क्षणिकी: श्रीमतीलाई नुहाइदिँदा

क्षणिकी: श्रीमतीलाई नुहाइदिँदा
+
-
देशसञ्चार AI सारांश
  • शीर्षकले दर्शाएको भावनाबारे तपाईँको प्रतिकृया साहित्यिक चेतसँग मेल नखाएको हो भने माफी चाहन्छु।
  • तीजको समयमा श्रीमतीको हात भाँचिएपछि संगै समय बिताउनुपर्दा आफूलाई एप्रेन्टिस महशुस गर्न थालेँ।
  • तीजको दिनमा मिली-जुली जीवन जिउनको अर्थ के हो भन्ने कुरा थाहा पाएँ।

यो शीर्षक पढ्ने बित्तिकै पक्कै पनि तपाईँ मलाई कस्तो निर्लज्ज, बेहया, मात्तिएको, छिल्लिएको, पातकी, लाज सरम पचेको, गतिछाडा, नकच्चरो, बदतमिज, सेमलेस यस्ता आदि इत्यादि अनेकौँ शब्दहरूले आशीर्वाद दिनुहुन्छ होला । यदि त्यसो गरिहाल्नुभयो भने बुझ्नुस्, तपाईँ अत्यन्त प्रस्ट तर सोझो पथगामी, स्ट्रेट फर्वार्ड प्राणी हो । तपाईँका आँखालाई अँधेरी (ब्लाइन्डर्स) को खाँचो नपर्ने रहेछ । अझ यस शीर्षकले कतै पीडा, वेदना, संवेग वा त्योभन्दा पनि परका शब्दातीत भावनाहरूलाई जसोतसो अभिव्यक्त गर्न खोजेको त हैन ? भनेर शङ्का गर्न सक्नुभएन भने बुझ्नुस् तपाईँको साहित्यिक चेत मेरोभन्दा पनि कच्चा छ । यी साहित्यकारहरूले ‘कहीँ पे निगाहेँ, कहीँ पे निशाना’ गरेको म फिटिक्कै पत्तो पाउँदिनँ । यिनको गुलेलीले एकैचोटि धेरैओटा मट्याङ्ग्रा हिर्काउँदो रहेछ । मेरो निबन्धको शीर्षक त के बताऊँ ? अत्यन्त निर्मल छ ।

अझ कसैकसैले त भन्नुहोला, “यो कस्तो फटिचर लेखक रहेछ ? स्नानगृहको कुरा पनि निबन्धको बिषय बन्छ ?” म त के जानौँ ? निबन्धका बादशाह भनिएकाहरूले लेखेको पढेको थिएँ – आफ्नो मनमा फड्फडाउने कुराहरू फुलबुट्टा भरेर लेख्यो भने निबन्ध बन्छ रे । मेरो पनि मन बेस्सरी फड्फडायो आज । त्यसैले लेख्दै छु ।

हिन्दू नारीहरूको महान् पर्व तीजको मौसम परेकाले छरछिमेक, रेडियो, टेलिभिजन, पार्टी प्यालेसहरूतिरबाट ‘ओई बाटुली …’, ‘अरेली काँडैले …’, ‘आइन आमा ओई …’ जस्ता गीत एकैचोटि गुजुल्टिँदै कानमा ठोकिइरहेका थिए । यस्तो बेलामा मन त फुरुक्फुरुक् गरेर नाच्छ, शरीरको त कुरै नगरौँ । डेगै चल्दैन । गर्मीले रापिएर पोखरीमा पसेको भैँसीले झैँ आराम फर्माइरहन्छ । न गोडा थर्काउने कला छ, न कम्मर मर्काउने कला छ । कस्तो कलाविहीन मान्छे म ! यसपालिको कुरा बिछट्टै बेग्लै थियो । तपाईँलाई के ‘सस्पेन्स’ मा राख्नु ? कथा, उपन्यास, नाटक, सिनेमा भए पो सस्पेन्सको पनि मजा हुन्छ । निबन्ध त बतास हो, जता मन लाग्यो उतै बग्छ । आफ्नै रहरले मोडिन्छ । त्यसैले यसमा सस्पेन्सको जरूरी छैन । न ट्विस्ट हुन्छ, न क्लाइमेक्स र एन्टी क्लाइमेक्सको जादू हुन्छ । सोझै भनिदिन्छु । सुन्नुस् ।

