- एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका चन्द्र भण्डारीबीचको प्रतिस्पर्धामा रास्वपाका सागर ढकालको प्रवेशले गुल्मीमा चुनावी चाप बढाएको छ।
- ढकालले अघिल्लो चुनावमा डडेलधुरा पुगेर स्वतन्त्र उम्मेदवारी मार्फत १३ हजार भन्दा बढी मत पाएका थिए।
- गुल्मी १ मा सातवटा पालिकाका सबै वडा समेटिएका छन्, जसमा १ लाख २२ हजार १८६ मतदाता छन्।
काठमाडौँ– एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका चन्द्र भण्डारीको सदाबहार प्रतिस्पर्धामा रास्वपाका सागर ढकालको प्रवेशले गुल्मी क्षेत्र नम्बर १ को चुनाव तरंगित भएको छ।
राष्ट्रिय राजनीतिमा आआफ्नो पहिचान बनाएका भण्डारी र ज्ञवाली निर्वाचन क्षेत्रमा भने २०६४ सालदेखिका प्रतिस्पर्धी हुन्। चुनावी प्रतिस्पर्धामा लुकामारी गर्दै दुई नेता आसन्न फागुन २१ गतेको चुनावमा भने थप दबाबमा परेका छन्।
अघिल्लो चुनावमा डडेलधुरामा पुगेर तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र रुपमा उम्मेदवारी दिएर १३ हजार भन्दा बढी मत पाएका ढकाल यसपटक जन्मथलो गुल्मी सोझिए।
देउवालाई राजनीतिबाट विस्थापित गर्ने आफ्नो एजेण्डा कांग्रेसको विशेष महाधिवेशनले पूरा गरेको भन्दै फेरि डडेलधुरा जान लागेका ढकाल जन्मथलोमै उम्मेदवार बनेर कांग्रेस-एमालेको प्रतिस्पर्धामा छिरेका छन्।
राष्ट्रिय रुपमा पहिचान बनाएका र युवालाई राजनीतिमा प्रवेश गर्नुपर्छ भन्ने आइकन बनेका ढकाल प्रभावशाली नेताहरू भण्डारी र ज्ञवालीको प्रतिस्पर्धामा छिर्दा गुल्मी १ को चुनाव परिणाम अनुमान नै लगाउन नसकिने अवस्थामा पुगेको दलका कार्यकर्ताहरु बताउँछन्।
अघिल्ला चुनावमा कुनै न कुनै दलसँग गठबन्धन गरेर गुल्मीमा आफ्नो उम्मेदवार खडा गर्ने साविक माओवादी हालको नेकपाले पनि यसपटक सुर्दशन बराललाई चुनावी मैदानमा अघि सारेको छ। संविधानसभा सदस्यसमेत भइसकेका बराल कांग्रेस-एमालेको प्रतिस्पर्धामा रास्वपा छिर्दा त्यसको फाइदा लिने दाउमा छन्।
गुल्मीको राजनीतिमा चासो राख्नेहरु रास्वपा उम्मेदवार ढकालले ल्याउने मत सबैजसो कांग्रेस-एमालेबाट काटिने हुँदा बरालले आफ्नो मत जोगाउँदा प्रतिस्पर्धी बन्न सक्ने बताउँछन्।
भण्डारी र ज्ञवालीको द्विपक्षीय प्रतिस्पर्धामा सधैँ जसो तीन हजारभन्दा कम मतको हारजित हुँदै आएको अवस्थामा यसपटक चुनावी प्रतिस्पर्धा चौपक्षीय हुन पुगेको कांग्रेसका एक जिल्लास्तरीय नेता बताउँछन्।
डडेलधुरा जस्तो विकट क्षेत्रमा देउवाविरुद्ध स्वतन्त्र उभिएर १३ हजार मत ल्याएका ढकाल आफ्नो जन्मभूमिमा रास्वपाको देशव्यापी रापतापका बेला प्रतिस्पर्धामा जाँदा अरु दल उम्मेदवार झन दबाबमा छन्।

