देशसञ्चार चौतारीमा भाग-१३२

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

+
-

सानो छँदा आफ्नै घरमा बिजुलीको बल्ब बलेको देखेर प्राध्यापक डाक्टर उदयराज खनालले आफ्ना पिताजी सरदार यदुनाथ खनाललाई सोधे, ‘यो कसरी बल्छ?’

‘यो बुझ्नका लागि फिजिक्स पढ्नु पर्छ,’ पिताजीले यसो भनेपछि फिजिक्स अर्थात भौतिकशास्त्र उनको मनबाट कहिल्यै हटेन । स्कुलमा पनि उनले यो विषयलाई प्रिय बनाए । पछि मास्टर्स र पिएचडी पनि यही विषयमा गरे । चमत्कारी बिजुलीका कारण जन्मिएको जिज्ञासा मेटाउन पढाइमा मेहनत गर्दै जाँदा उनी नेपालको वैज्ञानिक नै बने। साढे तीन दशक त्रिभुवन विश्वविद्यालय केन्द्रीय भौतिकशास्त्र विभागमा प्राध्यापन गरेका खनालले विज्ञानको चमात्कारदेखि ब्रम्हाण्ड, जीवन, विज्ञान र अध्यात्मबारेआफूले बुझेका र जानेका ज्ञान देशसञ्चार चौतारीमा सुनाए।

अमेरिकाको फ्लोरिडा एटलान्टिक विश्वविद्यालयबाट बिएस्सी र भारतको दिल्ली विश्वविद्यालयबाट एमएस्सी, एमफिल र पीएचडी उपाधि लिएका खनालले एष्ट्रोनोमी र एष्ट्रोफिजिक्स, डार्क म्याटर र डार्क एनर्जीका बारे पनि चर्चा गरे।

फिजिक्स रिभ्यु, इन्टरनेशनल जर्नल अफ मोर्डन फिजिक्स, साइन्टिफिक वर्ल्ड लगायत विश्वका प्रसिद्द वैज्ञानिक जर्नलहरुमा दर्जनौं रिसर्च पेपर प्रकाशित गरेका खनाल ब्रह्माण्डमा शक्तिशाली प्रकृति भएको बताउँछन् । उनी भन्छन्, ‘संसारमा प्रकृति भन्दा शक्तशाली केही छैन।’

जीवन कहाँबाट उत्पन्न भयो अझै थाहा नभएको र वैज्ञानिकहरु अझै त्यसैको खोजीमा लागेको बताउँछन् उनी। ‘जीवन कहाँबाट सुरु भयो अझै पत्ता लगाउन सकिएको छैन तर जीवनका लागि के के चाहिन्छ त्यो खगोलभरि भेटिएको छ,’ उनले भने।

विज्ञान र प्रविधिको महत्वको बारेमा सरकारले खासै चासो नदिएको बताउँछन् उनी। चालिसको दशकमा विश्व प्रसिद्ध भौतिकशास्त्री डा. अब्दुस सलाम नेपाल आएर विज्ञान प्रविधिमा लगानी गर्न दिएको सुझावलाई आजसम्म मनन नगरेको बताउँछन् उदयराज। ‘प्रसिद्ध भौतिकशास्त्री अब्दुस सलामले भौतिकशास्त्रलाई ‘साइन्स अफ वेल्थ’ भन्नुभएको छ। गरिबीबाट उन्मुक्ति पाउने हो भने भौतिकशास्त्रको प्रयोग नगरी सम्भव छैन भन्ने सलामको धारणा हो र चालिसको दशकमा नै विज्ञान प्रविधिमा लगानी गर्नु भनियो ल्याब स्थापना गर्न सहयोगी हात जुटाउन सकिन्थ्यो तर तत्कालीन राजाले पनि ध्यान दिएनन् न त आजका नेताले ध्यान दिए,’ उनले भने । विज्ञान प्रविधिमा लगानी गरेका मुलुक सबै भन्दा धनी मुलुकका रुपमा चिनिएको बताउँछन् उनी। ‘हामी विज्ञानलाई लिएर हामी धेरै पछाडि छौँ ।’

उदयराज विज्ञान प्रविधिलाई ठूला उत्पादनका लागि मात्रै नभएर स-साना उत्पादनशील क्षेत्रमा प्रयोग गर्न सकिने गरी काम गर्न राज्यलाई सुझाउँछन् । भन्छन्, ‘भेडाको ऊन काट्ने मेसिन बनाउन त सकिन्थ्यो । राडीपाखी बनाउने मेसिन त बनाउन सकिन्थ्यो । यार्सागुम्बाको खेती आधुनिकशैलीमा गर्दै संरक्षण गर्दै जान सकिन्थ्यो तर कुनै कोसिस गरिएन । यसो हुँदा हामी पछाडि पर्‍यौँ ।’