दर खाने दिनको एकाबिहानै श्रीमतीजीले हात ठ्याङ्ङ पारेर भाँचिन् र मेरो मनमुटु नै खुत्रुक्क पारिन् । हात भाँचिनुका पनि त के–के विधि कारण हुन्छन् । उनी एउटा कारणको फन्दामा परिन् । ठुलो प्रयत्नले चर्केको–मर्केको ठाउँ निर्क्यौल गरे र काप्रो बाँधेर कक्रक्क पारिदिए । मलाई त्यस दिन मेरो जीवन नै ठिँगुरोमा हालेजस्तो भयो । उनको हात होइन, हाम्रो जीवन नै निमेषभरमा काप्रोले कर्‍याप्प पारेर अँठ्याएजस्तो लाग्यो । जस्तो कि बरियो छिनेको नाम्लो झैँ बेकामे भएँ म ।

नचिताएको घटनालाई दुर्घटना भन्छन् । दिन बिग्रिँदा सँघारमा ठेस लागेर मरिन्छ रे । त्यस्तै त भयो । घरैभित्रको कुरा हो । लर्किने खुट्टा, चर्किने हात भयो । उनको मनलाई सान्त्वना दिन एकचोटि हँस्यौली पनि गरेँ । “यो त ठुलै षडयन्त्र गर्‍यौ प्रिये ! दर भनेको नि ‘रातो भाले क्वाएँ क्वाएँ, सुत्केरीलाई ख्वाएँ’ भनेजस्तै त हो नि । तिम्रा बहानाले यी जुँगावादी मुखले पनि स्वादिलो भोजन गर्दा हुन् । आज त एकादशी परेजस्तै हुने भयो ।” उनका मोतीभन्दा महङ्गा आँसु भुइँमा झरेर गुमनाम भए । तपाईँलाई भनुँ ? धेरै वर्ष पछि आँखाको डिलभन्दा भित्रैपट्टि बसेर रोएँ म पनि । मेरा ओभाना आँसुले एक मुठी समुद्र भरियो ।

भोलिपल्ट हरितालिका तीज । हिन्दू नारीहरूका लागि अपार महिमाको दिन । नारीहरूको प्रतिवद्धता, अठोट, दृढता, समर्पण वा अरू जेसुकै भन्नोस्, यसलाई नारीको हठ् भनेर अवमूल्यन गर्दा उनीहरू भत्किँदा रहेछन् । यस दिन उनी व्रत बस्छिन् नै, पार्वतीको पूजा अर्चना गर्छिन् नै । यसमा मैले चाहेर पनि अड्चन ल्याउन सक्दिनँ । उनको आस्थाप्रति म बलमिच्याँई गर्न सक्दिनँ । आफ्नै प्रियाको हृदयमा चोट पुर्‍याएर न पुरुषवादी होइँदोरहेछ, न त प्रगतिवादी नै कहलिँदोरहेछ ।

आजको कार्यक्रमको पहिलो अजेन्डा थियो – प्रातःकालीन स्नान ।

यक्षप्रश्नमा यक्षले युधिष्ठिरलाई सोधेका प्रश्नहरूमध्ये एउटा प्रश्न थियो, “पानीभन्दा पातलो के हुन्छ ?” अनि युधिष्ठिरको उत्तर थियो, “पानीभन्दा पातलो ज्ञान हुन्छ ।” त्यसो भए भौतिक पदार्थहरूमध्ये सबैभन्दा पातलो त पानी नै ठहरियो । यस्तो पातलो पानीलाई स्नानका बेला त्यो काप्रोमा प्रविष्ट हुनबाट रोक्ने जुक्ति सोच्नु मेरालागि चुनौती भयो । उनैले भनिन्, “म हात माथि फर्काउँछु । तपाईँ ध्यानपूर्वक मलाई नुहाइदिनुहोस् । पानी आफ्नै बलले माथितिर बग्दैन । केही सानातिना छिटालाई त प्लाष्टिक बेरेर पनि छेकौँला ।”

पानीभन्दा पातलो मेरो ज्ञानको बिर्को उघ्रियो ।

हात माथि उठाउँदाको उनको दारुण पीडा छर्लङ्गै देखिन्थ्यो । बरू ऐनाले ढाँट्ला, अनुहारले ढाँट्दैन । म, साहसी र बलिष्ठ ठानिएको पुरुष, त्यस्तो अवस्थामा भएको भए त्यस पीडाका सामुन्ने आफ्ना सबै निष्ठा र कर्महरू समर्पण गरिदिन्थेँ । उनी त कोमल नारी, तैपनि आफ्नो सहनशीलताको प्रदर्शन गरिरहिन् । मनभन्दा शरीर बलियो नहुँदोरहेछ ।

नारीहरूले तीजको व्रत, उपासना गर्नु अघि नै त्यसबाट प्राप्त हुने सबै फलहरू, पतिको दीर्घ आयु, स्वस्थ शरीर, सन्तान सुख आदि सबै परिवारका नाउँमा बकसपत्र गरिदिएका हुन्छन् । उनीहरूलाई त सौभाग्यवती हुन पाइरहे पुग्यो । लौ हेर्नुस् त ! यस्तो निस्वार्थ प्रेम, त्यागको म कसरी वर्णन गरूँ ?

