याज्ञवल्क्यद्वारा मैत्रेयीलाई आत्मज्ञानको उद्‌बाेधन

याज्ञवल्क्यद्वारा मैत्रेयीलाई आत्मज्ञानको उद्‌बाेधन
+
-
देशसञ्चार AI सारांश
  • शुक्लयजुर्वेदका ईशावास्य र बृहदारण्य उपनिषद्मा वैदिक दर्शनका महत्त्वपूर्ण विषयहरू र आत्मज्ञानको चर्चा गरिएको छ।
  • ऋषि याज्ञवल्क्यले मैत्रेयीलाई धनले अमरता प्राप्त हुँदैन भन्ने व्याख्या गर्दै आत्मज्ञानको महत्त्व समझाएका छन्।
  • याज्ञवल्क्यको उपदेश अनुसार आत्मालाई देख्न, सुन्न, मनन र ध्यान गर्नुपर्ने भनेका छन्, जसले तत्त्वज्ञान हुन्छ।

शुक्लयजुर्वेदमा दुई उपनिषद् छन्– ईशावास्योपनिषद् र बृहदारण्यकोपनिषद्। ईशावास्योपनिषद् मन्त्रसंहितामा परेकाले (शुक्लयजुर्वेदमन्त्रसंहिताको चालिसौँ अध्यायका रूपमा रहेकाले) मन्त्रोपनिषद् हो भने बृहदारण्यकोपनिषद् चाहिँ शुक्लयजुर्वेदको ब्राह्मणभाग अर्थात् शतपथब्राह्मणअन्तर्गत रहेकाले ब्राह्मणोपनिषद् हो। यी दुबै उपनिषद्का माध्यन्दिनीय र काण्व दुई शाखाका दुई थरी पाठ वर्तमान समयमा पाइन्छन्।

शुक्लयजुर्वेदको शतपथब्राह्मणअन्तर्गत पर्ने बृहदारण्यकोपनिषद्-मा ऋषि याज्ञवल्क्यसँगको विस्तृत दार्शनिक चर्चा-परिचर्चा छ। यहाँ आएका विभिन्न प्रसङ्ग र संवादबाट वैदिक दर्शनका महत्त्वपूर्ण विषयवस्तुहरू स्पष्ट भएका छन्। यसअघिको गार्गी र याज्ञवल्क्यको प्रश्नोत्तरबाट तत्त्वनिरूपण भन्ने शीर्षकको लेखमा (२०८२।८।१४) याज्ञवल्क्यको वैदिक ज्ञानको श्रेष्ठताका विषयमा र ब्रह्माद्वैतसिद्धान्त-मा केही प्रकाश पारिएको थियो। यस लेखमा पनि आत्माको अमरता र अन्य वस्तुको क्षणभङ्गुरताका विषयमा ऋषि याज्ञवल्क्यले आफ्नी पत्नी मैत्रेयीलाई गरेको आत्मज्ञान विषयको उद्बोधन प्रस्तुत गरिँदै छ।

शतपथब्राह्मणको (चौधौँ काण्डमा) अथवा बृहदारण्यकोपनिषद्को (दोस्रो अध्यायको चौथो ब्राह्मण र चौथो अध्यायको पाँचौँ ब्राह्मणमा) एउटा प्रसङ्गमा याज्ञवल्क्यले आफ्नी पत्नी मैत्रेयीसित गरेको आत्मज्ञानसम्बन्धी महत्त्वपूर्ण संवाद आएको छ। “याज्ञवल्क्यका दुई पत्नी मैत्रेयी र कात्यायनी थिए भन्ने कुरा प्रसिद्ध छ। तीमध्ये मैत्रेयी ब्रह्मवादिनी (वेद-वेदाङ्गादि शास्त्र पढ्ने खालकी) थिइन् भने कात्यायनी साधारण स्त्रीस्वभावकी थिइन्” भन्दै यो प्रसङ्ग बृहदारण्यकोपनिषद्-मा सुरू गरिएको छ। त्यहाँको मूल वाक्य यस्तो छ–

अथ ह याज्ञवल्क्यस्य द्वे भार्ये बभूवतुर्मैत्रेयी च कात्यायनी च तयोर्ह मैत्रेयी ब्रह्मवादिनी बभूव स्त्रीप्रज्ञैव तर्हि कात्यायनी। (बृहदारण्यकोपनिषद् ४।५।१)

