सिरहा – सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज अज्ञात व्यक्तिले गोली हानी एक युवकको हत्या गरेका छन्। सिरहा नगरपालिका–१ का ४० वर्षीय प्रेमनाथ यादवको हत्या भएको हो।
सदरमुकामदेखि करिब डेढ किलोमिटरको दूरीमा रहेको आफ्नै खेतमा काम गरिरहेको अवस्थामा यादवमाथि गोली प्रहार भएको थियो। गोली उनको छातीमा लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार घटनाको जानकारी पाउना साथ प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको छ। उनले भने, “मृतक यादव खेती किसानीमा आबद्ध थिए। उनको हत्या कसले र किन गर्यो भन्ने विषयमा अहिले नै खुल्न सकेको छैन।”
अज्ञात समूहले गोली चलाएर फरार भएकाले सिरहाका सीमावर्ती क्षेत्र र मुख्य नाकामा सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ। प्रेमनाथको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ।