चुनावी प्रचारमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह र एमाले अध्यक्ष केपी ओलीमा देखिएको सबैभन्दा महत्त्वपूर्ण समानता के हो भने दुवै अपार अहंकारले भरिएका छन्। दुवै जनाको व्यवहार, वचन र चालढालमात्र होइन, अनुहार र त्यसको आभा पनि अहंकारको मुस्लोले ढाकिएको छ। उनीहरू दुवै जनामा सुक्ष्म अहंकारको यति भयंकर भारी छ जसले हृदयमा रहेका सानातिना गुणहरू खोज्नै नसकिने गरी पुरिदिएका छन्।
बालेनको प्रश्नहरूको सामना गर्नै शैली पनि ठ्याक्कै केपी ओलीको जस्तो छ। घमण्डको तेजले दुवै जना प्रश्नकर्तालाई यसरी कर्के नजरले हेर्छन्, मानौँ अब ऊ त्यसमा जलेर खरानी भइहाल्छ। मानौँ नेपालमा प्रश्नहरू पूर्णतया: वर्जित छन्। अथवा कमसेकम प्रधानमन्त्रीका दाबेदार भनी आफूलाई घोषणा गरेका नेताहरूलाई प्रश्न गर्न पाइने छैन।
गुट्खा व्यापारीको महँगो गाडी चढेर तिलस्मी कथाका राजामहाराजाहरूको शैलीमा हुइँकिने बालेन त्यही गाडीको बारेमा सोधिएका प्रश्नमा भाग्छन्। भागिरहेका छन्। पत्रकारहरूसँग जम्काभेट भयो भने ओलीजसरी नै ओठे जवाफ दिन्छन्। यही कारण कतिपयले ओलीजसरी नै बालेनलाई पनि ‘दुर्मुखा’ भन्ने गरेका छन्।
केपी ओलीले पनि व्यापारीले दिएका करोडौँको अवैध दानबारे प्रश्न उठाउने आफ्नै दलका नेताहरूलाई कारबाहीको सिस्नुले हानेका थिए। आफ्नो काम गर्ने शैलीबिरुद्ध प्रश्न उठाउने नेताहरूलाई चुनावी टिकट बाँड्ने क्रममा उनले त्यसरी नै लोप्पा ख्वाइदिए जसरी बालेनले काठमाडौँका दीनदुखीहरूलाई उठ्ने नसक्ने गरी थला पारिदिएका थिए। ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्ने भाका गाउँदै उनले आफैँ सहरका निमुखाहरूको पेटमा लात मारे। हृदयमा करूणाको थोपासम्म नभएका केपी ओलीकै पथमा छन् बालेन।
सुक्ष्म अहंकार बढो खतरनाक हुन्छ। आफूबाहेक अरूलाई झिँगाजत्ति पनि गन्दैन यसले। आफू नै सर्वेसर्वा भन्ठान्छ। उसले प्रश्नहरू रुचाउँदैन, आफूलाई प्रश्न गर्नेहरू उसका दृष्टिमा भयंकर ठूला पथभ्रष्टहरू हुन्।
कतिपय सुक्ष्म अहंकारीमा नार्सिसिस्ट पर्सनालिटी डिस्अर्डर हुने सम्भावना पनि हुन्छ। मानसिक समस्याहरूको रिफरेन्स बुक ‘आइसिडी ११’ का अनुसार यो डिस्अर्डर भएका व्यक्तिहरू आफूलाई अरूभन्दा विशेष वा उच्च ठान्छन् र सधैं अरूको ध्यान खोजिरहन्छन्। यस्ता व्यक्तिमा अरूको भावना, आवश्यकता वा दृष्टिकोणलाई बुझ्ने क्षमतामा कमी हुन्छ। उनीहरू अरूको दुःखमा खासै चासो दिँदैनन्। उनीहरू आफूलाई नियमभन्दा माथि ठान्छन् र आफूले चाहेको कुरा बिना कुनै मेहनत वा कारण तुरुन्तै पाउनुपर्छ भन्ने मान्यता राख्छन्।
जनताहरूलाई हेप्ने शैली र अहंकारको मुस्लोले केपी ओली निर्वस्त्र भए। हरेक विषयमा जथाभावी बोलेर आफ्नो अहंकार प्रदर्शन गर्थे उनी। चुनावी प्रचारप्रसारका क्रममा विपक्षी भिडको धुलोले होला सायद, अनुहारको रङ केही फिका छ तर अहंकारमा कुनै कमी छैन।
बालेनको संसारमा प्रश्नहरू वर्जित छन्। पूर्णतया: वर्जित। प्रश्नले भरिएको आँखामात्र कसैले देखायो भने पनि बालेन र उनका अंगरक्षकहरू बहुतै अप्रसन्न हुन्छन्। मानौँ – सामुन्नेवालाले कुनै ठूलै अपराध गरिरहेको छ। कुनै पनि विषयमा उनी केही पनि बोल्दैनन्। कुनै पनि विषयमा उनको कुनै धारणा छैन। कथंकथाचित उनको मुखबाट बोली फुटिहाल्यो भने केवल अहंकारको भाषा हुन्छ त्यो।
केपी ओलीकै ‘भर्सन २.०’ बनेर बालेन नेपालीका नेता बन्न सक्लान्?