चुनावी क्षेत्रका जानकारहरु ढकालले सत्यवती गाउँपालिकाको आफ्नो घर भएको ठाउँमा कांग्रेसको मत भारी मात्रामा काट्छन् भने बढीगाड खोला पारी रहेको मावलीतिर एमालको एकलौटी भोट बैंकमै धावा बोल्ने संभावना छ। ज्ञवालीको घर भएको रुरु गाउँपालिका नेकपाले जितेको हुँदा बराल बलिया छन्।
गुल्मी १ को चुनावमा ज्ञवाली र भण्डारी आमन्ने सामान्ने भएको यो पाँचौँपटक हो। २०६४ सालको संविधानसभा सदस्य चुनावदेखि नै दुई नेता ‘आलोपालो’ गरेर संसद भवन प्रवेश गरेका छन्। अघिल्ला चार चुनावमध्ये दुईले दुई/दुईपटक जित हासिल गरेका थिए।
१ लाख २२ हजार १८६ मतदाता रहेको गुल्मी क्षेत्र नम्बर १ मा सातवटा पालिकामध्ये ६ वटाका सबै वडा र रेसुङ्गा नगरपालिकाको ८ वटा वडा पर्छन्। रेसुङ्गाको वडा नं ७ देखि १४ सम्मका वडाहरु क्षेत्र १ नम्बर क्षेत्रमा समावेश छन्। त्यस्तै कालीगण्डकी, सत्यवती, चन्द्रकोट, रुरुक्षेत्र, छत्रकोट र गुल्मीदरबार गाउँपालिकाका सबै भुभाग समेटिएका छन्।
कस्तो छ भण्डारी-ज्ञवालीको प्रतिस्पर्धाको विगत?
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा भण्डारी ज्ञवालीलाई पराजित गर्दै जम्मा एक हजार पाँच सय ९२ मतको अन्तरले विजयी भए। निर्वाचन आयोगका अनुसार भण्डारीले ३३ हजार ७४४ मत पाउँदा ज्ञवालीले ३२ हजार १५२ मत ल्याएका थिए।
२०७४ को चुनावमा भने ज्ञवाली ७ हजार ५५८ मत बढी ल्याएर निर्वाचित भएका छन्। एमाले र माओवादी केन्द्रबीच चुनाव गठबन्धन हुँदा ज्ञवालीले त्यसबेला मतान्तर बढाएका थिए। आयोगको रेकर्डले प्रदीपले ३७ हजार ८१४ मत पाउँदा भण्डारीले ३० हजार २५६ मत ल्याएका थिए।
२०७० को संविधान सभा निर्वाचनमा तत्कालीन अवस्थामा गुल्मी २ मा पर्ने यो क्षेत्रबाट भण्डारी निर्वाचित भएका थिए। त्यस बेला गुल्मी तीनवटा क्षेत्र कायम थियो। २०७० को चुनावमा भण्डारी २१ हजार १८९ मतका साथ विजयी हुँदा ज्ञवाली १८ हजार ६८१ मतमा सीमित भएका थिए जुन भण्डारीको पहिलो संसदीय यात्रा थियो। एमालेको गढका रुपमा परिचित गुल्मीमा कांग्रेसले जितको झण्डा गाडेको थियो।
२०६४ सालमा भएको पहिलो संविधानसभा चुनावमा पनि ज्ञवाली र भण्डारी प्रतिस्पर्धामा थिए। त्यस बेला ज्ञवालीले २३ हजार २५३ मत ल्याउँदा भण्डारीले २१ हजार १०१ मत पाएका थिए। त्यस बेला पनि मतान्तर दुई हजार १५२ मात्रै थियो।
२०५६ सालको आम निर्वाचनमा पनि ज्ञवाली गुल्मी २ बाटै निर्वाचित भएका थिए। त्यस बखत कांग्रेसका चन्द्रबहादुर केसीलाई झिनो मतले पराजित गर्दै सांसद बनेका थिए। आयोगका अनुसार ज्ञवालीले २४ हजार ३४५ मत जित्दा केसीले २३ हजार ६६९ मत पाएका थिए।