- नेपाली कांग्रेसको विघटन अवस्थाको कारण पार्टीको संस्थागत उपेक्षा र सभापति देउवाको निष्क्रिय प्रवृत्ति भएको चर्चा छ।
- कांग्रेसमा विधि र आदर्शको अभावले गर्दा पार्टीको नेतृत्वमा अराजकता र व्यक्तिगत स्वार्थको हाबी भएको बताइएको छ।
- भदौ २४ राष्ट्रिय संकटपछि पनि कांग्रेसले तत्काल सुधार प्रयास नगरेर यो अवस्था थप चुनौतीपूर्ण बनाएको हो।
नेपाली कांग्रेसकै बारेमा
(यद्यपि नेपाली कांग्रेसका बारेमा पंक्तिकारले विगत ३० वर्षहरूमा थुप्रै समालोचनात्मक विश्लेषणहरू गरिसकेको पृष्ठभूमिमा खास नयाँ थप्नुपर्ने विषयबस्तु भए पनि खग्रास ग्रहण लागेर अस्ताउने सूर्यलाई अर्घ र बत्ती दिने प्रयत्न मात्रै हो किनकि २५ जनवरी १९४७ का दिन कलकत्तामा कांग्रेस र नेपाल प्रजातान्त्रीक कांग्रेस एकाताबद्ध भई “नेपाली कांग्रेस” स्थापित भएको ७९ वर्ष पुग्दैछ । यो पितापुर्खाको २००७ देखिको तन, मन धन र जेल लगानीको कुनै भोगचलन र पदीय आकांक्षा नराख्ने अत्यन्त मिल्ने समूहको अन्तरआत्माको आवाज मात्र हो)।
चुरो समस्या
अहिलेका कुकुरको पुच्छर बाङ्गो देखेपछि हाँस्ने उरन्ठ्याउलो पुस्ताले चिनेको नेपाली कांग्रेस भनेको सायद सभापति शेरबहादुर देउवा र तिनको रातदिन परिक्रमा गर्नेहरूको अनुहार नै होला। तिनीहरूलाई कांग्रेस इतिहास, आदर्श र संस्थाहरूप्रति खासै चासो भएन। त्यसो त नेका नेतृत्व स्वयंले आफ्नो आदर्श मूल्य मान्यता र संस्थाको विग्रह र विचलनप्रति महत्त्व राख्छन् भन्ने सामान्य अनुभूति पनि बाँकी छैन, किनभने वर्तमान सभापति शेरबहादुर देउवा नेकाको सभापति भए यता (२०७२ चैत्रदेखि) करिब दश वर्षीय अवधिमा कांग्रेसको संस्थागत उन्नति के कति भयो? सायद सवैले देखेका भोगेका हुन्। होला, उनका २-४ जना आसेपासेहरू मन्त्री, सांसद्, राजदूत एवं हाकिम भएर २-४ करोड/अर्बको तलमाथि गरे। आजै कांग्रेसमा ‘विपी’भन्दा ‘ब्यक्ति’हरूको बोलवाला स्थापित भएको देखिएकै छ। अनि कांग्रेस केन्द्रीय समितिलगायत पुराना कांग्रेसी महोदयहरूलाई राम्रै थाहा छ कि नेकामा ‘ब्यक्तिबादी’ हुँकार २०४८ को किसुनजीलाई हराउनेदेखि नै शुरु भएको थियो। तीमध्ये कैयन अझै पनि देउवाकै वरिपरि छन् । नेकाको २०४८ देखिको विग्रहको पराकाष्ठा २०५८र२०५९ मा पुग्यो।
अव दिवंगत भइसकेका ब्यक्तिहरूको बारेमा खासै चर्चा गर्नु आवश्यक छैन, तर बाँचेकाहरू के गरे वा गर्दै छन् त्यसको निष्पक्ष विश्लेषणहरूलाई सुन्न/पढ्न नसक्ने र जनताबीच संवाद पनि नहुँदाको परिणाम गत भदौको आक्रोशमा देखियो। जे होस्, कांग्रेस र नेपाली जनताका हजारौँ लाशहरूमाथि, नेपाली कांग्रेसका पूर्वसभापतिले माअोवादीसँग गरेको १२ बुँदे सम्झौतलाई देवत्वकरण मात्रै गरेनन् कि स्वयं त्यसको शिकार भयो। परन्तु २०७२ सालमा सभापति भइसकेपछि सभापति देउवालगायत उनका आठ भाइहरू जसमा स्व.विश्वेश्वरप्रसाद कोइरालाका छोरा, स्व.गणेशमान सिंहका छोरा, स्व.महेन्द्र नारायण निधिका छोरा एवं वर्तमान राष्ट्रपतिको सहभागितामा नेपाली कांग्रेस का कथित सक्रिय सदस्य एवं मतदाताहरूलाई हँसिया हथौँडामा भोट हाल्न उर्दी जारी भयो। फलस्वरुप कांग्रेस ‘गठबन्धन’ (ठग?) कांग्रेसमा परिणत भइसकेपछि आफ्नो ७० वर्षको इतिहास, आदर्श र सिद्धान्तको विधिवत विसर्जन भैसकेको छ। त्यसको नेतृत्व गर्ने सभापति देउवा हुन् र तिनी र तिनको केन्द्रीय समिति पूर्णतया जिम्मेवार थिए र छन्। यिनीहरूलाई राष्ट्रियता, प्रजातन्त्र र समाजवाद लेख्ने नैतिक अधिकार सिद्धान्त बाँकी थिएन र छैन।
भदौ २४ पछिको परिदृश्यहरू
अब गत भदौ २४ को राष्ट्रब्यापी विध्वंंश र आगजनीबारे अन्तिम प्रतिवेदन आउँदै गर्ला तर एउटा यथार्थ चाहिँ अलि बढीनै रहस्यमय देखियो किनभने नेपाली सेनाले बहालवाला र अन्य पूर्वप्रधानमन्त्रीहरूलाई सकुशल उद्दार र अवतरण गरेको पृष्ठभूमिमा कांग्रेस सभापति देउवालाई त्यो गर्न सकेन वा चाहेन अथवा विगतका कुनै रिसइवीको तुष बाँकी नै दख्यो। त्यसो त सिंहदरबारदेखि सर्वोच्च अदालतलगायत महत्त्वपूर्ण सार्वजनिक धरोहरहरू नेपाली सुरक्षाफौजहरूको आँखाअगाडि जलिरहँदा पनि तिनीहररु अनेक बहानामा पर्खिरहेको भदौ २४ को दिन र रात सायद नेपाली इतिहासमा विगत ३ सय वर्षको सबैभन्दा निकृष्ट समय थियो र हो। पृथ्वी नारायण शाह एवं बहादुर शाहको फौजी विरताको शून्य दशमलव शून्य एकांंश पनि अवशेष नभेटिएको वर्तमानको नेपाली सेनाले नेपाली भू-भाग सुरक्षा वा राष्ट्रिय हितका खातिर के कति गर्न सक्ला (?) आम नागरिकहरूमा त्यो प्रश्न उब्जेको छ र त्यसको अन्त सार्वजनिक बक्तव्य, शाब्दिक जालझेलले क्षणिक अर्थ राख्ला परन्तु नेपाली सेनाले संकटको घडीमा आफ्नो क्षमता र परीक्षण असफल भएको छ। नेपाली सेनाले अन्य सामान्य सुरक्षा आँखाले नदेखिने परिदृश्यहरू देख्न सक्ने हैसियत र क्षमता नगुमाओस् भन्ने कामना मात्रै हो। बाँकी तडकभडक तपसिलका विषय हुन्।
भदौ २४ को राष्ट्रिय संकट र पछि कांग्रेसलाई नेपाली जनताबीच पुग्ने कैयन कारणहरू हुँदाहुँदै पनि सभापति देउवाको यथास्थितीवादी प्रबृतिले अरु थप अनिष्ट निम्त्याउँदै छ।
अर्कातिर भदौ २४ को दिन र रातमा गैर सैनिक क्षेत्रमा आ-आफ्नै जिउधनको सुरक्षाको चिन्ताले ग्रस्त राजनीति दल र तिनका प्रायः जसो सवैथरिका नेताहरु पेटीकोटभित्र लुक्न पुगे। नेतृत्व सम्बन्धि सामान्य सिद्धान्तले के भन्छ भने ‘सङ्कटमा नेतृत्व जन्मन्छ।’ कांग्रेस मात्रै नभएर सवै अंशियार राजनीतिक दलभित्र, बाहिर कतैपनि नेतृत्व भेटिएन, जुन नेपालको निम्ति दुर्भाग्य नै हो । देशभित्र आगो लगाउने र विध्वंश गर्नेहरूको भीड त हजारौंको देखियो तर आगो निभाउने हैसियत भएको एउटै भेटिएन बरु उल्टै म नै नेता हुँ भन्ने स्वनामधन्यहरूको हुल थामिनसक्नु भैराख्यो । आज भाद्र २४ को ४ महिनापछिको दृश्यले के पुष्टि गर्दैछ भने नेपाली समाजमा स्व.कृष्णप्रसाद भट्टराईको अन्त्यपछि असल नेतृत्व अनिकाल परेको छ किनकि त्यस किसिमको नेतृत्व विकास हुने अवसरहरू उपलब्ध भएन वा छै । त्यस्को निम्ति कम्तीमा (४ वटा) चार कारणहरू प्रमुख रुपमा हुन सक्छन्।
१. परम्परागत दलीय विधिहरू अपारदर्शी मात्रै नभएर सकेसम्म क्लिष्ट बनाउँदै उमेरलाई आधार मान्ने, अति नयाँ पुस्तालाई आकर्षणभन्दा विकर्षण गर्ने प्रबृति,
२. संविधान एवं निर्वाचन सम्बन्धि ऐन/कानुन पनि अप्रत्यक्ष ढंगले दलीय ठालहरूको संरक्षण गर्ने ।
३. राजनीतिक दर्शन, मौलिक ज्ञान एवं सम सामयिक अर्थ राजनीतिक एवम् सामाजिक विकासको अध्यायन/अध्यापनको कमी जुन विद्यालयदेखि महाविद्यालयमा मात्र सीमित नभएर सार्वजनीक सञ्चारका माध्यमहरू हरेक दिन नियमित रुपमा भेटिन्छन् तिनीहरूको एकोहोरो सतही र सस्तो लोकप्रियतावादी संस्लेषणले दिग्भ्रमित समाज र
४. मौलिकताको अभाव – यदि १२ कक्षा पास गरेको विद्यार्थीले नेपालको लुम्बिनी, जनकपुर, गण्डकी, कोशी र कर्णालीको सभ्यताबारे अनभिज्ञता प्रकट गर्दछन् भने कस्तो पुस्ताको अपेक्षा गरिँदै छ?
