नेपालगन्ज- नेपालगन्जमा ६ महिनामा ५ जना गर्भवती-सुत्केरीको मृत्यु भएकाे छ । नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दका अनुसार, चालु आर्थिक वर्षकाे ६ महिनामा नेपालगन्ज उपमहानगरपालिकामा ५ जना गर्भवती-सुत्केरीको मृत्यु भएकाे छ ।
नेपालगन्जमा ठूल्ठूला अस्पताल, बर्थिङ सेन्टरहरु छन् । पश्चिम नेपालमै स्वास्थ्य क्षेत्रमा राम्राे सुविधा रहेकाे नेपालगन्जमा गर्भवती-सुत्केरी मृत्युदर नेपालमै धेरैमध्येमा पर्छ ।
‘दर्जनबढी ठूला अस्पताल, घरछेउमै सुविधासम्पन्न बर्थिङ सेन्टर हुँदा पनि गर्भवती-सुत्केरी मृत्युदर किन बढी छ ?’ भन्ने प्रश्नमा महाशाखा प्रमुख चन्द भन्छन्,’ आठ पटक गर्नु पर्ने गर्भ जाँच गर्दैनन् । गर्भ जाँच नभएपछि उनीहरूले आइरन चक्की, क्याल्सियम खाँदैनन् । खाेप पनि लगाउँदैनन् । घरमै सुत्केरी गराउने प्रयास गर्छन् । नसकेपछि अन्तिम अवस्थामा स्वास्थ्य संस्थामा आउँछन् । त्यतिबेलासम्ममा ढिलाई भइसकेकाे हुन्छ र मृत्यु हुन्छ ।’
नेपालगन्जमा गतवर्ष ६ जनाकाे मृत्यु भएकाे थियाे । चालु आवकाे ६ महिनामै ५ जनाकाे मृत्यु भइसकेकाले याे वर्ष मृत्यु संख्या बढ्ने आकलन गरिएकाे छ ।