उनी जुम्लाको कालो मार्सी चामललाई विश्व बजारमा लैजाने ध्यान राज्यको छैन । उनी भन्छन्, ‘हाम्रो देशमा त सानो उत्पादन र उत्पादशील क्षेत्रमा लागेकालाई प्रोत्सहान गर्नु पर्ने हो।’

नेपालमा विज्ञान पढ्नु भनेको केवल माष्टर बन्नु जस्तो मात्र भएको बताउँछन् उनी । भन्छन्, ‘नेपालमा विज्ञान पढेर कुनै खोज अनुसन्धान गर्न पाउँदैनन् । राज्य लगानी गर्न सक्दैन । बरु स्कुल कलेजहरुमा पढाउन पाउँ भन्दै जागिर खोजेर हिँड्नु पर्ने अवस्था छ। विज्ञान पढ्नेलाई त गाह्रो पो छ त।’

तर विज्ञान पढ्नेहरुका लागि विश्व बजारमा राम्रो सम्भावना रहेको बताउछन् उनी। ‘विदेशमा राम्रा विद्यार्थी खोज्छन्। लैजान्छन्। सेवा सुविधा दिन्छन्। अनि मेहेनत पनि गर्छन्, ‘ उनी भन्छन्, ‘त्यसखालको सम्भावना नेपालमै गराउन राज्य लाग्नु पर्ने हो।’

विज्ञान प्रविधिमा छिमेकी मुलुक भारत चीनले ठूलो सफलता पाइसकेको छ तर नेपाल धेरै पछाडि छ। यस्तो हुनुमा नेतृत्व कमजोर रहेका कारण भएको बताउँछन् उनी। उनका अनुसार वैजानिक अनुसन्धान नगर्ने तर वैज्ञानिक हुन खोज्नेतर्फ ध्यान गएको जस्तो देखिन्छ।

‘विज्ञान र ज्ञानमा जनताको पहुँच भएपछि मात्र समाज तथा मुलुकको प्रगति र विकास सम्भव छ,’ उनले भने।

अन्तरिक्ष प्रविधिमाथि गहिरो अध्ययन गरेका उदयराज विज्ञानकै लागि भनेर नेपालमा प्रयोगशाला निर्माण हुन नसकेको बताउँछन् उनी । त्यसलाई निरन्तरता दिन राज्यले ध्यान दिन सकेको पनि छैन । भन्छन्, ‘अनुसन्धानलाई सहयोग गर्ने सरकारको नीति हुनुपर्छ।’

हाल मध्यबानेश्वरमा बस्दै आएका उदयराजका पिता सरदार यदुनाथ खनाल नेपालका प्रख्यात कूटनीतिज्ञ थिए । यदुनाथ खनालले प्रध्यापन क्षेत्रबाट कूटनीतिक सेवा सुरु गरेका थिए । उदयराज भन्छन्, ‘बुवासँग धेरै सिकेँ। तर कहिल्यै कूटनीतिमा लाग्छु भनिनँ। यदि कोसिस गरेको भए असम्भव थिएन।’

भारत, अमेरिका र चीनका लागि राजदूत भएका यदुनाथ खनालले उदयराजको बाल्यकालमा खुबै कथा सुनाए। यदुनाथ सेक्सपियर लिखित नाटकका कथा बढी सुनाउँथे। कहिले दिल्ली त कहिले जावलाखेलको सेन्ट जेभियर्स स्कुलमा पढेका उदयराजले आफ्ना पिताजीले राजा महेन्द्रका लागि अंग्रेजीमा भाषण लेखेको अझै सम्झन्छन्- ‘बुवाले राजा महेन्द्रका लागि भाषण खुबै लेख्नु भयो।’

बीस र चालिसको दशकमा कूटनीतिप्रति कति गम्भीर ढंगले काम हुन्थ्यो भन्ने उदाहरण कुटनीतिज्ञ पात्र आफ्ना पिताजी खनाललाई दिन्छन् उदयराज। ‘अहिले नेपालको राजनीतिले परराष्ट्रनीति कमजोर बनाइदियो। विदेशका लागि नेपाली राजदूत पठाउने प्रक्रिया नै दयनीय छ। मन लागे पठायो। मन लागे बोलायो। उनीहरुले काम गर्नु पर्दैन?’ उनी भन्छन्, ‘विदेश नीति त साझा हुनु पर्ने हो नि। देश र मुलुकका लागि साझा आवाज हुनु पर्ने हो तर छैन। जसको सरकार आयो त्यसैको राजदूत हुनु पर्छ भन्ने छ। छैन त।’

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?