यहाँ विवाहिता स्त्री मैत्रेयीलाई ब्रह्मवादिनी भनिएको छ। त्यसैले ‘आजीवन ब्रह्मचर्यमा बस्ने स्त्रीलाई मात्र ब्रह्मवादिनी भन्दछन्, विवाहिता स्त्रीलाई ब्रह्मवादिनी भन्दैनन्’ भनेर कतिपय व्यक्तिले लेखेको कुरा सत्य हैन। संस्कृत वाङ्मयमा ठाउँठाउँमा विवाहिता गृहिणीलाई पनि ब्रह्मवादिनी भनेर सम्बोधन गरिएको छ। धेरैजसो स्त्रीको स्वभाव राम्रो लगाउन, मिठो खान र शृङ्गार गर्न मनलाग्ने खालको प्रकृतिले नै बनाइदिएको छ। त्यस्ता अधिकांश स्त्रीहरूलाई लिएर ‘स्त्रीप्रज्ञा’ भन्ने शब्दको प्रयोग हुने गरेको हो।

तथापि केही दुर्लभ स्त्रीहरू वेदवेदाङ्गादि शास्त्र पढ्न खोज्ने र शास्त्रीय विषयमा रमाउन खोज्ने पनि हुन सक्छन्। त्यस्ता स्त्री विवाहिता वा अविवाहिता जेजस्तो अवस्थामा भए पनि तिनलाई शास्त्रमा ‘ब्रह्मवादिनी’ भनिएको हो। योनि-विद्या-तपःपूत कुलमा जन्मेका त्रिशुक्ल ब्राह्मणका द्विजातिस्त्रीहरूले वेदवेदाङ्गादि शास्त्र पढ्न सक्ने र वेदमन्त्रोच्चारण गर्न सक्ने कुरा हाम्रा पिताजी सुगृहीतनामा शिवराज आचार्य कौण्डिन्न्यायनले प्राचीन कालका शबरस्वामी, कुमारिलभट्ट, आद्य शङ्कर इत्यादिजस्ता सारै नै ठुला विद्वान्हरूका समेत व्याख्या-टीकामा उल्लेख भएका कुरालाई पनि मूल शास्त्र वेद, वेदाङ्ग कल्पसूत्र, व्याकरण, वेदोपाङ्ग धर्ममीमांसा, ब्रह्ममीमांसा र तदनुसारका युक्तिका आधारमा निराकरण गर्दै “द्विजातिकन्योपनयनविचारः” भन्ने अत्यन्त विद्वत्तापूर्ण लेखमा प्रतिपादन गर्नुभएको छ (सारस्वती सुषमा, अनुसन्धानात्मक पत्रिका, सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, वाराणसी, वर्ष ४५, अङ्क ३–४, २०४७ )।

याज्ञवल्क्यका दुई पत्नीमध्ये एक पत्नी मैत्रेयी ब्रह्मवादिनी भएको कुरा उपनिषद्को उक्त वाक्यबाट स्पष्ट हुन्छ।

यस्ता स्थितिमा याज्ञवल्क्यले आफू गृहस्थाश्रमबाट सन्न्यासाश्रममा जान लागेको हुनाले आफूसित रहेको सम्पत्ति दुई पत्नीका बिचमा बाँड्न चाहेको कुरा जेठी पत्नी मैत्रेयीलाई सुनाउँछन्–

अथ ह याज्ञवल्क्योऽन्यद् वृत्तमुपाकरिष्यन्, मैत्रेयीति होवाच याज्ञवल्क्यः प्रव्रजिष्यन् वा अरेऽहमस्मात् स्थानादस्मि हन्त तेऽनया कात्यायन्याऽन्तं करवाणीति। (४।५।१–२, द्रष्टव्य– २।४।१)

अर्थात्– त्यसपछि ऋषि याज्ञवल्क्यले (जीवनको) अर्को प्रकारको चर्याको (अवस्थाको वा सन्न्यासाश्रमको) प्रारम्भ गर्ने इच्छा गर्दै मैत्रेयीलाई भने ‘हे मैत्रेयी, म यस स्थानबाट (गृहस्थाश्रमबाट) अन्यत्र (प्रव्रज्यामा) जाँदै छु। त्यसैले, म तिमीलाई कात्यायनीसित छुट्याइदिन (सम्पत्ति बाँडिदिन) चाहन्छु।’

आफ्नी सौता कात्यायनीसित आफ्नो अंशबण्डा गरिदिने पतिको यस्तो कुरा सुनेर विदुषी मैत्रेयी पतिसित सोध्दछिन्– “भगवन्, धनधान्यले परिपूर्ण भएको सारा पृथ्वी मैले पाएँ भने त्यसबाट म अमर हुन्छु कि हुन्न?” यस प्रश्नको उत्तरमा याज्ञवल्क्यले स्पष्ट शब्दमा धनसम्पत्तिले (धनसम्पत्तिका आधारमा गर्न सकिने कर्मले पनि) अमरता प्राप्त गर्न सकिँदैन भनेका छन्। उनी भन्दछन्– “हुँदिनौ, साधनसम्पन्न (भोगसामग्रीले युक्त) व्यक्तिको जीवन जस्तो हुन्छ, त्यस्तै जीवन तिम्रो पनि हुन्छ, धनधान्यले अमरताको आशा गर्न त सकिँदैन।” यही कुरा बृहदारण्यकोपनिषद्-मा यसरी व्यक्त गरिएको छ–

