- प्रदेशसभा सदस्य अन्सारीका अनुसार प्रशासनिक उदासीनता र मौन समर्थनले मधेसमा असामाजिक गतिविधि बढ्दै गएका छन्।
- उनले विभिन्न घटनाहरूलाई धार्मिक आस्थामाथिको आक्रमण भन्दै प्रशासन उपस्थितिमै घटेको बताउँदै सभामुखलाई ध्यानाकर्षण गराइन्।
- मदर्शा विधेयक संसदमा प्रस्तुत नगर्दा कानुनी ढिलाइ भइरहेको भन्दै विधेयक तुरुन्तै प्रस्तुत गर्न अन्सारीले चेतावनी दिइन्।
जनकपुरधाम – नेपाल संघीय समाजवादी पार्टीकी मधेस प्रदेशसभा सदस्य बिमला अन्सारी तरन्नुमले प्रशासनको उपस्थिति र जानकारीमै मस्जिदमाथि आक्रमण भइरहेको बताएकी छन्।
शनिबार बसेको मधेस प्रदेश सभा बैठकमा विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य अन्सारीले अहिले मधेस प्रदेश योजनाबद्ध सामाजिक विखण्डन, धार्मिक उत्तेजना र प्रशासनिक उदासीनताको संकटमा फस्दै गएको बताइन्। उनले निर्वाचन नजिकिँदै गर्दा असामाजिक र आपराधिक गतिविधि तीव्र रूपमा बढे पनि प्रशासन मौन रूपमा बसेको आरोप लगाइन्।
उनले रौतहटमा मस्जिदमा ढुंगा प्रहार भएको, सर्लाहीको गोडैटा नगरपालिकामा महिलामाथि अभद्र व्यवहार र घरभित्र पसेर तोडफोड भएको, महोत्तरीको सुगामा मस्जिदमा आक्रमण, धनुषाको तुल्सियाहीमा रंग छर्ने काम भएको भन्दै यो सबै घटना मार्मिक आस्थामाथिको आक्रमण भएको बताउँदै यो सबै घटना प्रशासनको जानकारी र उपस्थितिमै घटेको भन्दै सभामुखलाई ध्यानाकर्षण गराइन्।
‘जब अपराध राज्यको आँखा अगाडि हुन्छ र अपराधीलाई कारबाही हुँदैन भने त्यो प्रशासनिक कमजोरी होइन राज्यको मौन समर्थन हो’, उनले अगाडि भनिन्, ‘जब यस्तो मौनता निर्वाचनको समयमा देखिन्छ तब स्पष्ट हुन्छ फागुन २१ के निर्वाचनलाई त्रास, डर र अविश्वासको वातावरणमा असफल बनाउन खोजिँदै छ।’
प्रदेशसभा सदस्य अंसारीले आफूहरूको कार्यकालमा मदर्शा विधेयक परिषद्को बैठकबाट विधिवत् रूपमा पास भइसकेको भन्दै त्यो विधेयक संसदमा प्रस्तुत नगरी अलपत्र पारिएको बताइन्। उनले यो कानुनी ढिलाइ मात्र नभई यो मधेसको हजारौँ विद्यार्थी र शिक्षक, शैक्षिक संस्थाप्रति गरिएको संरचनात्मक अन्याय रहेको बताइन्।
उनले यो विधेयक कार्यान्वयनमा नल्याउनु भनेको धार्मिक सहिष्णुता समावेशी शिक्षा र संविधानमाथि प्रश्न उठाउनु रहेको बताइन्। उनले यो विधेयक तत्काल प्रस्तुत गर्नुपर्ने भन्दै सरकारले अझै उदासीनता देखाए आफू आवश्यकता परे एक्ले सदन अवरुद्ध गर्ने चेतावनी दिइन्।