- नसर्ने राेग वृद्धि भएकाले सरकार र नागरिक समाज मिलेर स्वस्थ जीवनशैलीको शिक्षा दिनु पर्ने प्रस्ताव राखिएको छ।
- क्षेत्रगत समन्वयको अभाव, कमज弱 नियमन, र उपभोक्तामा सचेतनाको कमी नसर्ने राेग नियन्त्रणमा चुनौति बनेको छ।
- बढ्दो अस्वस्थ खानपान र जीवनशैलीले लुम्बिनीमा नसर्ने राेगका कारण मृत्यु दर उच्चस्तरमा पुगेको छ।
नेपालगन्ज – नसर्ने राेग बढिरहेकाले समुदायस्तरमा स्वस्थ जीवनशैली र खानपानबारे शिक्षा दिनु पर्ने सराेकारवालाले बताएका छन्। उपभोक्ता हित संरक्षण मन्च, नेपालले आयाेजना गरेकाे नसर्ने राेगकाे राेकथामसम्बन्धी नागरिक समाजकाे पैरवी तथा सराेकारवालासँगकाे अन्तरक्रिया कार्यक्रममा सहभागीले लुम्बिनीमा नसर्ने राेगकाे जाेखिम बढेकाे बताए।
नसर्ने राेगकाे चुनाैतीमा नीति र नियमकाे प्रभावकारी कार्यान्वयनमा कमी, कमजाेर नियमन र अनुगमन प्रणाली, उपभोक्तामा सचेतनाकाे कमी, क्षेत्रगत समन्वयको अभाव रहेकाे बताइएकाे छ।
सहभागीले स्वास्थ्यमैत्री निर्माणका लागि सरकारलाई दबाब दिने, हानिकारक उत्पादनकाे विज्ञापन र बिक्री वितरणकाे अनुगमन गर्ने, समुदायस्तरमा स्वस्थ जीवनशैली र खानपानबारे शिक्षा दिने, सरकारी प्रतिबद्धताकाे कार्यान्वयन भए नभएकाे लेखाजाेखा गर्ने कुरामा नागरिक समाजकाे भूमिका हुनुपर्ने बताए।
लुम्बिनी प्रदेश याेजना आयाेगका अध्यक्ष डा. डिल्लीराज अर्यालले लुम्बिनीमा नसर्ने राेगका कारण मृत्युु हुनेकाे संख्या अधिक रहेकाे बताए।
उपभोक्ता हित संरक्षण मन्चका अध्यक्ष ज्याेति बानियाले सूर्तिजन्य पदार्थबाट प्रतिवर्ष ३९ हजार ७ सय जनाकाे मृत्यु हुने गरेकाे बताए। उनले मदिरा, विषादी र नुनकाे बढी सेवनले नसर्ने राेग बढिरहेकाे बताए।
विश्व स्वास्थ्य संगठनका शंकुक भट्टले नेपाली भान्सामा नुनकाे मात्रा दाेब्बर प्रयाेग भइरहेकाे बताए। उनले याे प्रदेशमा ९४.४५ प्रतिशत मानिसले सिफारिस अनुसार खानु पर्ने सागसब्जी र फलफूल सेवन नगर्ने बताए।
भेरी अस्पताल, नेपालगन्जका नर्सिङ प्रमुख आशा पन्थले पछिल्लाे जीवनशैली , खानपानले गर्दा नसर्ने राेगका विरामी बढिरहेकाे बताइन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्जका नेत्रा बाेगटीले अस्वस्थ खानेकुरा बजारमा बिक्रीमा कडाई गरिरहेकाे बताइन्।
मन्चसम्बद्व वसन्त गाैतम, प्रभातसिंह ठकुरी, सुरेश गाैतम, उच्च बारका अध्यक्ष पवन गुप्ता, नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष नवीन गिरीले खानपिनमा ध्यान, जीवनशैली परिवर्तन र नियमित व्यायाम गर्दा नसर्ने राेगबाट बच्न सकिने बताए।