सा होवाच मैत्रेयी यन्नु म इयं भगोः सर्वा पृथिवी वित्तेन पूर्णा स्यात् स्यां न्वहं तेनाऽमृताऽऽहो३ नेति, नेति होवाच याज्ञवल्क्यो यथैवोपकरणवतां जीवितं तथैव ते जीवितं स्यादमृतत्वस्य तु नाऽऽशाऽस्ति वित्तेनेति। (४।५।३, द्र.– २।४।२)

यस प्रकारको याज्ञवल्क्यको उत्तर सुनेपछि मैत्रेयी पुनः भन्दछिन्– “जुन वस्तुले म अमर हुन सक्दिन, त्यसद्वारा मैले के गरौँला र? तसर्थ जुन कुराले म अमर हुन सक्छु, त्यही कुरा मलाई श्रीमान्ले बताउनुहोस्” –

सा होवाच मैत्रेयी येनाऽहं नाऽमृता स्यां किमहं तेन कुर्यां यदेव भगवान् वेद तदेव मे ब्रूहीति। (२।४।३, ४।५।४)

मैत्रेयीका यस कुराबाट ऋषि याज्ञवल्क्य अत्यन्त प्रसन्न भए र उनलाई आत्माका विषयमा बताए भन्ने प्रसङ्ग बृहदारण्यकोपनिषद्-मा त्यसपछि आएको छ–
स होवाच याज्ञवल्क्यः प्रिया वै खलु नो भवती सती प्रियमवृधद्धन्त तर्हि भवत्येतद् व्याख्यास्यामि ते व्याचक्षाणस्य तु मे निदिध्यासस्वेति ।। (४।५।५, द्र.– २।४।४)

अर्थात्– ऋषि याज्ञवल्क्यले भने ‘तिमी मेरा लागि पहिला पनि प्रिय नै थियौ र अहिले (अमरताका विषयमा जिज्ञासा राखेपछि) तिमीले मेरो प्रिय (प्रसन्नता) लाई अझै बढाइदिएकी छौ। त्यसैले हे देवी, म तिमीलाई त्यस अमृतत्वको साधनको व्याख्या गर्नेछु। मैले व्याख्या गर्दै गर्दा तिमी अर्थको निश्चय गरेर ध्यान गर’। त्यसपछि याज्ञवल्क्यले संसारका सबै व्यक्ति वा वस्तु ती व्यक्तिका वा वस्तुका मायाले प्रिय लागेका हैनन्, आफ्नै निम्ति भएकाले ती प्रिय लागेका हुन् भन्दै त्यस आफूको (आत्माको) व्याख्या गरेका छन्। यो कुरा बृहदारण्यकोपनिषद्-मा यसरी स्पष्ट पारिएको छ–

स होवाच न वा अरे पत्युः कामाय पतिः प्रियो भवत्यात्मनस्तु कामाय पतिः प्रियो भवति। न वा अरे जायायै कामाय जाया प्रिया भवत्यात्मनस्तु कामाय जाया प्रिया भवति। न वा अरे पुत्राणां कामाय पुत्राः प्रिया भवन्त्यात्मनस्तु कामाय पुत्राः प्रिया भवन्ति। न वा अरे वित्तस्य कामाय वित्तं प्रियं भवत्यात्मनस्तु कामाय वित्तं प्रियं भवति। न वा अरे पशूनां कामाय पशवः प्रिया भवन्त्यात्मनस्तु कामाय पशवः प्रिया भवन्ति। न वा अरे ब्रह्मणः कामाय ब्रह्म प्रियं भवत्यात्मनस्तु कामाय ब्रह्म प्रियं भवति। न वा अरे क्षत्रस्य कामाय क्षत्रं प्रियं भवत्यात्मनस्तु कामाय क्षत्रं प्रियं भवति। न वा अरे लोकानां कामाय लोकाः प्रिया भवन्त्यात्मनस्तु कामाय लोकाः प्रिया भवन्ति। न वा अरे देवानां कामाय देवाः प्रिया भवन्ति। आत्मनस्तु कामाय देवाः प्रिया भवन्ति। न वा अरे भूतानां कामाय भूतानि प्रियाणि भवन्ति आत्मनस्तु कामाय भूतानि प्रियाणि भवन्ति। न वा अरे सर्वस्य कामाय सर्वं प्रियं भवत्यात्मनस्तु कामाय सर्वं प्रियं भवति। (२।४।५, ४।५।६)