वास्तवमा यो चराचरलाई हृदयले शासन गर्दोरहेछ, मैले बल्ल बुझेँ। यो हृदय जति पग्लियो, द्रवित भयो उति संसार मुलायम हुँदोरहेछ । हृदय भनेको सङ्गीत रहेछ, जसको भाषा ‘युनिभर्सल ल्याङ्ग्वेज’ हो । नबुझ्दा नबुझ्दै पनि सबैथोक बुझिने । म खै्ययाम साहेबलाई छेउमा राखेर ‘रजिया सुल्तान’ का गीत सुन्दैछु । नारायण गोपालसँग कफी पिउँदै लालीगुराँस फुल्दैछु ।

जब उनलाई नुहाइदिन थालेँ, पालो त शिरकै पहिले आउँछ । चारकोसे झाडीजस्तो घना केशराशिलाई भिजाएर जब स्याम्पु दलदाल गर्न थालेँ, त्यो कपाल पटक्कै सम्हालेर सम्हालिएन । भेँडाले चरेको डाँडाजस्तो आफ्नो नाङ्गो टाउको नुहाए झैँ के हुन्थ्यो ? न फिँज उठ्छ, न मयल जान्छ । कस्तो सीप नभएको तन्नम भिखारी रहेछु ?

साथीभाइहरूले गीतकार भनेर मेरो सानोतिनो परिचय बनाइदिएका थिए, आज त्यो पनि फिर्ता लिनुपर्ने भयो । यही घना बादलजस्तो केशलाई बिम्ब बनाएर कति तारिफयोग्य गीतहरू बने । गीतकारहरूलाई निधारको टीका, आँखाको गाजल, लोलाएका नयन, चुराहरूको सङ्गीत, छिनेको कम्मर, मृगको जस्तो चाल, केही पनि देख्न हुन्न । गीत फुराइहाल्छन् । म तिनै घना केशराशिको बिम्बलाई हातमा लिएर बैराग मान्दैछु । जसोतसो गरेर कपाल पखालिदिएँ अनि गुजुल्टो पारेर थन्काइदिएँ । दुखाइको चरम रन्कोमा उनलाई शायद पत्तो भएन । भ्रमपूर्वक यही मेरो भरोसा थियो । महादेव हुँदो हुँ त म पनि मेरी गङ्गालाई आफ्ना जटाजूटमा धारण गरेर हिँड्दो हुँ । ढङ्ग नभएको म जस्तो पाङ्दुरेले गर्ने गफ यस्तै हुन् ।

नारीलाई मानिसहरू देवी स्वरूपा मान्दछन् । या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता … ! यो त देवीका भजनमण्डलीहरूले निर्माण गरेको भाष्य हो । यसलाई उल्ट्याएर उच्चारण गर्नुपर्छ । देवीहरूले यदाकदा एक–दुईटा असुरहरूको वध गरेर आफ्ना मायावी पतिका साथ सुखपूर्वक रहँदा भए । पृथ्वीलोकमा जुन महाजञ्जाल छ, त्यसलाई निर्भयताका साथ च्यात्ने नारी स्वयम् महादेवी हुन् । दुर्गाका अष्टभुजा यिनका दुई भुजामा समाहित छन् । यो अक्षुण्ण चेतना आज मलाई तब आउँदै छ जब म भावनात्मक पीडाको धारिलो घुम्तीमा छु । माया, ममता, प्रेम र त्यसभित्रका अन्योन्याश्रित तडपहरू जस्ता कालजयी विषयहरूले जीवनलाई जति छुन्छन्, लेखनमा पनि तिनको छुवाइ उत्तिकै रमरमाउँदो हुन्छ । नत्र उनको कुइनो चर्किँदा मेरो हृदय पनि किन चर्किन्छ ? किन कलमको मसीले आँसु लेख्छ ? आफ्नै मर्जीले बग्दा पनि खोला किन सुसाउँछ ?एउटै जून ताप्यौँ, एउटै रातको सिरानी हालेर निदायौँ । यद्यपि केही रंजिस, केही मनमुटावबिनाको यो जिन्दगी त कहाँ हो र ?

