- देशभरि चुनाव लक्षित गीत बज्न थालेपछि उम्मेदवारहरूले प्रचार-प्रसार तीब्रता दिएका छन्।
- भीम रावल र प्रचण्डको चुनावी गीतले उनीहरूको प्रशंसा गर्दै भोट माग्ने माध्यम बनेको देखिन्छ।
- उम्मेदवारको प्रशंसामा केन्द्रित चुनावी गीतले जनतालाई कस्तो असर पर्छ भन्ने विषयमा बहस उठ्दै छ।
निर्वाचन मिति नजिकैसँगै देशमा चुनाव लक्षित गीत जतासुकै बज्दै छन्। गीत संगीतकै साहरा लिई उम्मेदवारले प्रचार-प्रसारलाई तीब्रता दिएका छन्। परापूर्वकालका स्तुति गानको परिमार्जित रूप भन्ने गरिएको चुनावी गीत आफ्नो क्षेत्रका कार्यकर्ता र जनतासँग भोटको अपिल गर्ने माध्यम बनेको छ। गीतको नै साहरा लिएपछि आ-आफ्नो पार्टी र उम्मेदवारको प्रशंसा मात्रै गर्ने कि देश र जनताका हितका लागि यस्तो–यस्तो काम गर्छु भने? आउनुस् केही गीतका कुरा गरौँ।
‘भीम रावल आइगया जनताका प्यारा’
अछाम क्षेत्र नम्बर १ का उम्मेदवार भीम रावलको चुनावी प्रचारमा यो गीत निकै बजेको छ। उम्मेदवार डाक्टर भीम रावल आफैले लेखेको गीत हो, यो। पर्वत जैगडीको संगीत रहेको गीतमा पर्वत जैगडी र उम्मेदवार रावल स्वयंले स्वर भरेका छन्।
गीत गाउँदै देउडा खेल्दै भोट मागिरहेको सामाजिक सञ्जालभरि देख्न पाइन्छ। तर उनका गीतले देश र जनतालाई भन्दा बढी केन्द्रमा उम्मेदवार रावललाई नै राखेको छ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चुनावी गीतले उनको चुनावी क्षेत्र रुकुम जिल्ला घन्किएको छ। सामाजिक सञ्जालमा पनि उस्तै बजेका छन्। हालै बजारमा आएको सीता बरालको शब्द तथा संगीत रहेको गीतले प्रचण्डकै प्रशंसा सुन्न पाइन्छ। बराल र संगीतकार चेतन सापकोटाले स्वर दिएकाे यो गीत ‘सीता बराल अफिसियल एण्ड जी नेपाल’बाट आएको हो। गीतको बोल यस्तो छ:
‘अरू भन्दा हजारौँ गुनामा,
प्रचण्ड छन् मुटुको कुनामा
भाछन् सबै दंग,
राष्ट्र नायक प्रचण्ड सँधै जनतासँग…’
नेकपा संयोजक प्रचण्डले चुनावी प्रचार-प्रसारका लागि गीत लिएर भोट माग्दै छन् कि रुकेमेली जनताको भविष्य बदल्ने भिजन लिएर। दश वर्ष सशस्त्र विद्रोह हाँकेका प्रचण्डलाई जिताउन गीतको साहरा नै चाहिँदैनथ्यो कि। तर माओवादी समर्थित गायक संगीतकार चेतन सापकोटा गीतले प्रचण्डलाई जिताउनु मात्रै उदेश्य नरहेको बताउँछन्। आम जनतालाई प्रचण्डको बारेमा जानकारी गराउन पनि आवश्यक थियो। ‘कलाकारका लागि गीत संगीत व्यवसाय हो। राज्यले गीत संगीत क्षेत्रमा काम गर्नेलाई नरोयल्टी दिएको छ, प्रतिलिपि अधिकार पनि दिएको छैन, न त अवसरहरू छन्। स्वत काम गरिन्छ भने समय सापेक्ष गीत बनाउनु पर्यो,’ संगीतकार सापकोटाले भने,’ ‘गीत संगीत बिनाको समाज देश परिवर्तन गर्न सकिन्न। प्रचण्ड यस्ता नेता हुन जसले देशमा गणतन्त्र ल्याउन लडे। समावेशीका लागि लडे। उनका बारे गीतमार्फत् सूचना दिन त पाइयो न।’
२०७९ को निर्वाचनमा सापकोटा र स्मिता दाहालले गाएको गीत यस्तो थियो:
रोल्पाबाट प्रचण्डले गणतन्त्र ल्याए
गोर्खाबाट समृद्धिको यात्रा भयो तय
