आफैलाई भुलेर आफैलाई खोज्नुपर्ने
आफ्नै सपनाहरू भुलेर सपनाहरू खोज्नुपर्ने
जीवनले कस्तो कस्तुरीको मोहर खोल्यो
आफ्नै हातहरू झुकाएर सहारा खोज्नुपर्ने।।
जीवनलाई जीवन सिकाउन आफै सकिनुपर्ने
आफैलाई भाषा बुझाउन आफै लाटो हुनुपर्ने
जीवनले कस्तो कलाकार बनाएरै छाड्यो
आफू आफै हुनलाई नाटककार बनाएर छाड्यो।
मायाको स्वरूपमा अस्तित्वको अङ्गार भेटिन्छ
आफैमा खोजी हिँड्दा अन्तरमा दरार देखिन्छ
जीवनले कस्तो प्रकारको दृष्टि बनाएर छाड्यो
आफ्नै आँखाहरूले आफैलाई देख्न छाड्यो।
आफ्नै पाइलाहरूमा आफ्नै चाहना भेटिँदैन
आफ्नै जीवन रोहवरमा छ-कस्तो जीवन चलिरहेछ
आफ्नै जीवन भन्दै-भन्दै जीवन पराधीन भयो
आफ्नै हो भन्दै-भन्दै कसको पो भयो जीवन।।
खुशीहरू सापट लिनुपर्ने, जीवन तिर्नै गाह्रो भयो
सपनाहरू रोज्नुपर्ने, आफ्नै आँखा घाडो भयो
नयाँ प्रकारको चेत पलायो, आवाज नै बन्द भयो
आफैलाई भन्दा-भन्दै आफ्नै जीवन नाटक भयो !
– दिनेश घिमिरे
विरुवा, भक्तपुर