समाजको विघटन कहिल्यै पनि बाहिरबाट सुरु हुँदैन। कुनै विदेशी शक्ति, सैन्य हस्तक्षेप वा औपचारिक राजनीतिक निर्णयभन्दा धेरै पहिला, विघटन मानिसको चेतनाभित्र जन्मिन्छ। यो चेतनामा रोपिएको निराशाको बीउ विचारमा उम्रिन्छ, भाषामा प्रकट हुन्छ र अन्ततः राज्य संरचनामै विस्फोट हुन्छ।
इतिहासका हरेक ठूला पतन—रोमन साम्राज्य, ओटोमन साम्राज्य, सोभियत संघ—सबैमा उस्तै साझा लक्षण देखिएको छः नागरिकले राज्यलाई आफ्नै रूपमा अनुभूति गर्न छोड्नु र राज्यले नागरिकप्रति उत्तरदायी हुन अस्वीकार गर्नु। र, राजनीतिक पार्टीको पतन पनि यही प्रकारले हुँदै आएको छ। आज नेपाली समाज यही मनोवैज्ञानिक र ऐतिहासिक अप्ठ्यारोमा उभिएको छ। यो अप्ठ्यारोमा राज्य विघटनका संकेत सल्बलाइरहेका छन्। यो निकै गम्भीर र सोचनीय विषय रहेको छ।
व्यक्ति–समाज–राजनीति हुँदै राज्यसम्मको विघटन
नेपालमा विघटनको प्रक्रिया कुनै दिन अचानक सुरु भएको होइन। यो पहिला साधारणत व्यक्तिमा देखा पर्दै आयो। निरन्तर बेरोजगारी, श्रमको अवमूल्यन, राज्य संरचनाप्रतिको निराशा र भविष्यप्रतिको गहिरो अनिश्चितताले नागरिक चेतनालाई निराश र अस्पष्ट बनायो। नागरिक राज्यको समर्थनमा होइन बरु, राज्यबाट भाग्ने मनोविज्ञानमा प्रवेश ग¥यो। विदेश पलायन, व्यक्तिगत लाभ, निजी सुरक्षा र सो अनुरुपको घेराबन्दीलगायत आत्मकेन्द्रित मनोविज्ञानमा प्रविष्ट हुन पुग्यो।
यसपछि विस्तारै विखण्डन समाजमा फैलियो। सामूहिक मूल्य कमजोर भए, संस्थामाथिको विश्वास टुट्दै गयो, राजनीतिक दल, न्यायप्रणाली, सञ्चारमाध्यम—सबैप्रति अविश्वास गहिरियो। समाज ‘हामी’ बाट ‘म’ तर्फ सरेको यही विन्दुमा सामाजिक एकता भत्किन थाल्यो। अहिले यो कहालीलाग्दो अवस्थामा पुगेको छ।
अब यो प्रक्रिया खुला रूपमा राजनीतिमा प्रवेश गरिसकेको छ। पुराना राजनीतिक मान्यताविरुद्ध उठेको नागरिक असन्तोषलाई दलहरूले वैचारिक निकास दिन सकेनन्। बरु विचार र सिद्धान्तलाई बोझ ठानेर, मात्र सत्ता स्वार्थको निम्ति गरिएका असैद्धान्तिक गठबन्धनमार्फत पार्टी–केन्द्रित राजनीतिक चेतनालाई पूर्ण रूपमा भंग गरिदियो।
त्यसपछि राजनीति निकास वा समाधानको साधन होइन, जीविकोपार्जनको पेसा बन्दै गयो। राजनीतिले अनैतिकताको भारी उठायो। भ्रष्टाचार, लुट, दलालीलाई राजनीतिले खुलेआम बोक्न थाल्यो। यस्ता कृत्यले नागरिकको मन र चेतनालाई विघटन गरायो। यसरी अघोषित रुपमा राजनीति विघटित बन्न पुगेको छ। देशमा यतिबेला नागरिक राज्य विघटनको सवाललाई पनि सामान्य रूपमा लिने अवस्थामा पुगेका छन्। यो निकै गम्भीर विषय रहेको छ।
‘देश अमेरिका वा भारतले लगे पनि के फरक?’ — खतरनाक चेतना
