काठमाडौँ – आईसीसी टी-२० विश्वकपअन्तर्गत इंग्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले स्तब्ध भएको छ।
जितका लागि १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा १ सय ८० रन मात्र बनाउन सफल भयो। अन्तिम ओभरमा १० रन चाहिएको अवस्थामा साम करनले उत्कृष्ट बलिङ गर्दै इंग्ल्यान्डको हार टारे।
टस जितेर पहिले ब्याटिङ गरेको इंग्लिस टिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो। जवाफमा नेपाल १ सय ८० रन बनाउन सफल भयो।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४४ रन बनाउँदा कप्तान रोहित पौडेलले ३९ रन बनाए। त्यस्तै, लोकेश बम ३९ रनमा नटआउट रहे। कुशल भुर्तेलले २९ रन बनाएका थिए।
त्यसअघि इंग्ल्यान्डका लागि ज्याको बेथहेलले ५५ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान ह्यारी ब्रुक्सले पनि ५३ रनको अर्धशतकीय इनिङ्स खेले।
बेथहेलले ३५ बलमा समान ४ चौका र छक्का प्रहार गर्दा कप्तान ब्रुक्सले भने ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थिए। यी दुईबाहेक जोस बटलरले २६ रन बनाउँदा विल ज्याक्स ३९ रनमा नटआउट रहे। उनले १८ बलमा १ चौका र ४ छक्काको विष्फोटक इनिङ्स खेले।