बालेनले केपी ओलीसँग मञ्च साझेदार नगर्ने भन्दै अनौपचारिक रूपमा प्रधानमन्त्रीका उम्मेदवारहरुबीच प्रस्तावित डिबेट अस्वीकार गरे। तर, त्यस्तो डिबेट अरू कोहीसँग भए पनि बालेन आउने थिएनन्। उनी डिबेटहरूभन्दा माथि छन्। उनी प्रश्नहरूभन्दा माथि छन्।
उनीसँग आफू प्रधानमन्त्री चुनिएँ भन्ने के गर्ने भन्ने प्रश्नको कुनै जवाफ छैन। उनी खालि छन्। निरुत्तर। हृदयमा करूणा र पारदर्शिता शून्य छ। अँध्यारो कोठामा बसेर उज्यालोको गीत गाउन सकिँदैन।
उनीसँग आफू प्रधानमन्त्री चुनिएँ भन्ने के गर्ने भन्ने प्रश्नको कुनै जवाफ छैन। उनी खालि छन्। निरुत्तर। हृदयमा करूणा र पारदर्शिता शून्य छ। अँध्यारो कोठामा बसेर उज्यालोको गीत गाउन सकिँदैन।
देश विकास गर्ने उनको योजना के हो? पुराना दलहरूभन्दा उनी कसरी फरक छन्? यसको कुनै जवाफ छैन उनीसँग।
एउटा महानगरको मेयरको जिम्मेवारी पनि उनले हाँक्न सकेनन्। काठमाडौँ सहरलाई उनले देखाएका सयौँ सपनाहरू त्यत्तिकै हराए।
प्रश्नहरूबाट भागेर कुनै योजना र भिजनबिना देशको प्रधानमन्त्री उनले कसरी हाँक्न सक्छन्? उनले कमसेकम म निर्वाचित भएँ भने के गर्छु भन्नु पर्दैन?
महानगरमा हुँदा एउटा वडाध्यक्षको सामान्य प्रश्नको सामना गर्न नसक्ने र चुनावी मैदानमा हुँदा जनताका सामान्य प्रश्नको सामना गर्न नसक्ने व्यक्ति कसरी प्रधानमन्त्री हुन सक्छ?
पारदर्शिता, जवाफदेहीता र करूणा एउटा नेताका लागि आधारभूत गुण हुन्।
करूणाको थोपो देखिँदैन बालेनमा, सार्वजनिक कार्यक्रमहरूमा हुम्म फुलेको अनुहार र अहंकारले भरिएको आभाले उनको हृदयको तस्बिर देखाउँछ।
पारदर्शिता र जवाफदेहीता शून्य छ।
आफूलाई जनतामाझ साबित गर्नुपर्ने चुनावी मैदानमा हुँदा पनि बालेन यति गैरजिम्मेवार र अपारदर्शी छन् भने भोलि राज्य सञ्चालन गर्ने जिम्मेवारीमा पुगे भने उनले कुन हदसम्म गैरजिम्मेवार र अहंकारी चरित्र प्रस्तुत गर्लान्?
एक्लै हिँड्ने रहरले केपी ओलीलाई कमजोर बनायो। एक्लै हिँड्ने रहरले संसारका थुप्रै तानाशाहहरू इतिहासको पानामा हराए। एक्लै हिँड्ने रहरले संसारका थुप्रै नेताहरू जनताको नजरमा खसिरहेका छन्। आफू बाँचेको सानो कुवालाई नै अपरिमित साम्राज्य ठानेर कहिँ पुग्न सकिँदैन। सामान्य प्रजातान्त्रिक चरित्रसम्म नभएको व्यक्ति प्रजातान्त्रिक समाजको शासक बन्न सक्दैन। अरूलाई सुन्न नसक्ने र आफ्ना आलोचना नसहने व्यक्तिले देश हाँक्न सक्दैन। केपी ओलीकै अर्को संस्करण बनेर विकसित नेपालको नेता बन्न सकिँदैन।
धेरै समानता हुँदाहुँदै केपी ओली र बालेनमा एउटा भिन्नता के छ भने ओलीलाई अब सच्चिन गाह्रो छ। उमेरका कारणले उनको ‘भावनात्मक स्वास्थ्य’मा अब सुधार आउने सम्भावना निकै न्यून छ।
बालेन युवा छन्। चालिस पनि पुगेका छैनन्। उनी सच्चिन सक्छन्। युवा उमेरमा ‘भावनात्मक स्वास्थ्य’ बदल्न सकिन्छ। यदि देश र जनताका लागि राजनीतिमा आएका हुन् भने उनले आफ्नो व्यवहारमा परिवर्तन ल्याउनैपर्छ। अहंकारको विमान चढेर तिलस्मी कथाको राजकुमारजसरी म अजेय बन्छु भन्ने भ्रमले बालेन कहिँ पनि पुग्न सक्दैनन्।