अब पालो थियो लुगा लगाउने । काप्रो कँसेको हातमा सजिलै छिर्ने बाहुला भएको लुगा कहाँ भेटाऊँ ? हावादार लुगा पखेटाझैँ फर्फराउँदै समुद्रतटमा जाने चलन भए पो त्यस्तो लुगाको जोगाड गर्नु । सागको मुन्टो पखाल्न पानी नपुग्ने हरिकङ्गाल सहरमा बसेर समुद्रतटको कुरा गरेर समुद्रलाई नै के गिज्याउनु ? बरू एउटा कुर्थाको बाहुला उधारिदिएँ धरर्र । बाहुलाका जति टाँचा धर्र धर्र गर्दै उध्रिए, त्योभन्दा हजार गुना बढी टाँचा मेरो मनका उध्रिए । म अलि बिघ्न भावुक, सेन्टिमेन्टल, इमोशनल के–के जाति भएको हुँ कि ? यस्ता घटना त दिनहुँ कति घट्छन् कति ? हैट् ! तैपनि मनले मानोस् त मरिजाउँ !

आज त मेरालागि एप्रेन्टिसको पहिलो दिन जस्तै भएको छ । पराजित आत्माले काम चल्दैन । यो वैरीसरह हुन्छ । आत्मैव रिपुरात्मनः (श्रीमद्भागवत्गीता ६.५) म तम्सिएको छु आफ्नै भरोसाको परीक्षा लिन । उनी ‘ऐया’ भनेर बेस्सरी कराईन् । काँइयो पनि आज मेरो खेमाको परेनछ।

पुरूष हुँ भनेर दावा गरिरहनु पनि कठिन रहेछ । ऊ त केवल हार्डवेयर हुँदोरहेछ, सफ्टवेयर त सबै महिलाले सम्हाल्दा रहेछन् । भाषण गर्न जान्दछ पुरूष, सिद्धान्त निर्माण गर्छ, वकालत गर्छ, परिभाषा पनि बनाउँछ । तर परिभाषासँग पूर्ण चन्द्राकार हुने गरी एक कप चिया बनाएर पत्नीलाई खुसी पार्न नाकाम हुने गर्छन् धेरै पुरूषहरू । त्यसैभित्रको एउटा म पनि हुँ । सोच्छु, यो मेरो पुरूष हुनुको भावको दम्भ हो वा उनको मायाको कमजोरी ? सानोमा प्वाल परेको जेबीबाट ढ्याक पैसो हराउँदा बाटोभरि जसरी आँखा गाडेर पैसो खोज्थ्यौँ, हो त्यसैगरी हामी एक ज्यान भएको दिनदेखि आजसम्मको बाटोलाई मैले आँखा झिमिक्क नपारी दोहोर्‍याएर हेरेँ । मलाई यत्ति जान्नु थियो कि यस दूरीमा उनलाई पीडा हुँदा कतिपल्ट मैले मायाले स्पर्श गरेको रहेछु ।

माधव घिमिरेको एउटा बालकविता छ– भँगेरा र भँगेरी । ‘यौटा आँखो तँ हेरी, अर्को आँखो म हेरी’ भन्ने वाक्यले सहभागिता र सहकार्यको बुट्टा कुँदेको छ । मलाई लाग्छ यतिका बर्षसम्म मेरालागि अर्को आँखो पनि उनैले हेरिदिइन् । मेरा आँखा त अहिलेसम्म बस् ‘बोनाफाइड ब्याचलर’ झैँ स्वतन्त्र थिए । मनभित्र लुकेर मनमनै रुँदा पनि मन हलुङ्गो हुँदोरहेछ ।

खुसीको वर्णन त सजिलै हुन्छ । तर निरीहता बर्सिन नसकेको बादल जस्तै श्यामल हुन्छ जसको वर्णन पनि कठिन नै हुन्छ । एकचोटि फेरि उनले निरीह चेहरा, निरीह आँखा, निरीह भाव, निरीह स्वर, सबै निरीहताहरूबाट जुरुक्क उठेर अर्को एउटा प्रश्न गरिन्, “मेरो कपाल कोरिदिन सक्नुहुन्छ ?” आज मैले उनको मन छामेर यही बुझेझैँ कि मेरा समस्त सुखहरुको केन्द्रबिन्दु उनी नै रहिछन् । यस दुनियाँमा म सिवाय उनको अरू कुनै अडेसो छैन । पङ्ख लागेका अडेसाहरू भरोसाका हुँदैनन् । आज तीजको दिन । पोहोरका बर्षहरूमा उनी यही कपाललाई कति तरिका पारेर कोर्थिन् र चट्ट परेकी बाटुली माया हुन्थिन् । आज त्यो जिम्मेवारी मैले निर्वाह गर्नु छ ।

