काठमाडौँ – प्रा.डा.दयाराम श्रेष्ठद्वारा लिखित ‘इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्र’ नामक कृतिको आज राजधानीमा लोकार्पण गरिएको छ। वानीरा फाउन्डेसनद्वारा आयोजित समारोहमा प्रा.डा.वासुदेव त्रिपाठीले उक्त ग्रन्थ सार्वजनिक गरेका हुन्।
समारोहका प्रमुख अतिथि प्रा.डा.त्रिपाठीले नेपाली कथा साहित्यका प्रामाणिक समालोचक प्रा.डा. श्रेष्ठले कथाकार प्रसाईका कथामाथि गहिरो र न्यायपूर्ण समालोचना गरेको उल्लेख गर्दै यस कृतिले नेपाली समालोचनालाई समृद्ध बनाएको बताए।
कृतिका लेखक प्रा.डा. श्रेष्ठले प्रसाईका कथाको सौन्दर्यशास्त्रको विवेचना र मीमांसा गरिएको यस पुस्तकमा कथासम्बन्धी आफ्नो सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतारिएको बताए। उनले यस कृतिलाई आफ्नो प्रयोगात्मक अध्ययनको नमुना भएको स्पष्ट पारे।
कार्यक्रममा कथाकार प्रसाईले प्रस्तुत ग्रन्थलाई आफ्नो लेखन यात्राको स्वर्णिम उपलब्धिका रूपमा लिएको बताइन्।
वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक इन्जिनियर शङ्कर गिरीको सभापतित्वमा सम्पन्न समारोहमा फाउन्डेसनका उपाध्यक्ष प्रा.डा.ऋषिराम शर्मा र सदस्य-सचिव नरेन्द्रराज प्रसाईले कृतिबारे प्रकाश पारेका थिए।