कांग्रेसको रडाको
नेपाली कांग्रेसमा विधि र आदर्शको अन्त भैसकेको पृष्ठभूमिमा त्यसका सभापति शारीरिक एवं मानसिक रुपमा शिथिल देखिए पनि तिनी आफ्नै सात/आठ भाइहरू, पारिवारिक चिन्ता र बामपन्थी उक्साहटले उचालिएका देखिन्छन्। शायद फाल्गुण २१ को चुनाव अघिपछि कुनै न कुनै राजनीतिक खेलमार्फत सत्ताको चास्नी चुस्ने मोह देउवा र तिनका निकटस्थहरूमा पलाउनु अस्वभाविक भएन। तर, सामान्य मतदाताहरूले देउवाको अभिष्ट पूर्ण गरिदिने आधार भन्नुपर्दा तथ्यांकले के देखायो पछिल्लो राष्ट्रिय चुनावमा नेकाको एकजना सक्रिय सदस्य (?) बराबर ३ वटा मत (आफू स्वयं/श्रीमान् वा श्रीमती र अर्को एक जना) प्राप्त थियो । यद्यपि, कांग्रेसमा सक्रिय सदस्यता भनेको सिर्फ ‘उमेरको हद’भन्दा बढी केही हैन भन्ने बारम्वार प्रमाणित भई सकेको छ, त्यसका अंशियारहरूसँग अर्को संभावना नहुनु नै नेतृत्व विकासको अवरोध हो।
जबकि भदौ २४ को राष्ट्रिय संकट र पछि कांग्रेसलाई नेपाली जनताबीच पुग्ने कैयन कारणहरू हुँदाहुँदै पनि सभापति देउवाको यथास्थितीवादी प्रबृतिले अरु थप अनिष्ट निम्त्याउँदै छ । उदाहरणको निम्ति कांग्रेसले २०७२ को संविधान आवश्यक सुधारको निम्ति आफ्नो महासमितिको बैठक अविलम्व बोलाउन सक्दथ्यो, तर गरेनन् । कांग्रेसले आफ्नो नियमित अधिवेशन नै गर्ने बेला भैसकेको समय थियो, त्यसैलाई त झन निषेध नै गरे । सभापति देउवाले आफ्ना कार्यवाहकमार्फत विशेष अधिवेशन गर्ने/गराउने जिम्मा दिएर सम्मानजनक ढंगले बिदाई लिन सक्दथे, परन्तु उल्टो प्रतिकारमा पो उभिन पुगे?
आम नागरिकहरुको भावनालाई कुल्चेर तिनी र तिनका आठ भाइहरूले बामपन्थी पुच्छर समात्दैमा बैतरणी तरिँदैन । यस्तो लाग्दछ, अहिलेको कांग्रेस तिनकै बपौती हो ।
दार्शनिक जोन लाकीको एउटा निकै प्रचलित भनाइ छ- ‘जब विधि सकिन्छ त्यसपछि निरंकुशता जन्मिन्छ ।’ कांग्रेसलगायतका यावत बामपन्थीहरू देशका वडा कार्यालयदेखि विश्वविद्यालय, संसददेखि न्यायपालिका सुरक्षा फौजीदेखि सम्पूर्ण सरकारी अड्डाहरूमा विधि भन्ने तत्व हिङको टालोमा भेटिएला (त्यो पनि सत्तावालाहरूलाई हित हुने गरी मात्र), परन्तु आम नागरिकले दाम नचढाईकन कुनै विधिको दर्शन पाउँदैनन् । त्यसैले देशमा संस्थागत् संकट आपतकालीन स्थितिमा पुगेको छ ।
अन्ततः देउवाले नेपाली कांग्रेसलाई ‘दाम कांग्रेस’मा परिणत गरे । तर कांग्रेसमा केही वास्तविक व्यक्तिहरू रहेछन् जसलाई उनले किनारा लगाएका थिए, उनीहरूले पुस २७ मा उनको नेतृत्वलाई चुनौती दिने आँट गरे। कांग्रेसको नेतृत्व लिने र आगामी चुनावमा भाग लिने यी युवाहरूलाई बधाई छ। देउवा नेतृत्वको कारबाहीले उनीहरूको प्रतिबद्धतामा कुनै तलमाथि नआओस् भन्ने कामना पनि छ।