- मधेस प्रदेशबाट प्रतिनिधिसभा सदस्य चुनावमा १,०२७ उम्मेदवारमध्ये करिब २६ प्रतिशत मात्रै स्नातक वा त्योभन्दा बढी शिक्षित छन्।
- जनता समाजवादी पार्टीले सबैभन्दा धेरै, २१ जना, स्नातक वा माथिल्लो शिक्षामा उम्मेदवार पुर्याएको छ।
- राष्ट्रिय जनगणना २०७८ अनुसार, मधेस प्रदेशमा सामूहिक रूपमा ३६.५ प्रतिशत जनसंख्या निरक्षर छ।
जनकपुरधाम– मधेस प्रदेशबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार बनेकाहरुमध्ये करिब २६ प्रतिशत उम्मेदवार मात्र स्नातक वा सोभन्दा बढी पढेका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको व्यक्तिगत विवरण अनुसार २६६ जना उम्मेदवार स्नातक वा सो भन्दा बढी पढेका छन्।
फागुन २१ म हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा १ हजार २७ जना उम्मेदवार छन्। यसमध्ये २६६ जना उम्मेदवार मात्र स्नातक वा सोभन्दा बढी पढेका छन्।
उम्मेदवारीको क्रममा उम्मेदवारको शैक्षिक विवरण समेत प्रविष्ट गर्ने गरिएकोमा निरक्षर देखि विद्यावारिधिसम्म गरेका उम्मेदवार छन्। केही उम्मेदवारको भने शैक्षिक विवरणमा खालि रहेको छ। मधेस प्रदेशको ८ जिल्लामा ३२ वटा निर्वाचन क्षेत्र रहेको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको व्यक्तिगत विवरण अनुसार स्नातक वा सोभन्दा बढी अध्ययन गरेका उम्मेदवारमध्ये १८५ जना विभिन्न राजनीतिक दलबाट र ८१ जना स्वतन्त्र उम्मेदवार छन्।
आयोगको अनुसार मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालले सबैभन्दा बढी स्नातक वा सोभन्दा बढी पढेकालाई उम्मेदवार बनाएको छ। जसपा नेपालको उम्मेदवारमध्ये २१ जना स्नातक वा सोभन्दा बढी अध्ययन गरेका छन्।
यस्तै, देशकै प्रमुख एवं पुरानो दल नेपाली कांग्रेसको १९ जना उम्मेदवार स्नातक वा सोभन्दा बढी अध्ययन गरेका छन्। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले १८ जना, जनमत पार्टीले १७ जना, राष्ट्रिय स्वतन्त्र पार्टीले १६ जना, उज्यालो नेपाल पार्टीले १५ जना स्नातक वा सोभन्दा बढी पढेकालाई उम्मेदवार बनाएको छ।
नेकपा एमालेले मधेस प्रदेशको ३२ वटा निर्वाचन क्षेत्रमध्ये १४ वटा निर्वाचन क्षेत्रमा स्नातक वा सोभन्दा बढी पढेकालाई उम्मेदवार बनाएको छ। आम जनता पार्टीले ११, राष्ट्रिय प्रजातन्त्र पार्टीले ८, प्रगतिशील लोकतान्त्रिक पार्टीले ६, नेपाल जनता पार्टीले ५, राष्ट्रिय मुक्ति पार्टी नेपालले ५, श्रम संस्कृति पार्टीले ५, नेपाल मजदुर किसान पार्टीले ४, जन अधिकार पार्टी, जय मातृभूमि पार्टी, नेपालका लागि नेपाली पार्टी, बहुजन एकता पार्टी नेपाल र राष्ट्र निर्माण दल नेपालले २।२ जना स्नातक वा सोभन्दा बढी पढेकालाई उम्मेदवार बनाएको छ।
जनता लोकतान्त्रिक पार्टी, नेपाल, जनादेश पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), नेपाल संघीय समाजवादी पार्टी, पिपुल फष्र्ट पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय जनता पार्टी नेपाल, सार्वभौम नागरिक पार्टी र स्वाभिमान पार्टीले १।१ जना स्नातक वा सोभन्दा बढी अध्ययन गरेकालाई उम्मेदवार बनाएको छ।
एक दर्जन उम्मेदवार छन् पिएचडी होल्डर
आसन्न प्रतिनिधिसभा सदस्यका निर्वाचनका लागि मधेस प्रदेशमा एक दर्जन उम्मेदवार विद्यावारिधि गरेका छन्। उम्मेदवारीको क्रममा निर्वाचन मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले उल्लेख गरेको शैक्षिक योग्यता अनुसार ३२ वटा निर्वाचन क्षेत्र रहेको मधेसमा ११ जनाले विद्यावारिधि गरेको उल्लेख छ।
