- गायत्री मन्त्रको अध्ययनले मस्तिष्कमा न्यूरोकेमिकल्सको असमान वितरण घटाउने र सन्तुलन ल्याउने निष्कर्ष निकाल्यो।
- संस्कृतमा गायत्री पाठ गर्दा मस्तिष्कमा अधिक सकारात्मक प्रभाव पर्ने कुरा अध्ययनले देखायो।
- मन्त्र वाचनले भौतिक र मनोवैज्ञानिक रूपमा पनि असर गरी मानिसको मस्तिष्क क्षमतामा वृद्धि गर्न सक्छ।
“मननात् त्रायते इति मन्त्रः” मनन गरेपछि वा दोहोर्याएपछि जसले त्राण वा मुक्ति दिन्छ वा रक्षा गर्दछ, त्यो नै मन्त्र हो। यहाँ कुरा गर्न खोजिएको गायत्री मन्त्रको हो, जुन “ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्” भनेर प्रख्यात छ। यसको साधारण अर्थ छ: ॐ म अविनाशी ईश्वरको ध्यान गर्दछु कि जसले भूलोक, अन्तरिक्ष र स्वर्गलोकको सृष्टि गर्नुभयो, उनै सृष्टिकर्ता, पापनाश गर्ने, अत्यन्तै श्रेष्ठ देवताको म धारणा गर्दछु कि उक्त ईश्वरले सद्बुद्धि देओस् र सत्कर्ममा लाग्न प्रेरित गरोस्।
यही गायत्री मन्त्रमा डाक्टर राम जयसुन्दरले क्याम्ब्रिज युनिभर्सिटीमा पीएचडी अध्ययन गरेकी हुन्। रमा जयसुन्दर जो एक भौतिकशास्त्री हुन्, जसले आधुनिक विज्ञान (NMR-न्यूक्लियर म्याग्नेटिक रेजोनेन्स) भौतिकशास्त्रलाई परम्परागत पूर्वीय ज्ञानसँग जोड्छिन्। चेतना, मन्त्र र भौतिकविज्ञानको वास्तविकताबीचको सम्बन्धको अन्वेषण गर्दै आएकी छिन्। उनको अध्ययन न्यूक्लियर म्याग्नेटिक रेजोनेन्स जस्ता उपकरणहरू प्रयोगमा केन्द्रित छ। कम्पन (मन्त्र) ले चेतना र पदार्थलाई कसरी असर गर्छ भनेर अन्वेषण गर्दै यसको अनुसन्धान गरेकी छिन्। क्वान्टम भौतिकशास्त्रलाई वैदिक अवधारणाहरूसँग जोड्दै मन्त्रको भूमिका उनको खोज रहँदै आएको छ। मन्त्रहरूले केवल ध्वनिको रूपमा मात्र नभई मन-वस्तु अन्तरक्रियालाई प्रभाव पार्ने सक्छ भन्ने उनको नतिजा छ।
उनले गायत्री मन्त्रले मानिसको मस्तिष्कमा कस्तो प्रभाव पार्छ भनेर अध्ययन गरिन्। कसरी उनले यसको वैज्ञानिक अध्ययन गरिन्, पहिले जानौँ। ३० जना स्वयंसेवकहरूलाई गायत्री मन्त्र उच्चारण गर्नका लागि उनले छानिन्। ३० जना मध्ये १० जनालाई ३ महिनासम्म गायत्री मन्त्र पाठ गर्न लगाइयो। अर्को १० जनालाई अंग्रेजीमा अनुवाद गरिएको गायत्री मन्त्र पनि ३ महिनासम्म उच्चारण गर्न लगाइयो। बाँकी १० जनालाई कुनै पनि मन्त्र उच्चारण गराइएन । गायत्री मन्त्र जप्नेले हरेक दिन बिहानको ब्रह्ममुहूर्तको समय ३ बजे आसपासमा उठेर वाचन गर्नुपर्थ्यो। उनीहरूले हरेक दिन १०८ चोटि गायत्री उच्चारण गर्नुपर्थ्यो। अंग्रेजीमा वाचन गर्नेले पनि हरेक दिन ब्रह्ममुहूर्तमा उठ्नुपर्थ्यो र १०८ पटक वाचन गर्नुपर्थ्यो। बाँकी १० जनाले कुनै पनि मन्त्र जप्न लगाइएन। ३० जनामा ९ महिना अध्ययनसम्म उनको अनुसन्धान केन्द्रित भयो।