अर्थात्– “पतिको कामनाका (प्रसन्नताका वा प्रयोजनका) लागि पत्नीलाई पति प्रिय हुने हैन, आफ्नै (आत्माकै) प्रयोजनका निम्ति पति प्रिय हुने हो। पत्नीको कामनाका (प्रसन्नताका वा प्रयोजनका) लागि पतिलाई पत्नी प्यारी हुने हैन, आफ्नै प्रयोजनका निम्ति पत्नी प्यारी हुने हो। पुत्रहरूको प्रयोजनका लागि मातापितालाई पुत्र (छोराछोरी) प्रिय हुने हैनन्, आफ्नै प्रयोजनका निम्ति पुत्र प्रिय हुने हुन्।

धनसम्पत्तिको प्रयोजनका लागि मानिसलाई धनसम्पत्ति प्रिय हुने हैन, आफ्नै प्रयोजनका निम्ति धनसम्पत्ति प्रिय हुने हो। पशुहरूको प्रयोजनका लागि मानिसलाई पशुहरू प्रिय हुने हैनन्, आफ्नै प्रयोजनका निम्ति पशुहरू प्रिय हुने हुन्। ब्राह्मणका प्रयोजनका लागि ब्राह्मण प्रिय हुने हैन, आफ्नै लागि ब्राह्मण प्रिय हुने हो। क्षत्रियका प्रयोजनका लागि क्षत्रिय प्रिय हुने हैन, आफ्नै लागि क्षत्रिय प्रिय हुने हो। लोकका निम्ति लोक, देवता का निम्ति देवता, वेदका निम्ति वेद र भूत (प्राणी) का निम्ति भूत प्रिय हुने हैनन्, आफ्नै लागि (आत्माकै लागि) ती प्रिय हुने हुन्। सबैको (सबै वस्तु वा व्यक्तिको) कामनाका (प्रसन्नताका वा प्रयोजनका) लागि सबै प्रिय हुने हैनन्, आफ्नो (आत्माको) प्रयोजनका लागि नै सबै प्रिय हुने हुन्” (काण्व बृहदारण्यकोपनिषद् ४।५।१–६, २।४।१–५, माध्यन्दिनीय शतपथब्राह्मण १४।७।३।१–६, १४।५।४।१–५)।

यसरी धेरै दृष्टान्त दिएर याज्ञवल्क्यले सबैलाई अति नै प्रिय लाग्ने त्यस आफूलाई (आत्मालाई) चिन्नुपर्छ भनेर आत्मज्ञानप्रति ध्यान आकृष्ट गरेका छन्। उक्त प्रसङ्गको अन्त्यमा उनको निष्कर्षरूप महत्त्वपूर्ण उपदेशवाक्य यस्तो छ–

आत्मा वा अरे द्रष्टव्यः श्रोतव्यो मन्तव्यो निदिध्यासितव्यो मैत्रेय्यात्मनो वा अरे दर्शनेन श्रवणेन मत्या विज्ञानेनेदं सर्वं विदितम्। (२।४।५, ४।५।६)

अर्थात्– “हे मैत्रेयी, आत्मालाई देख्नुपर्छ अर्थात् अनुभव गर्नुपर्छ (आत्मा दर्शन गर्न योग्य छ), [आत्मदर्शनका निम्ति] सुन्नुपर्छ (आत्मा [गुरुका मुखबाट] सुन्न योग्य छ), [सुनेपछि] मनन गर्नुपर्छ (आत्मा मनन गर्न योग्य छ) र [श्रवण र मनन गरेपछि] ध्यान गर्नुपर्छ (आत्मा निरन्तर ध्यान गर्न योग्य छ)। आत्मालाई सुनेपछि, मनन गरेपछि र जानेपछि सम्पूर्ण तत्त्व (रहस्य) जानिन्छ (तत्त्वज्ञान हुन्छ)।”

यसरी याज्ञवल्क्यले विभिन्न कुराहरू देखाएर तथा बुझाएर अन्त्यमा आफ्नी ब्रह्मवादिनी पत्नी मैत्रेयीलाई आत्मज्ञानको उपदेश दिए अनि आफू सन्न्यस्त भए भन्ने आख्यायिका (कथा) बृहदारण्यकोपनिषद्-मा आएको छ। यसबाट आत्मा सबैको केन्द्र र अविनाशी वा अमर तत्त्व हो, त्यसैले आत्मज्ञान गर्नुपर्छ, अन्य वस्तु नाशवान् भएकाले तिनका मोहमा परेर अमृतत्वबाट वञ्चित हुन हुँदैन भन्ने सन्देश प्राप्त हुन्छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?