जनकपुरधाम- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी मधेस प्रदेशका धेरै सिटमा प्रतिस्पर्धामा रहेको बताएका छन् । घिसिङले मधेस प्रदेशमा ३२ वटा निर्वाचन क्षेत्र र ठूलो संख्यामा मतदाता रहेकाले यो प्रदेश सबै दलको प्राथमिकतामा पर्ने गरेको बताए ।
चुनावी अभियानका क्रममा बिहीबार मधेस प्रदेशको राजधानी जनकपुरधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै घिसिङले मधेसका जनता परिवर्तन चाहिरहेको उल्लेख गर्दै यसपटक परिवर्तनको नेतृत्व आफ्नो पार्टीले गर्ने दाबी गरे ।
आफ्नो पार्टी अरू पार्टीजस्तो सामाजिक सञ्जालमा मात्र प्रचार गर्ने नभई काम गरेर देखाउने पार्टी भएको बताउँदै जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी आफूहरू रहेको उनले बताए । उनले आफ्नो पार्टी भाषणभन्दा काममा विश्वास गर्ने पार्टी भएको दाबी गरे ।
जेनजी आन्दोलनपछि आफ्नो पार्टी स्थापना भएको र नयाँ विचारका साथ आएको कारण जनताले आफूहरूलाई विश्वास गर्ने तथा निर्वाचनपछि सशक्त पार्टीका रूपमा स्थापित हुने उनको भनाइ छ ।
उनले आफू उज्यालो नेपाल पार्टीबाट प्रधानमन्त्रीको दावेदारसमेत रहेको बताए ।