- मधेस प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनका सबै चार उम्मेदवार निर्वाचित भएका छन्।
- नेता महन्थ ठाकुरले ७७२५ अंकभार प्राप्त गरी जसपा नेपालबाट विजयी भएका छन्।
- अपाङ्गता/अल्पसंख्यक समूहमा कांग्रेसका रंजित कर्ण ८०९३ अंकभार प्राप्त गरेर निर्वाचित भए।
जनकपुरधाम – राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मधेस प्रदेशमा गठबन्धनका चारैजना उम्मेदवार निर्वाचित भएको छ।
आइतबार विभिन्न चार समुहको चार सिटका लागि मतदान भएकोमा अन्यमा जनता समाजवादी पार्टी (नेपाल)का संरक्षक महन्थ ठाकुर, महिलामा नेकपा एमालेकी रेखा झा, दलितमा नेपाली कांग्रेसका धमेन्द्र पासवान र अपाङ्गता भएका/अल्पसंख्याक समुहमा कांग्रेसकै रंजित कर्ण निर्वाचित भएका छन्।
जसपा नेपालका नेता महन्थ ठाकुरले ७ हजार ७ सय २५ अंकभार (मत) प्राप्त गरेर निर्वाचित भएका छन्। उनका प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का लक्ष्मण पौडेलले १ हजार ८ सय ५ अंकभार प्राप्त गरेका छन्।
महिला समुहमा एमालेकी रेखा झाले ७ हजार २ सय २२ अंकभार ल्याएर निर्वाचित भएकी छन् भने उनकी निकटम प्रतिद्वन्दी नेकपाकी शमीकुमारी अग्रवालले १ हजार ९ सय ४४ र जसपा नेपालकी चन्द्रकला देवी साहले ३२२ अंकभार मत प्राप्त गरेकी छन्।
अपाङ्गता÷अल्पसंख्यक समुहमा कांग्रेसका रंजित कर्णले ८ हजार ९३ अंकभार भएको मत पाएका हुन्। उनका प्रतिद्वन्दी नेकपाका रामनन्दन प्रसादले १ हजार ३ सय ६१ र जसपा नेपालका शैलेश कुमार चौधरीले २७७ अंकभार भएको मत पाएका छन्।
दलित समुहमा कांग्रेसका धर्मेन्द्र पासवान ७ हजार ९०४ अंकभार भएको मत पाएर निर्वाचित भएका छन्। उनका प्रतिद्वन्दी नेकपाका शम्भु पासवान हजारीले १ हजार ३७६ अंकभार भएको मत प्राप्त गरेका छन्। यस्तै, जसपा नेपालकी चमेली देवी दासले २०९ अंकभार भएको मत प्राप्त गरेकी हुन्। जसपा नेपालले अन्य बाहेकका तीन उम्मेदवारलाई निस्क्रिय गरेको थियो।