यिनैले हो समाजवादको सोझो मार्ग कोर्ने
प्रचण्डकै नेतृत्वमा आर्थिक क्रान्ति गर्ने
अरू कुरा था छैन
गठबन्धनलाई नजिताई भाछैन
प्रचण्डले सोचेजस्तो गर्नै पाछैन
त्यसैगरी भरतपुर महानगरपालिकाकी पूर्व-मेयर तथा भरतपुर क्षेत्र नम्बर ३ की उम्मेदवार रेणु दाहाल पनि गीत बजाउँदै गाउँ–गाउँ र टोल-टोल पुगेकी छन्।
‘आइपुगिन रेणु घर दैलो हेर,
नेपालकै सफा मेयर बनेर
ढुक्क छ जनता सारामा,
रेणु दाहाललाई जिताउन भोट हालौँ तारामा’
लोकशैलीको यो गीत युट्युबमा सुन्न पाइन्छ तर कलाकारहरूको नाम भने राखेके छैन। यस गीतले पनि मेयर हुँदा दाहालले गरेको कामको प्रशंसा र उनकै गुणगान गाएको छ। रेणु दाहालको चितवन भरतपुरबासीले सधै गरेका छन्। चितवनलाई नमुना महानगरपालिका बनाइन्।
त्यसै गरी बिहिबार मात्रै नयाँ आएकाे गीत यस्तो छ:
यो भरतपुरको आवाज हाे
रेणु दिदीको गर्व हो
धुलाम्मे सडकबाट उठेको
माेडेल सिटीको शब्द हो ।
प्रचण्डकी छोरी मात्र होईन, विकासको डोरी हो
भाेट देऊ रेणु दाहाललाई, अब पालो तिम्रो हो !

हप्तादिन अघि मात्रै ‘एमाले हुँ म, मलाई एमाले मन पर्छ’ बोलको गीत आएको थियो। कलाकार सुजन लम्सालको शब्द तथा संगीत रहेको यो गीतलाई सुजनसहित कुशल बेलबासे, पुर्णकला बिसी, बैकुण्ठ महत, पवित्रा काफ्ले, सुजन लम्साल, प्रसाद लामिछाने स्वर दिएका छन्। यस गीतले सिंगो पार्टीको प्रशंसा गरेको छ।
७९ को चुनावमा सबैभन्दा बढी गीत एमाले उम्मेदवारका लागि बनेका थिए। र केपी शर्मा ओलीलाई केन्द्रमा राखिएका थिए। ‘बा केपी बा’ नामक र्याप आएको थियो। लोकगायक बद्री पंगेनीले ‘सै पनि एमाले, मैँ पनि एमाले।’ गाए। निकै चलेको थियो।
पंगेनीले ‘अघिअघि प्रचण्ड, पछिपछि हामी नेपाली।’ बोलको गीत पनि गाएका थिए। ०७९ को चुनावमा भने चुनावी गीत यस्तो थियो:
‘झुपडी र महलमा ओली
ठाउँठाउँमा ओली
सूर्यको जित छ भोलि
आउँदै छन् केपी ओली।’

यसपाली नेपाली कांग्रेसका नेता मधु आचार्यले पनि चुनाव प्रचार प्रसारका लागि लोकगीतको साहरा लिएका छन्। उनको गीत यस्तो छ:
‘काभ्रे २ मा विकास भएकाले,
रुख चिन्हमा छन् मधु आचार्य।’
२०७९ को निर्वाचनमा प्रताप पौडेल र अमृत अधिकारीको शब्द, शिव हमालको संगीतमा कृष्ण रेउले र काव्य आचार्यको स्वरमा एउटा चुनावी गीत यस्तो थियो:
एउटा युगमा एउटा नेता एकपटक आउँछ
यो युगको हाम्रो नेता गगनजस्तो लाउँछ
यो युगको नेता जिताऊँ रुखमा भोट हाली
समुन्नत नेपाल सम्मानित नेपाली
आमाबुबा, दिदीबहिनी भन्छन् दाजुभाइ
गगन दाइ हाइहाई।।।
गगन भाइ हाइहाई
२०७९ को चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा नेपाल पनि चुनावी गीतको दौडबाट अलग रहेन। अध्यक्ष राजेन्द्र लिङ्देनको नाम जोडिएको गाइएको गीत यस्तो थियो:
‘पूर्णिमाको जुनजस्तै चम्क राजेन्द्र,
हामी तिम्रो पछि छौँ चम्क राजेन्द्र
त्यसैगरी, रास्वापा निकट कलाकारहरु पनि गीत निकाल्दै छन्। चुनाव प्रचारका लागि सामाजिक सञ्जालको भरमार प्रयोग गरेको पार्टी रास्वपाको चुनावको चुनाव प्रचारका लागि जिल्ला जिल्लाका कलाकारले पनि गीत संगीत ल्याइरहेका छन्।