अध्ययनका तीन उद्देश्य थिए। पहिलो थियो, गायत्री मन्त्रले मस्तिष्कमा के कस्तो प्रभाव पार्छ वा पार्दैन। दोस्रो, अंग्रेजी भाषा र संस्कृतमा भएको गायत्री मन्त्रको वाचन गर्दा केही भिन्नता हुन्छ वा हुँदैन। तेस्रो थियो, गायत्री वाचन गर्न छाडेपछि यसको प्रभाव पर्छ वा पर्दैन। तेस्रो उद्देश्यका लागि उनले मन्त्र जप गर्न छाडेको ३ महिनापछि ९ महिनाको अवधिसम्म उनीहरूको अध्ययन गरेकी थिइन्।
यसको कसरी परीक्षण गरियो भन्ने कुराको भूमिकाबारे बुझौँ। साइमेटिक फोटोग्राफी भन्ने एक फोटो खिच्ने तरिका छ। साइमेटिक फोटोग्राफी भनेको आवाजले नजिकै भएको वस्तुमा कस्तो तरङ्ग पैदा गर्छ भन्नेबारेको फोटो खिच्ने विधि हो। तरङ्ग शक्तिको प्रभावले कुनै पनि वस्तुमा कस्तो आकृति बनायो भनेर फोटो खिच्ने तरिकालाई साइमेटिक फोटोग्राफी भनिन्छ। सजिलोका लागि भन्ने हो भने साइमेटिक भनेको आवाजलाई आकृतिमा चिन्नु हो।
जर्मन वैज्ञानिक अर्नेस्ट च्लाद्नी (१७५६-१८२७) भौतिकशास्त्री र सङ्गीतकार हुन्। उनलाई श्रवण वा ध्वनि (Acoustic) का पिता भनेर चिनिन्छ। यस साइमेटिक फोटोग्राफीका सुरुवातकर्ता भनेर अर्का भौतिक शास्त्री वैज्ञानिक ह्यन्स जेनीलाई पनि चिनिन्छ। सुरुवाती चरणमा यी दुवै वैज्ञानिकले पियानोको अगाडि थालमा मकैको पिठो राखेर पियानोमा विभिन्न प्रकारका ध्वनि निकाल्दै गए। यसअनुसार थालमा भएको मकैको पिठोमा परेको ध्वनिको प्रभावको फोटो लिँदै गए। ध्वनिको प्रकारअनुसार थालमा भएको मकैको पिठोमा पनि फरक-फरक आकृति देखियो।
आकृति भन्नाले मकैको पिठोलाई आवाजको तरङ्गले तितरबितर पारेको हो। यस्तो तितरबितर पर्दा कस्तो आकृति वा ‘प्याटर्न’ देखियो भनेर उनीहरूले रङ्गीन चित्र खिचे। उनीहरूले पियानोबाट ध्वनि निकालेर यस्तै प्रकारको पानीमा देखिएको विभिन्न चित्र (प्याटर्न) को पनि अध्ययन गरे। यसका लागि उनीहरूले ध्वनि इन्जिनियरको सहयोग लिए।
यस विधिको परीक्षणका क्रममा साउन्ड स्पिकरलाई उल्टाएर त्यसमाथि पानी राखियो र विभिन्न प्रकारका गीत-सङ्गीत बजाइयो। यसरी विभिन्न गीत बजाउँदा निस्केको तरङ्गले पानीमा कस्तो तरङ्ग वा हलचल उत्पन्न गर्यो भनेर त्यसको फोटो लिइयो। यसै गरी उनीहरूले चिया कपमा राखिएको पानीमा परेको ध्वनिको प्रभावको पनि चित्र लिए। माथि भनिएजस्तै यो साइमेटिक फोटोग्राफी भनेको गीत-सङ्गीतबाट वा आवाजको कारण उत्पन्न भएको तरङ्ग शक्तिलाई देख्न सकिने (भिजुअल फर्म) फोटोमा उतार्ने विधि हो।