आज ‘देश अमेरिका वा भारतले लगे पनि के फरक?’ भन्ने वाक्य कुनै आवेग वा मजाक होइन। यो राष्ट्रिय आत्मसमर्पणको अभ्यास वा पूर्व संकेत हो। इतिहासले देखाउँछ—राज्य पतन हुनुअघि यस्तै भाषा सामान्य बन्छ। फ्रान्समा नाजी कब्जाअघि, इराकमा अमेरिकी हस्तक्षेपअघि, युक्रेनमा २०१४ को संकटअघि, समाजमा यस्तै मानसिकता फैलिएको थियो।
जब नागरिकले आफ्नो देशको अस्तित्वप्रति भावनात्मक र वैचारिक सम्बन्ध तोड्छ, तब राज्य कागजी संरचनामा सीमित हुन्छ। यही क्षणबाट बाह्य हस्तक्षेप सहज बन्छ। आज नेपालमा जसरी बाह्य हस्तक्षेप बढेर गएको छ त्यो यसैको उदाहरण हो। यसले विस्तारै नेपाल विघटनको दिशा तय गर्दै गएको मान्न सकिन्छ। समाजमा निराशा र नकारात्मकता फैलाएर बनाइएको यो वातावरण प्रायोजित छ।
निर्वाचनपछि देखिने नयाँ विघटन र ‘नयाँ’ शक्तिहरू
फागुन २१ को निर्वाचनपछि नेपालका प्रमुख संसदीय दलहरू—एमाले, कांग्रेस, माओवादी, राप्रपा—सबै क्रमशः विघटित हुने संकेत स्पष्ट छन्। यो कमजोरी संगठनात्मकभन्दा वैचारिक धेरै हो। जब सत्ता नै अन्तिम लक्ष्य बन्छ, विचार बोझ बन्छ। यही कारणले यी दल जनताबाट क्रमशः टाढा हुँदै गएका छन्।
जनताको चेतनामा विघटित भइसकेका दल र नेता आगामी चुनावपछि वैधानिक तवरले संसदीय मञ्च र समग्र राजनीतिक प्रक्रियाबाट विघटित हुने अवस्था बन्दै छ।
तर, इतिहासले चेतावनी दिएको छ कि — पुराना शक्ति कमजोर हुँदैमा स्वतः क्रान्तिकारी चेतना उदाउँदैन। समाजको दीर्घ समाधान वैचारिक शक्तिद्वारा मात्र सम्भव छ। त्यसैले समाजको यो विघटनलाई रोक्न वा समाधान दिन अब इतिहासबाट शिक्षा लिँदै समकालीन पुस्तामा जागरण ल्याउन आवश्यक बनेको छ।
जहाँ वैचारिक शक्ति कमजोर हुन्छ, त्यहाँ प्रायोजित शक्ति उदाउँछ। अहिले भएको त्यही हो। यही शून्यतामा ‘नयाँ’, ‘स्वच्छ’, भनेर प्रस्तुत गरिएका शक्ति उदाउने सम्भावना बलियो छ। सफ्ट पावरको रुपमा विकास गरिएका लोकप्रियतावादी तत्व उदाउने सम्भावना रहेको छ। रास्वपाजस्ता दल संसदमा ठूलो शक्ति बन्न सक्छन्, सरकारसमेत बनाउन सक्छन्।
तर, यहाँ प्रश्न सत्ता होइन—समाधानको हो। यस्ता नयाँहरू कुनै पनि समाधान होइनन्। उनीहरू राज्य विघटनको अन्तिम मतियार हुन्। उनीहरूको उपादेयता नेपालको वैधानिक विघटनसँगै समाप्त हुनेछ। तर, हामीले हाम्रो पुस्तालाई समाधानको नितान्त नयाँ र मौलिक प्रस्तावसहित विशेष अपिल जरुरी भएको छ।
पुराना शक्ति कमजोर हुँदैमा स्वतः क्रान्तिकारी चेतना उदाउँदैन। समाजको दीर्घ समाधान वैचारिक शक्तिद्वारा मात्र सम्भव छ। त्यसैले समाजको यो विघटनलाई रोक्न वा समाधान दिन अब इतिहासबाट शिक्षा लिँदै समकालीन पुस्तामा जागरण ल्याउन आवश्यक बनेको छ।
वैचारिक आधारविहीन सत्ताः समाधान होइन, संकटको विस्तार हो
वैचारिक आधार शून्यतामा उभिएका शक्तिले सत्ता हत्याउन सक्छन् तर यो घोर संकटको समाधान गर्न विल्कुलै सक्दैनन्। किनभने उनीहरूका लागि राजनीति सामाजिक रूपान्तरणको साधन होइन, स्वयंका दाउपेच र स्वार्थ पूरा गर्ने उद्देश्य बन्छ। नीति निर्माण जनताको वर्गीय यथार्थमा होइन, दातृ संस्था, दूतावास र अन्तर्राष्ट्रिय एजेन्डाको दबाबमा हुन्छ।
