- झापा–११ फुटबल क्लबले सिक्किमको सिङलिङ स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ४-३ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्यो।
- झापाका विवेक मगरले उत्कृष्ट बचाउ गर्दै सिङलिङका सुजन सुब्बाको प्रहार रोक्दै खेलको ‘प्लेयर अफ द म्याच’ बने।
- मंगलबार त्रिभुवन आर्मी फुटबल क्लब र लालीगुराँस एसोसिएसन नेपालबीच गोल्डकपको दोस्रो क्वार्टर फाइनल खेल हुनेछ।
झापा – झापाको बिर्तामोडमा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो क्वार्टर फाइनल खेलमा आयोजक झापा–११ फुटबल क्लब विजयी भएको छ ।
सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा सिक्किमको सिङलिङ स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै झापा सेमिफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सोझै टाइब्रेकरबाट लिइएको थियो ।
टाइब्रेकरमा झापाका तर्फबाट रोमन भुजेल, सौरभ धिमाल, राजेश दाहाल र विवेक मगरले गोल गर्दै टोलीको जित सुनिश्चित गरे । सिङलिङका तर्फबाट सोनुहाङ सुब्बा, हेल्मेट सुब्बा र सुरज तामाङले मात्र गोल गर्न सफल भए ।
सिङलिङका सुजन सुब्बाको प्रहारलाई झापाका गोलकिपर विवेक मगरले उत्कृष्ट बचाउ गरे भने दिपेश क्षेत्रीको प्रहार पोस्ट बाहिर गएको थियो ।
खेल अवधिभर आयोजक झापा–११ ले विपक्षी टोलीमाथि निरन्तर दबाब कायम राखे पनि गोल गर्न भने सकेन । खेलको २८ औँ मिनेटमा ओलावाले अफिजको पावरफुल प्रहार र ३८ औँ मिनेटमा समिर तामाङको प्रहारलाई सिङलिङका गोलकिपर विल्सन शेर्पाले विफल तुल्याएका थिए ।
त्यस्तै, ४९ औँ मिनेटमा समिर तामाङको हेडर बाहिरिनु र खेलको अन्त्यतिर मौसम सुब्बाको प्रहार रोकिनु झापाका लागि दुर्भाग्यपूर्ण रह्यो । यता सिङलिङका कप्तान उत्तम राईले ५९ औँ मिनेटमा पाएको ‘वान टु वान’ को अवसर सदुपयोग गर्न सकेनन् ।
उत्कृष्ट प्रदर्शन गरेका झापा–११ का गोलकिपर विवेक मगर खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत मंगलबारको दोस्रो क्वार्टर फाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र लालीगुराँस एसोसिएसन नेपाल पोखराबीच प्रतिस्पर्धा हुनेछ । गोल्डकपको विजेताले १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।