राम जयसुन्दर।
यो विधिमार्फत मन्त्रको, श्लोकको र अक्षरको पनि तरङ्ग शक्ति जाँचिएको छ र जुनसुकै बेला जाँच्न सकिन्छ। आवाजको शक्ति वा तरङ्ग शक्तिको ‘भिजुअल फर्म’ हो साइमेटिक फोटोग्राफी। समग्रमा साइमेटिक भनेको आवाजको तरङ्ग लम्बाइ हेर्ने विधि भन्न सकिन्छ। यस विधिबाट मुखले आवाज निकाल्दा मात्र होइन, तपाईं-हामी सोच्दा, मनमनै पढ्दा र अक्षर हेर्दा पनि मस्तिष्कमा कस्तो तरङ्ग वा हलचल ल्याउँछ भनेर अध्ययन गर्न सकिन्छ।
डाक्टर रामा जयसुन्दरले अध्ययनको क्रममा कुनै पनि मानिसले शब्द उच्चारण गर्दा र सुन्दा मस्तिष्कमा कस्तो-कस्तो विद्युतीय गतिविधि हुन्छ भनेर थाहा पाइन्। शब्द बोल्दा कस्तो प्रभाव पर्छ र शब्द सुन्दा यसले मस्तिष्कमा के-कस्तो परिणाममा रक्तसञ्चार हुन्छ भनेर पनि पहिचान गर्न सकिने उनले थाहा पाइन्। कुनै पनि शब्द वा वाक्य सुन्दा र बोल्दा मात्र होइन, हामीले ती शब्दको बारेमा सोच्दा र ती शब्दलाई आँखाले हेर्दा पनि मस्तिष्कमा पर्ने प्रभाव सजिलै पहिचान गर्न सकिने उनले आफ्नो सोधको क्रममा पाइन्। अझ भन्ने हो भने एउटै शब्द उच्चारण गर्दा, सुन्दा, हेर्दा र सोच्दा पनि मस्तिष्कमा फरक-फरक प्रभाव पर्दछ भनेर जान्न सकिन्छ भनेर उनले अध्ययनको क्रममा पाएकी छिन्।
यही आवाज तरङ्गले कसरी मस्तिष्कलाई प्रभाव पार्छ भन्ने कुरालाई आधार मानेर डाक्टर तथा वैज्ञानिक रामा जयसुन्दरले पनि गायत्री मन्त्रको बेलायतस्थित अक्सफोर्ड युनिभर्सिटीमा आफ्नो अनुसन्धान गरेकी थिइन्। सहभागीले गायत्री मन्त्र वाचन गर्न सुरु गरेपछि उनको अध्ययन पनि सुरु भयो। अध्ययनको क्रममा सहभागीको मस्तिष्कको हरेक तेस्रो हप्ता ‘एमआर इमेज’ लिइयो। मानव शरीरमा ७५% पानी हुन्छ भने मानव मस्तिष्कमा ८० प्रतिशतभन्दा धेरै पानी हुन्छ। अनुसन्धानको क्रममा हाम्रो मस्तिष्क र साथसाथै चिया कपमा राखिएको पानीमा उही आवाजको ध्वनि पठाएर दुवैको चित्र पनि लिइयो। यी दुवैको चित्र लिएर एकअर्कामा तुलना गरेर हेरियो। कपको पानीमा देखिएको जस्तै प्रभाव मानव मस्तिष्कमा परेको पाइयो। माथि नै भनियो, दुवै चिया कपको पानी जस्तै मस्तिष्क पनि तरल पदार्थ नै हो।
