काठमाडौँ– कठ्याङ्ग्रिदो पुसको एक बिहान। पिठ्युँमा बच्चा बोकेर आफ्नै बारी डुलिहिँडेकी छिन्- २२ वर्षीया सुमित्रा चौधरी। उनैले रोपेको काउलीले फूल हालिसकेको छैन।
काउली फूलेपछि त्यसलाई बेच्नुछ। त्यसैले त उनी हेरेक दिन खेतबारी पुग्छिन्। बारीमा लगाइएको काउली, काक्रालगायत तरकारीको हेरचाह गर्छिन्। केही समयदेखि उनको दैनिकी यस्तै गरी बितिरहेको छ।

बर्दिया राजापुर नगरपालिकाकी उनी १९ वर्षकी हुँदा विवाह बन्धनमा बाँधिइन्। जतिबेला उनी ११ पढ्दै थिइन्। विवाहपछि पनि उनले पढाइ छाडिनन्, १२ पास गरिन्।
हुन त उनको परिवारमा अहिले मात्र तरकारी खेती गरेको होइन। यसअघि पनि तरकारी खेती हुने गरेको थियो। तर, त्यो केवल घरमा खानकै लागि मात्र थियो। तरकारी खेतीसँगै उनी नदीखालामा माछा मार्न जाने, घारायसी काममै समय बित्ने गरेको थियो।
तर, अहिले भने उनी सबै काम छाडेर तरकारी खेतीमा आकर्षित भएकी छन्। माछा मार्नु हुँदैन भन्ने सुनेपछि माछा पनि मार्न छाडेको उनी बताउँछिन्। ‘पहिला त जान्ने बुझ्ने भएदेखि समय हुँदा नदीतिर जाने माछा मर्ने, मारेर छिमेकीलाई दिने, पढ्न जाने, घरको काम गरेर समय बित्ने गर्थ्यो’, उनले भनिन्, ‘एक दिन यसरी गाउँमा माछा मार्न सधैँ जानू हुन्न भनेर आउनु भयो। बिस्तारै समूह बन्यो। त्यो समूहमा म पनि बसेँ। कुरा बुझ्दै जादा आफूलाई हो भन्ने लाग्यो।’

उनी अहिले तरकारी खेतीबाट खुसी रहेको बताउँछिन्। ‘मलाई पहिलादेखि आफूले जानेको वा गरिरहेकोमध्ये तरकारी लगाउन मन लाग्थ्यो। त्यसले पनि मैले व्यवसायी रूपमा यसलाई रोजेँ’, उनले भनिन्।
सुमित्रा अहिले बेमौसमी तरकारी खेती पनि गर्दै आइरहेकी छन्। तर, विषादी प्रयोग गर्दिनन् उनी। ‘तरकारी रोपेपछि धेरै ध्यान दिनुपर्ने रहेछ। मैले सिकिरहेको छु। हामीले त विषादी पनि हाल्दैनौँ’, उनले भनिन्।
व्यावसायिक तरकारी खेतीमा लागेपछि नदीमा माछा मार्ने समय नमिलेको उनले बताइन्। ‘मलाई खेतीमा मेरो सासू-ससुरा र घर आएकाबेला श्रीमान्ले पनि सहयोग गर्नु हुन्छ’, उनले भनिन्।

उनलाई अहिले तरकारी खेतीमा मात्र समय दिएर हुँदैन। बच्चा पनि सानै छ। घरमा जग्गा पनि कम छ। त्यसमै उनी जति सक्यो त्यतिमा खेती गरिरेहकी छन्। तर, बच्चा ठूलो भयो भने अझै धेरै क्षेत्रमा व्यावसायिक तरकारी खेती गर्ने सोच रहेको उनले बताइन्।
उनका श्रीमान् पल्म्बरको काम गर्छन्। राजापुरकै बुद्धिसिंह थारू पनि तरकारी खेतीमै दैनिकी बिताइरहेका छन्। घरछेउको जग्गामा काउली, काक्रालगायतका तरकारी फलेका छन्।

उनी टनेल खेतीमार्फत तरकारी खेतीलाई अझ व्यावसायिक बनाइरहेका छन्। ‘उमेर भइसक्यो अरू गर्नेभन्दा आफूले पहिलादेखि घर खानको लागि भए पनि रोप्ने गरेको तरकारीलाई अब व्यवसायी रूपमा रोप्न थालेको हुँ’, उनले भने।
पहिले-पहिले मौसमी तरकारीखेतीमा मात्र गर्ने उनी अहिले बेमौसमी तरकारी खेती गर्दै आइरहेका छन्। तरकारी खेतीबाट घर खर्चको लागि आम्दानीको बाटो भएको उनले बताए।

कर्णाली नदीमा ओत संरक्षणका लागि समुदायको जीविकोपार्जन तथा अभिभावकत्व सबलीकरण परियोजनाअनुसार उनीहरूले सीप सिकेका थिए। त्यसबाटै केही सहयोग पाएपछि व्यावसायिक तरकारी खेती गरेको बुद्धिसिंहले बताए।