‘कञ्चनपुर झापा सबै रास्ववा, वा भाइ वा,’ ‘पाप धुरीबाट कराउँछ भोट के मा घण्टीमा,’ ‘घण्टी बज्नु पर्छ,’ ‘बालेन बालेन घण्टीमा’ र्याप गीत चलेको छ। चुनावी प्रचारमा जिल्ला पुगेका बालेन स्वयं र्याप गायक भएकाले पनि उनकै प्याटर्नका गीतहरु बढी चर्चामा आएको छ।
२०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टीको यो गीत खुबै बजायो:
जसरी नि हसाउनु छ नेपाल आमालाई
नेपाल आमा हसाउन आउनुस् रवि दाइ
हाइहाई रवि दाइ।।।
उहिले चुनावी गीत केवल सभा–समारोहमा गुन्जिन्थे अहिले सामाजिक सञ्जालमा धेरै बज्न थालेका छन्।

मानव जातिले आफ्नो अभिव्यक्तिको माध्यम गीतलाई बनाउँदै आएको परापूर्वकालदेखि हो। तर समयसँगै आएको परिवर्तन र विज्ञान प्रविधिको विकाससँगै गीत रेकर्ड गर्न थालियो। मन लागेको स्थान र समयमा गीत सुन्न सकिने सुविधा छ। त्यसैले चुनावी प्रचारको लागि गीत अहिले प्रभावकारी माध्यम बनेको नकार्न सकिँदैन। उम्मेदवार केन्द्रित चुनावी गीतले जनतालाई कस्तो असर पर्ला?
उम्मेदवारको प्रशंसामा केन्द्रित गीतले भोटरको मनोविज्ञानमा केही असर पर्ने चिन्ता सुनाउँछन् गायक तथा संगीतकार आभास। तर चुनावी गीतले सिङ्गो सांगीतिक क्षेत्रलाई भने खासै असर नपर्ने बताउँछन् उनी। ‘आजको समयमा गीत सुनेकैं आधारमा मत खसाल्न पक्कै जनता जाँदैनन् भन्ने लाग्छ,’ उनी भन्छन्, ‘भीडले समाजको मनोविज्ञानमा केही फरक त पार्ला तर जनता सचेत छन् भने गीतले असर पार्दैन।’
आभासका अनुसार उम्मेदवारको प्रशंसामा आधारित गीत बनाउन पाइयो तर गीत घोषणा पत्र जस्तो होइन गीत। समाजमा गीत संगीतको प्रभाव छिटो र गहिरो पर्छ तर जनता स्वयं सचेत हुनुपर्ने धारणा सुनाउँछन् उनी।
नेपालमा २०४६ पछि सडक आन्दोलन र चुनावका लागि गीत अत्यधिक प्रयोग भएको देखिन्छ। पञ्चायतविरुद्ध लड्ने वेला चुनावी गीतभन्दा प्रगतिशील, जनवादी गीत जनतामाझ ल्याइएको थियो। ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ श्याम तमोटद्वारा लेखिएको र रामेश र रायनद्वारा संगीतबद्ध तथा स्वरबद्ध नेपाली भाषाको क्रान्तिकारी गीत हो। यसले धेरैलाई जागरुक गरायो। जनवादी गीत संगीतमार्फत परिवर्तनको पक्षमा वकालत गरेका स्वर्गीय गायक जेवी टुहुरेले ‘आमा दिदी बहिनी’, ‘खेताला गयो’, ‘पानी चल्दैन रे’ र ‘आमा तिम्रो माया’लगायत गीत गाए। जुन गीत आममानिसले चुनावताका मात्रै सुनेनन्,अघिपछि धेरै सुने। जनवादी गायक जीवन शर्माको रक्तिम गीतहरु खुबै रुचाइए। जब गणतन्त्र आयो चुनावी गीत र जनताका गीतबिचको फरकपन हराउँदै गयो। जनताका गीत गाउनेहरू हराउँदै गए। चुनावी गीत गाउनेहरू नेताका वरिपरि घुम्न थाले। ती वरिपरि घुम्नेहरूले जनताको गीत भन्दै पार्टीका गीत गाए, चुनावी गीत भन्दै नेताको मात्रै प्रशंसा गरे। यसरी चुनाव केन्द्रित, उम्मेदवार केन्द्रित गीतले समाज र जनतामा केकस्ता जागरुकता ल्याउला ? यो थप बहसको विषय हो।