अब नयाँ भनिएका शक्ति विचारशून्य शक्ति सत्तामा आयो भने जनताले देख्छन् कि ‘नयाँ’ भनिएको शक्ति पनि पुरानै ढाँचामा चल्यो, त्यसपछि जनताको निराशा दोब्बर हुन्छ। यही निराशा शान्त रहँदैन—यो आक्रोश खतरनाक आक्रोश बन्छ। इतिहासमा यही आक्रोश सामाजिक हिंसा, राजनीतिक हत्या र अन्ततः गृहयुद्धको इन्धन बनेको छ। आगामी दिनमा नेपालले तय गर्ने यात्रा यस्तै हुने करिब पक्का छ।
वैश्विक सन्दर्भः प्रायोजित ‘नयाँ राजनीति’ को परिणाम
युक्रेनमा २०१४ पछि पश्चिमी समर्थनमा उदाएका ‘नयाँ सुधारवादी’ शक्तिहरूले पुराना संरचना त तोडे तर परिणाम स्थायी अस्थिरता र गृहयुद्ध बन्यो। जर्जियाको ‘रोज रिभोल्युसन’, अरब वसन्तपछि लिबिया र सिरिया—सबै ठाउँमा पश्चिमी समर्थनमा उदाएका शक्तिले राज्य नै कमजोर पारे। मध्यपूर्व, दक्षिण एशियाको अशान्ति, भेनेजुएलामाथिको निर्मम दमन, भर्खरै चालु अवस्थामा रहेको इरान हिंसा, नेपालको ऐतिहासिक जेनजी आन्दोलन र त्यसको हाइज्याक हामीले सबै विषयलाइ गम्भीरतापूर्वक हेर्न जरुरी छ। सबै गम्भीर समयको प्रत्यक्ष साक्षी वर्तमान विश्व छ।
ल्याटिन अमेरिकामा पनि यही ढाँचा देखिन्छ। वैचारिक रूपमा अस्पष्ट तर पश्चिममैत्री सरकारहरू सत्तामा आए, सामाजिक ध्रुवीकरण बढ्यो र अन्ततः ती शक्ति स्वयं हिंसाको सिकार बने।
नेपालमा पनि पश्चिमी शक्ति—विशेषतः अमेरिका र उसका रणनीतिक साझेदार—निराशा व्यवस्थापन गर्ने औजारको रूपमा यस्ता शक्तिलाई प्रयोग गरिरहेका छन्। सामाजिक अभियान्ता, पत्रकार, कलाकार, कवि, पूर्वप्रशासक, कर्मचारी र यस्तै छविमार्फत दल बनाएका शक्ति मिलेर—मिलाइदिएर प्रयोगमा ल्याइँदै छन्।
उनीहरूको लक्ष्य नेपाललाई स्वाधीन र आत्मनिर्भर बनाउनु होइन; बरु रणनीतिक रूपमा अनुकूल, कमजोर र आश्रित बनाउनु हो। जसको परिणाम आगामी दिनमा भयानक तरिकाले देखिनेछन्।
वैचारिक शून्यता र नयाँ भनिएकाहरूको अपरिहार्य पतन
वैचारिक आधारबिना उदाएका शक्ति अन्ततः भित्रैबाट चिरिन्छन्। उनीहरू न जनताको अपेक्षा पूरा गर्न सक्छन्, न त बाह्य शक्तिलाई सन्तुष्ट पार्न सक्छन्। उनीहरू कुनै समाधान होइनन्। प्रयोग भइसकेपछि उनीहरूको पतन अनिवार्य हुन्छ। पश्चिमी शक्तिले आफ्ना स्थानीय औजारलाई दीर्घकालीन सुरक्षा दिएको इतिहास आजसम्म कतै छैन। आफ्ना स्वार्थ पूरा गरेपछि उनीहरूलाई निर्माण गर्ने शक्तिले उनीहरूको अन्त्य गर्नेछ। किनकि परिणामले जनता सन्तुष्ट हुँदैनन्, जनताको असन्तुष्टिलाई भ्रमित गर्न र आफ्नो स्वार्थअनुकूल परिचालन गर्न फेरि अर्को स्वरुपको शक्ति निर्माण गर्ने तयारी हुनेछ। अथवा त्यो तय भइसकेको छ।
नेपालमा नमर्ने दुई मुद्दाः स्वाधीनता र समाजवाद
