकाइलाई प्रवर्द्धन पनि गरेको उनको भनाइ थियो। अनुसन्धान गर्दा आजका मानिसहरू कम्तीमा आफ्नो पहिचान र अस्तित्वबारे खुलेर उभिन थालेको सकारात्मक पक्ष पनि देखिएको उनले बताए।
कवि तथा सञ्चारकर्मी नवराज लम्सालले सामाजिक सञ्जालले धेरैलाई लेखक, वक्ता र सर्जकको रूपमा स्थापित हुन सहयोग गरेको बताए। उनका अनुसार परिवर्तन प्रत्येक पुस्तासँगै आउँछ, त्यसलाई स्वीकार गर्दै नयाँ माध्यमसँग सिक्दै अघि बढ्नुपर्छ।
लम्सालले वास्तविक साहित्य भनेको मानिस–मानिसबीचको सम्बन्ध, माया र आत्मीयता भएको उल्लेख गर्दै रिल्स होस् वा साहित्य—त्यसले सम्बन्ध जोड्न, प्रेम फैलाउन र आगामी पुस्तासम्म मूल्य हस्तान्तरण गर्न सक्नुपर्नेमाथि जोड दिए।
कथाकार बिनाथिङ तामाङले पछिल्लो पुस्ता रिल्समा अल्झिएर पठन संस्कृतिक कमजोर नभएको बताएकी थिइन्। युवा पुस्तामा पठन संस्कृति कायमै रहेको बताउँदै उनले यो विस्तारित हुननसक्नुको कारण अभिभावक र शिक्षकहरू नै भएको तर्क गरेकी थिइन्। ‘अहिले ५० हजार प्रति पुस्तक बिक्री भएमा बेस्ट सेलरको मानकका रूपमा हेर्ने गरिएको छ। तर हाम्रोमा शिक्षक कति छन्रु उनीहरूले मात्रै पुस्तक किनेर पढिदिने हो भने त्यो त कम्तिमा ५ लाख १० लाख प्रति बिक्ने थियो,’ उनले भनिन्, ‘जसरी हामीलाई पढाइमा आकर्षित गर्न त्यसवेला घरमा अभिभावकको पढ्ने र पुस्तकमा लगानी गर्ने चलन थिएन, अहिले पनि अवस्था त्यही हो। त्यसकारण पठन संस्कृति खस्कियो भनेर नयाँ पुस्तालाई दोष देखाउन मिल्दैन।’
उनले नयाँ पुस्तामा पठन संस्कृति बढाउन अभिभाव नै जिम्मेवार र गम्भीर हुनुपर्ने एवं बहस, कार्यक्रम र सिर्जनात्मक पहल आवश्यक रहेको बताइन्।
फेस्टिभलमा ‘साहित्य साँझ’अन्तर्गत कविहरू श्रवण मुकारुङ, विप्लब प्रतीक, प्रभाती किरण, राधा कँडेल, रिमा केसी र देवव्रतले कविता सुनाएका थिए।