- नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेश शाखाले आगामी माघ १७ गते विराटनगरमा विभिन्न साहित्यिक पुरस्कारहरू वितरण गर्ने घोषणा गरेको छ।
- नरनाथ–नन्दकुमारी पोखरेल स्मृति पुरस्कार प्रा. डा. गोविन्दराज भट्टराईलाई नेपाली साहित्यमा बहुआयामिक योगदानका लागि प्रदान गरिनेछ।
- पाँच सदस्यीय पुरस्कार छनोट समितिले मधु पोखरेल र शिव अधिकारीलाई पनि विशिष्ट योगदानको लागि सम्मान गर्ने निर्णय गरेको छ।
विराटनगर- नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेश शाखाले मुक्तक दिवसको अवसरमा २०८२ सालका लागि प्रदान गरिने विभिन्न साहित्यिक पुरस्कारहरूको घोषणा गरेको छ।
प्रतिष्ठानका अध्यक्ष कवि तथा समालोचक बाबुराम पोखरेलका अनुसार आगामी माघ १७ गते विराटनगरमा आयोजना हुने विशेष समारोहमा ती पुरस्कारहरू प्रदान गरिनेछन्।
यस वर्ष नेपाल सरकारका सेवा निवृत्त सहसचिव तथा साहित्यकार सीताराम पोखरेलद्वारा स्थापित नरनाथ–नन्दकुमारी पोखरेल स्मृति पुरस्कार (रु. १५ हजार) नेपाली साहित्य, समालोचना, अनुवाद तथा प्राज्ञिक क्षेत्रमा बहुआयामिक र प्रभावशाली योगदान पुर्याएका प्रा. डा. गोविन्दराज भट्टराईलाई प्रदान गरिने भएको छ।
त्यस्तै, मनमाया दाहाल र उनका छोराछोरीहरूद्वारा स्थापित नन्दलाल दाहाल स्मृति साहित्य पुरस्कार (रु. १५ हजार) कविता, समालोचना, बालसाहित्य तथा अनुसन्धानमार्फत नेपाली साहित्यको प्रवर्द्धनमा निरन्तर सक्रिय साहित्यकार डा. कौशिला रिसाललाई अर्पण गरिने निर्णय गरिएको छ।
साहित्यकार तारानाथ पोखरेलले आफ्ना माता–पिताको स्मृतिमा स्थापना गरेको छमनादेवी–रामप्रसाद पोखरेल स्मृति पुरस्कार (रु. ११ हजार) पाँच दशकभन्दा लामो समयदेखि लेखन, सम्पादन र संस्थागत नेतृत्वमार्फत नेपाली वाङ्मयमा विशिष्ट योगदान पुर्याउँदै आएका साहित्यकार मधु पोखरेललाई प्रदान गरिनेछ।
यसैगरी, दिवंगत माधव पोखरेलका सन्तानहरूले स्थापना गरेको माधव–नर्मदा पोखरेल स्मृति साहित्य पुरस्कार (रु. ११ हजार) नेपाली मुक्तक साहित्यका समर्पित र विशिष्ट साधक शिव अधिकारी (इलामे जेठो) लाई प्रदान गरिने भएको छ।
नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेश शाखाका सचिव मदन भण्डारीका अनुसार प्रतिष्ठानद्वारा गठित पाँच सदस्यीय पुरस्कार छनोट समितिले मूल्यांकन गरी यी स्रष्टाहरूको छनोट गरेको हो।
प्रतिष्ठानले साहित्यिक योगदानको कदर गर्दै मुक्तक साहित्यको विकास र प्रवर्द्धनमा निरन्तर सक्रिय रहने जनाएको छ।