कवि, निबन्धकार तथा पेन नेपालका अध्यक्ष भीष्म उप्रेतीको एकल कविता वाचन कार्यक्रम ‘आवाज र अनुभूति’को दोस्रो शृङ्खला काठमाडौँमा सम्पन्न भएको छ।
शनिबार शनिबार नेशनल कलेज, धुम्बाराहीको प्रेक्षालयमा शिखा बुक्स प्रा.लि. र सारांश, नेपालको संयुक्त आयोजनामा आयोजित उक्त कार्यक्रम अपराह्न ३ बजेदेखि १ घन्टासम्म सञ्चालन भएको थियो।
कवि विश्व सिग्देलले कवि भीष्म उप्रेतीको परिचय प्रस्तुत गरेपछि कवि उप्रेतीले कविता वाचन शुरु गरेका थिए।
उक्त एकल कविता वाचन कार्यक्रममा कवि भीष्मले मानिसले जीवनमा भोग्नुपरेका विविध पक्ष, मानिसका जीजिविषा, सपना, असन्तुष्टि, जीवनबोध तथाआफूभित्रको आन्तरिक अवलोकन, युद्धको त्रास र त्यसको विरोध, प्रकृतिका विविधता, जीवन र समयबोध, मानिस र प्रकृतिको सम्बन्ध एवम् प्रेम लगायतका विविध विषयसँग सम्बन्धित ३६ वटा कविताहरू कवि, लेखक, समालोचक तथा पाठकहरूको गरिमामय उपस्थितिमा वाचन गरेका थिए। उनका कवितामा यी विषयलाई मिहिनतापूर्वक गहन प्रस्तुति गरिएको थियो।
कार्यक्रममा ३ सय ५० रुपैयाँको प्रवेश टिकटको व्यवस्था गरिएको थियो जसले कविताको मूल्य हुन्छ भन्ने कुरालाई साङ्केतिक रूपमा जनाएको थियो।