- दोलखामा १ लाख ७० हजार ३० मतदाताले निकटवर्ती चुनावमा प्रमुख दलहरूका प्रतिस्पर्धीलाई गम्भीर चाप दिँदैछन्।
- एमालेले पार्वत गुरुङलाई उम्मेदवार बनाएर आफूलाई पुन: स्थापित गर्न जोरदार तयारी गरेको छ।
- कांग्रेसका अजयबाबु शिवाकोटी र नेकपाका विशाल खड्का उम्मेदवारको रूपमा दोलखामा शक्तिशाली प्रतिस्पर्धी देखिन्छन्।
काठमाडौँ – फागुन २१ गते हुने चुनावमा दोलखामा पनि सरगर्मी कम्ता छैन। एमालेको ‘आधार इलाका’ जस्तै मानिने दोलखामा बेलाबखत चुनावी परिणाम भने भिन्न ढंगले आउने गरेको छ।
२०४८ देखि यता एमालेले पाँचपटक, माओवादीले दुईपटक र कांग्रेसले एकपटक दोलखाबाट चुनाव जितेका छन्। माओवादीको दुईमध्ये एकपटक कांग्रेसको बलमा जितेको हो।
२०७० सालसम्म दुईवटा निर्वाचन क्षेत्र रहेको दोलखा संविधान जारीपछि भने एउटा मात्रै संघीय निर्वाचन क्षेत्रमा परिणत भएको छ। २०७९ को चुनावमा तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको पाँच दलीग गठबन्धनको उम्मेदवारका रुपमा माओवादीका गंगा कार्कीले ३६ हजार ८२० मत ल्याएर चुनाव जितेका थिए। उनका प्रतिस्पर्धी एमालेका बालकृष्ण सिवाकोटीले ३६ हजार ५०५ मत ल्याएर ३१५ मात्रैले चुनाव हारेका थिए।
आसन्न चुनावमा दोलखामा १ लाख ७० हजार ३० मतदाता छन्। माओवादी र एकीकृत समाजवादी मिलेर बनेको नेकपा आफैँ चुनावमा उत्रदा र देशव्यापी रुपमा रास्वपाले तरंग पैदा गरेको अवस्थामा दोलखामा पनि त्यसको प्रभाव देखिँदैछ।
अघिल्लो चुनावको समानुपातिक तर्फको मत तपरिणाम हेर्ने भने एमाले ३० हजार ९८६ मतका साथ पहिलो छ। कांग्रेस २७ हजार ७ मतका साथ दोस्रो स्थानमा छ भने माओवादीले आधाभन्दा पनि कम मतका ल्याएको छ। तत्कालीन माओवादी केन्द्रको ११ हजार ५८२ र समाजवादीको २३ सय एक मत थियो। रास्वपाले अघिल्लो चुनावमा दोलखाबाट ५५ सय ६६ मत पाएको देखिन्छ।
आसन्न चुनावमा दोलखामा एमालेले यसअघि दुईपटक जितिसकेका पार्वत गुरुङलाई उम्मेदवार बनाएको छ। २०७० सालको संविधानसभा चुनावमा तत्कालीन क्षेत्र नम्बर १ बाट र २०७४ मा एमाले माओवादी गठबन्धनका उम्मेदवारका रुपमा उनले सिंगो दोलखाबाट संसदमा प्रतिनिधित्व गरेका थिए।

उनै गुरुङलाई एमालेले फेरि आन्तरिक किचलोका बीच फेरि उम्मेदवार बनाएको छ। चुनावका बखत दोलखामा बाहुबली चल्नु स्वभाविक मानिन्छ। स्रोत साधन र बाहुबली चलाउन सक्ने गुरुङलाई चुनावी मैदानमा उतारेर यसपटक एमालेले आफ्नो विरासत फर्काउन कम्मर कसेर लागि परेको छ।
बलियो हुँदा हुँदै पनि अघिल्लो चुनावमा माओवादीलाई छाडेको कांग्रेसले यसपटक अजयबाबु शिवाकोटीलाई उम्मेदवार बनाएको छ। विशेष महाधिवेशनबाट सभापति भएका गगन थापाका ‘दाहिने हात’का रुपमा केन्द्रमा परिचित सिवाकोटी पत्रकारिता पृष्ठभूमिबाट कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेका हुन्।
उम्मेदवार हुन प्रदेशसभाबाट राजीनामा दिएका विद्यार्थी राजनीतिबाट आएका कुन्दनराज काफ्लेलाई एकाएक पन्छाएर सिवाकोटी टिकट लिन सफल भएका थिए। सुरुका दिनमा पार्टीभित्र केही मतभेद भए पनि विस्तारै परिस्थिति फेरिँदै गएको दोलखा कांग्रेसका कार्यकर्ताहरु बताउँछन्। भूगोलमा कम भिजे पनि राष्ट्रिय पहिचान बनाइसकेका शिवाकोटी प्रतिस्पर्धी उम्मेदवार हुन्।
नेकपाले विशाल खड्कालाई उम्मेदवार बनाएको छ। लोकप्रिय युवा नेताको छवि बनाएका खड्का कांग्रेस एमालेभित्रको असन्तुष्टिको फाइदा र रास्वपाको उपस्थितिको फाइदा उठाउने दाउमा छन्। नेकपाले जिल्लामै बलियो जनाधार भएका भरत दुलाललाई एमालेबाट ल्याएको छ। उनका कारण पनि दोलखामा खड्कालाई चुनावी प्रतिस्पर्धामा बल पुगिरहेको बताइन्छ।
रास्वपाले जगदीश खरेललाई चुनावी प्रतिस्पर्धामा उतारेको छ। पहाडी र कांग्रेस एमालेको बलियो जनाधार भएको क्षेत्रमा पनि जबर्जस्त उपस्थिति देखाउन दाउमा रास्वपा छ। देशभर देखिएको लहरको फाइदा लिने दाउमा खरेल छन्। उनले कांग्रेस एमालेको भोट काट्दा दोलखाको चुनावी प्रतिस्पर्धामा रोचकता थप्ने निश्चित छ।