झापा – जिल्ला प्रहरी कार्यालय झापामा भर्खरै सरुवा भएर आएकी प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काले सीमा नाकामा हुने कुनै पनि किसिमका अवैध गतिविधि र तस्करी नियन्त्रणलाई मुख्य प्राथमिकता दिने बताएकी छन्।
जिल्ला प्रहरी कार्यालय झापामा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले आफ्नो कार्ययोजना प्रस्तुत गरिन्।
झापा आफ्नो लागि पहिलो सीमावर्ती जिल्ला भएको बताउँदै उनले सीमा नाकामा हुने कुनै पनि किसिमका अवैध गतिविधि र तस्करी नियन्त्रणलाई मुख्य प्राथमिकता दिने स्पष्ट पारिन्।
पत्रकारहरूसँगको संवादमा एसपी खड्काले भनिन्, ‘म चुनौती र अवसर दुवै कुरालाई सामना गर्ने अठोटका साथ झापा आएकी हुँ। जहाँ चुनौती हुन्छ, त्यहाँ अवसर पनि लुकेको हुन्छ।’

उनले झापाको विशिष्ट आवश्यकतालाई बुझेर नै प्रहरी प्रधान कार्यालयले आफूलाई कमाण्डरका रूपमा खटाएको उल्लेख गर्दै आफ्नो क्षमतामा आफू अब्बल रहेको र नेतृत्व कुशलतापूर्वक सम्हाल्ने बताइन्।
पूर्व प्रहरी प्रमुख राजन लिम्बूको सरुवालाई लिएर भइरहेका विभिन्न टीकाटिप्पणी र सरकारको आलोचनाप्रति लक्षित गर्दै उनले आफ्नो आगमनलाई नियमित प्रक्रियाको रूपमा बुझ्न आग्रह गरिन्।
‘मेरो सरुवा पूर्ण रूपमा नियमित प्रक्रिया हो, यसमा कुनै पनि प्रकारको शंका नगर्न म सबैमा अनुरोध गर्दछु,’ उनले बताइन्।

अहिलेको विषम परिस्थितिमा शान्ति सुव्यवस्था कायम राख्नु नै आफ्नो प्रमुख दायित्व भएको एसपी खड्काको भनाइ छ। उनले आगामी प्रतिनिधि सभाको चुनावलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनु प्रहरीको मुख्य कार्यभार रहेको बताइन्।
जिल्लाको सुरक्षा अवस्था मजबुत बनाउन नागरिक, सञ्चारकर्मी र सरोकारवाला सबैको साथ र सहयोगको अपेक्षा राख्दै उनले सुरक्षा व्यवस्थामा कुनै सम्झौता नगर्ने दृढता व्यक्त गरिन्।