ईश्वरले छोरी नदिएर मप्रति अन्याय गरेको भन्ने गुनासो मनभरि भए पनि दुईटा पुत्र दिएकाले उनीप्रति कृतज्ञ नै छु । नदेखेका ईश्वरलाई न टोक्नु, न बोक्नु ? यदि छोरी हुँदी हो त कहिलेकाहिँ स्कुल जाँदा केश कोरिदिँदो हुँ र थारैथोरै तालिम पाउँदो हुँ । आज त मेरालागि एप्रेन्टिसको पहिलो दिन जस्तै भएको छ । पराजित आत्माले काम चल्दैन । यो वैरीसरह हुन्छ । आत्मैव रिपुरात्मनः ( श्रीमद्भागवत्गीता ६.५) म तम्सिएको छु आफ्नै भरोसाको परीक्षा लिन । उनी ‘ऐया’ भनेर बेस्सरी कराईन् । काँइयो पनि आज मेरो खेमाको परेनछ । बैगुनी पारा देखायो । कठिन जटामा अल्झियो काँइयो । न जटा फुस्किने, न काँइयो फुस्किने । नसोध्नुस् कुन तरकिबले चारकोसे झाडी छिचोलियो । चिथ्रैचिथ्रा भयो मन आफ्नै बेढङ्गले ।

अब आरोहणको अन्तिम टाकुरा बाँकी थियो, त्यो केशलाई कलात्मक पाराले गुजुल्ट्याउनु ।

अब कस्तो डिजाइन बनाइदिने होला ? पोनिटेल भन्छन्, बुफे भन्छन्, जुडा अरे, चोटी अरे । अङ्ग्रेजीमा ब्रेड भन्दारहेछन् । त्यो पनि सिम्पल ब्रेड, फिसटेल ब्रैड, फ्रेन्च ब्रेड, डच ब्रेड, स्पाइरल ट्विस्ट, नटेड ट्विस्ट अनेक थरिका । उनले भनिन्, “यताको कपाल उता लगेर क्लिपले अँठ्याउनुस्, उताको कपाल यतापट्टि ल्याएर क्लिपले अँठ्याउनुस् अनि …” उनी भन्दैरहिन् । केही व्यर्थ प्रयत्नहरूपछि मैले कपाललाई जुइनो बटारेझैँ बटारेर थाप्लामा लगिदिएँ र ठुलो क्लिपले बेस्सरी अँठ्याइदिएँ ।

“लौ बुढी, यसपालि त मैले ‘फ्ल्याट् ट्विस्ट’ पो बनाइदिएँ । खुबै सुहायो ।”

एकचोटि फेरि निरीहताको सहमति भयो । क्रिम लगाएर अनुहार चिल्लो पारिदिएँ । उनले एउटा हातले निधारमा रातो टीका लगाइन् । ओठमा बाङ्गोटिङ्गो पार्दै लाली लगाइन्। बाहुला उधारेको वस्त्रमाथि आभूषणको अर्थ थिएन ।

जाबो एक महिनाका लागि उनका हातमा काप्रो लगाइदिँदा सारा सृष्टिनै अरठ्ठ परेको महसूस गर्ने म महास्वाँठ पुरूषलाई के चेतना भयो भने लोग्ने–स्वास्नी, पति–पत्नी, श्रीमान्–श्रीमती, जोइ–पोइ जेसुकै भन्नोस्, यो साइनो बाँध्ने विधाताले सानोतिनो अनुसन्धान र चिन्तन नगरी बाँधेका हुँदै होइनन् । बाँचुन्जेली यस्तो चिपिक्क टाँसिने यो मायाको खोटो के गरी बनायौ विधाता ?

पोहोरका तिजहरूमा उनी सोह्र शृङ्गार गर्थिन्, चिटिक्क पर्थिन्, गहनाले छपक्कै हुन्थिन् र ठुलो स्वरमा गीत बजाएर नाच्थिन् । हामी भिडियो खिँच्नमा मग्न हुन्थ्यौँ । यसपालि तिनै भिडियोहरू दोहोर्‍याएर हेर्दैछौँ । जिन्दगी मदानी झैँ दुवैतिर घुम्दो हो त एउटा हातको नेती फुस्किँदा अर्को हातको बेरिने थियो ।

बुझ्दैछु, मानिसहरू पुराना एल्बम पल्टाएर आफ्नै जीवन हेर्नुको अर्थ ।

साँझपख फेसबुकमा उनको एउटा स्टाटस आयो ।

इति !

(शर्मा लिटिल एन्जल्स स्कुलका प्रिन्सिपल हुन्।)

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?