आयोगको वेबसाइटमा प्रविष्ट भएको शैक्षिक योग्यता अनुसार सप्तरी २ बाट उम्मेदवार रहेका जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, सोही क्षेत्रमा उज्यालो नेपाल पार्टीबाट दिपक चौधरीले विद्यावारिधि गरेका छन्। सप्तरी ४ मा जसपा नेपालबाट उम्मेदवार रहेकी वाँवी सिंह, सिरहा ४ मा जनमत पार्टीका बिरेन्द्र प्रसाद महतो, धनुषा २ मा जनमतकै सुरेन्द्र प्रसाद यादव, धनुषा ३ मा राष्ट्रिय मुक्ति पार्टी नेपालका राजीव कुमार झा, धनुषा ४ बाट जसपा नेपालका कृष्णचन्द्र प्रसाद साह, महोत्तरी १ मा कांग्रेसका मुकेशराज काफ्ले, सर्लाही ३ मा जसपा नेपालका जय प्रकाश राय, सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेश कुमार सिंह र पर्सा ४ बाट जसपा नेपालकै कृपासिन्धु प्रसादले विद्यावारिधि गरेका छन्।
सप्तरी १ बाट उम्मेदवार रहेका जनमतका जयकान्त राउतले समेत विद्यावारिधि गरेको भएतापनि निर्वाचन आयोगले सार्वजनिक गरेको व्यक्तिगत विवरणमा खाली रहेको छ।
राष्ट्रिय जनगणना २०७८ अनुसार मधेस प्रदेशमा ५ वर्ष वा सो भन्दा बढी उमेरका ५४ लाख ७३ हजार ४७८ जनसंख्या छ। यसमा २७ लाख ५१ हजार ७७ जना महिला र २७ लाख २२ हजार ४०१ जना पुरुष छन्। तथ्यांक कार्यालयले निर्वाचन क्षेत्र अनुसार सार्वजनिक गरेको जनसांख्यिक तथ्यांक अनुसार ३६.५ प्रतिशत जनसंख्या निरक्षर छ। यस्तै, बालविकास ३.९ प्रतिशत, आधारभूत शिक्षा हासिल गरेका ३४.४ प्रतिशत, माध्यमिक शिक्षा हासिल गरेका २१.४ प्रतिशत र उच्च शिक्षा हासिल गरेका ३ प्रतिशत रहेका छन् भने अन्य ०.९ प्रतिशत रहेका छन्।
राष्ट्रिय जनगणना २०७८, अनुसार पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा बसोबास गर्ने सबैभन्दा बढी जनसंख्याले उच्च शिक्षा हासिल गरेका छन्। यहाँ बसोबास गर्ने ७.५ प्रतिशत जनसंख्याले उच्च शिक्षा हासिल गरेका छन्। यस्तै, २७.७ प्रतिशत जनसंख्याले माध्यमिक तहको शिक्षा हासिल गरेका छन्। पर्सा १ मा वीरगञ्ज महानगरपालिका पर्छ।
पर्सा १ पछि धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा ७.१ प्रतिशत जनसंख्याले उच्च शिक्षा हासिल गरेका छन्। राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार ५ वर्ष वा सो भन्दा बढी उमेरका २७.४ प्रतिशतले माध्यमिक तहको शिक्षा हासिल गरेका छन्। धनुषा ३ मै मधेस प्रदेशको राजधानी जनकपुरधाम पर्छ।
यस्तै, सप्तरी २ मा ५.८ प्रतिशत जनसंख्याले उच्च शिक्षा र २७.५ प्रतिशतले माध्यमिक तहको शिक्षा प्राप्त गरेका छन्। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा उम्मेदवार रहेको सर्लाही ४ मा १.९ प्रतिशतले उच्च शिक्षा र १६.३ प्रतिशतले माध्यमिक शिक्षा प्राप्त गरेका छन्।
यस्तै, पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपाल उम्मेदवार रहेको रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा ३ प्रतिशतले उच्च शिक्षा र १८.६ प्रतिशत जनसंख्याले माध्यमिक तहको शिक्षा प्राप्त गरेका छन्।
पूर्व शिक्षा मन्त्री रहेका नेकपाका गिरिराजमणि पोखरेल उम्मेदवार रहेको महोत्तरी १ मा २.७ प्रतिशत जनसंख्याले उच्च शिक्षा र २४.४ प्रतिशतले माध्यमिक तहको शिक्षा प्राप्त गरेका छन्।
रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा बसोबास गर्ने सबैभन्दा कम जनसंख्याले उच्च शिक्षा प्राप्त गरेका छन्। राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार यो क्षेत्रमा बसोबास गर्ने १.१ प्रतिशतले मात्र उच्च शिक्षा प्राप्त गरेका छन् भने १३ प्रतिशत जनसंख्याले माध्यमिक तहको शिक्षा प्राप्त गरेका छन्।