मस्तिष्कमा विभिन्न प्रकारका सूक्ष्म रेशेदार नसा हुन्छन्। यसलाई न्यूरोन्स भनिन्छ। वैज्ञानिक रमा जयसुन्दरले आफ्नो अध्ययनको क्रममा दुवै भाग दायाँ र बायाँको अध्ययन गरेकी थिइन्। मस्तिष्कको बायाँ भाग जसले सोच्न, बुद्धि खियाउनमा मद्दत गर्छ। मस्तिष्कको अर्को भाग दायाँ जसले कल्पना, भावना र रचनात्मक काम गर्नेसँग सम्बन्धित राख्छ। अध्ययन सुरु हुनुअघि यी सबै ३० जनाको मस्तिष्कको एमआरआई गरिएको थियो। मस्तिष्कको एमआरआईले मस्तिष्कको विस्तृत फोटो लिन्छ। जसका कारण मस्तिष्कको सूक्ष्म कुराहरू पनि थाहा पाउन सकिन्छ। मन्त्र पाठ गरेपछि पनि हरेक तेस्रो हप्ता सहभागीको एमआरआई लिने गरिन्थ्यो। यसरी गायत्री मन्त्रले मस्तिष्कमा प्रभाव पारेको छ वा छैन जाँच गरियो।
९ महिनापछि नतिजा भने आश्चर्यजनक आयो। मन्त्र पाठ गरेपछि न्यूरोकेमिकल्सको असमान वितरण (एसिमेट्रिकल डिस्ट्रिब्युसन) घटेको पाइयो। बायाँ र दायाँ मस्तिष्कको न्यूरोकेमिकल्सको सन्तुलन पनि भएको पाइयो। दायाँ र बायाँ मस्तिष्क सन्तुलन भएमा दिमागलाई उत्प्रेरित गर्ने शक्ति विस्तार गर्ने र भित्र सन्तुलन र सद्भाव सिर्जना पनि गर्दछ। गायत्री मन्त्र उच्चारण गर्न छाडेपछि पनि न्यूरोकेमिकल्सको असमान वितरण घटेको पाइयो। अंग्रेजीमा गायत्री पाठ गर्नेको तुलनामा संस्कृतमा पाठ गर्नेको धेरै कमजोर प्रभाव गरेको पाइयो। संस्कृतमा पाठ गरेकाको न्यूरोकेमिकल्समा सकारात्मक प्रभाव धेरै रहेको नतिजा आयो।
यस अध्ययनको निष्कर्ष के हो भने मन्त्रले मस्तिष्कमा एकीकृत गर्न न्यूरोकेमिकल्सको असमान वितरण घटाउँछ। अंग्रेजी भाषाभन्दा संस्कृत भाषा गायत्री मन्त्रको प्रभावमा धेरै प्रभावकारी छ। गायत्रीको वाचन गरेपछि पनि यसको प्रभाव लामो समयसम्म पर्ने अध्ययनको निष्कर्ष रह्यो।
यो अध्ययन गायत्री मन्त्रले मस्तिष्कमा पारेको प्रभाव मात्र अनुसन्धान गरिएको हो। भौतिक रूपमा प्रभाव पारेपछि मानसिक र मनोवैज्ञानिक रूपमा पनि अवश्य प्रभाव पर्छ भन्ने अनुसन्धानकर्ताको निष्कर्ष छ। जैविक-भौतिक तहमा पनि यसको प्रभाव पर्न सक्ने कुरा उनले आफ्नो अध्ययनमा बताएकी छिन्। पराभौतिक तहमा कत्तिको फरक पार्छ भन्ने कुरा जाँच्न निकै कठिन छ किनकि त्यो तहसम्म विज्ञानको प्रगति भएको छैन।
आयुर्वेदका अनुसार मानिसको शरीर ४ भागमा विभाजन गर्न सकिन्छ। संरचनात्मक शरीर, भौतिक शरीर, मनोवैज्ञानिक शरीर र चेतन शरीर छन्। यिनीहरू एकअर्कामा अन्योन्याश्रित र अन्तर्सम्बन्धित हुन्छन्। यी चारमध्ये कुनै पनि शरीरमा भएको परिवर्तनले एकअर्कालाई ज्यादै फरक पार्दछ। उदाहरणका लागि पीर वा शोकमा परेको मानिसको अनुहार उदास र चमक हराएको हुन्छ। पीर र शोक मनोवैज्ञानिक समस्या तर यसको सोझो प्रभाव भौतिक शरीरमा वा अनुहारमा देखिन्छ। यसैले गायत्री मन्त्रले जप्दा मानिसको मस्तिष्कमा क्षमतामा वृद्धि हुने कुरा प्रमाणित भएको पाइयो।