दलहरू विघटन हुन सक्छन्, प्रायोजित शक्ति पतन हुन सक्छन् तर दुई मुद्दा नेपालमा कहिल्यै मर्दैनन्—स्वाधीनता र समाजवाद। किनकि नेपाली समाजको दीर्घ समाधान भनेकै यही हो। स्वाधीनता देशको अस्तित्वको प्रश्न हो। समाजवाद सामाजिक–आर्थिक अन्तर्विरोध समाधानको ऐतिहासिक खोज हो। आज विश्व पुनः ध्रुवीकृत हुँदै छ—युक्रेन युद्ध, मध्यपूर्व संकट, अमेरिका—युरोप विवाद, विश्वभरि अमेरिकाले जारी राखेको दादागिरी, भारत–चीन प्रतिस्पर्धा, एआई र साइबर युद्धले राज्यको अर्थ नै बदल्दै छ। यस्तो अवस्थामा नेपालमा यी दुई मुद्दामाथि दबाब पर्नु स्वाभाविक हो। समाजको स्थायी समाधानमाथि हमला गरिरहेको सत्ता र शक्तिविरुद्ध धु्रवीकरण हुनेछ। यसले नेपाललाई नयाँ चरणमा लैजानेछ।
आगामी ८–१० वर्षः संकटको समय
अब कुनै चमत्कार वा समाधान भएन र देखिएका प्रक्रियामा देश अगाडि बढ्यो भने आगामी दशक नेपालका लागि सजिलो छैन। राजनीतिक अस्थिरता, आर्थिक संकट, बेरोजगारी, जलवायु परिवर्तन, खाद्य संकट—यी सबै एकअर्कासँग गाँसिएर आउनेछन्। श्रीलंका, पाकिस्तान, बंगलादेशका संकटले देखाइसकेका छन—राज्य कमजोर हुँदा संकट फैलने गति तीव्र हुन्छ। विभिन्न चरण— उपचरणमा देश राज्य दमन, राष्ट्रघात, जातीय र धार्मिक हिंसा, हत्याकाण्ड, विभिन्न विद्रोह, गृहयुद्धको प्रक्रिया झेल्न नेपाल विवश हुनेछ। यसमा भू राजनीतिक टकराव तीव्रतामा खुल्लमखुला देखिनेछ।
सम्भावनाको ढोका अझै खुला छ
इतिहास केवल विनाशको कथा मात्र होइन। यदि अहिले नै संसदवादी दल, क्रान्तिकारी शक्ति, न्यायप्रेमी र अग्रगामी शक्तिले गहिरो आत्मसमीक्षा गर्दै, भू—राजनीतिक यथार्थलाई सही ढंगले बुझेर, एकताबद्ध बन्दै राष्ट्रिय शक्ति निर्माण गरेर स्वाधीनता र समाजवादको मुद्दामा जनतालाई अपिल गर्ने वस्तुगत आधार जीवित छ।
नयाँ कथ्यमा उनिएका जेलेनेस्किपथिय हावामाथि हस्तक्षेप गर्न सके, यो संक्रमणलाई निकास दिन सकिन्छ। तर, नेताहरूको अहंकार, चरम दलाली र रवैया हेर्दा यो देशले एकपटक गम्भीर विघटनको सामना गरेर लयमा आउने हो कि भन्ने पनि उत्तिकै लागिरहेको छ। नत्र अब स्वाधीनता र समाजवादी समाधान चाहाने शक्तिको निम्ति दीर्घ संघर्ष अपरिहार्य हुनेछ।
आशावादः राजनीतिक शक्ति
आशावाद भावुकता होइन—यो ऐतिहासिक जिम्मेवारी हो। परिस्थितिको दबाबले नेतृत्वलाई गम्भीर निर्णय लिन बाध्य पार्नेछ भन्ने आशा राख्न सकिन्छ। आत्मसंकुचन तोडेर देशलाई अपिल गर्ने तागत पुनः जन्मिनेछ। आज पश्चिमा लहरमा विशाक्त बनेर बगिरहेको नेपाली समाजलाई गम्भीर दुर्घटनाबाट बचाउन हामी सक्षम हुनै पर्छ नेताहरू सबैको बेलैमा बुद्धि आओस्, फागुन २१ अगावै। म आशावादी छु। नेपाल बाँच्नेछ— नेपाल बचाउने कार्यभार सजिलै होइन, सचेत संघर्षबाट मात्र पूरा गर्न सकिन्छ।
(लेखक नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य हुन्।)