‘असहमति’का काँडाहरूमाझ फक्रन खोज्दै छन् विप्लव

‘असहमति’का काँडाहरूमाझ फक्रन खोज्दै छन् विप्लव
+
-
देशसञ्चार AI सारांश
  • नेत्रविक्रम चन्द ‘विप्लव’ले संसदीय राजनीतिमा सहभागिता जनाउँदै आगामी चुनावमा रोल्पाबाट लड्ने घोषणा गरेका छन्।
  • विप्लवले प्रचण्डसँग पार्टी एकताका प्रयास असफल भएको बताउँदै, चुनावी गठबन्धनबारे छलफल भइरहेको बताएका छन्।
  • जनतालाई माओवाद बुझाउन नसकिएको स्वीकार्दै, उनले कम्युनिस्ट पार्टीको भविष्यबारे चिन्ता व्यक्त गरे।

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’का जीवनमा कति अहसमति छन् होला? सायद एक सम्झनामा  उनलाई नै भन्न कठिन हुन्छ!

तर यति भने उनलाई थाहा छ–  अझै ‘असहमति’ धेरै छ।

राज्यको शासन-सत्तासँग उनको लडाइँ १७ वर्षको उमेरदेखि सुरु भएको हो। जतिबेला उनी रोल्पाको कुनै विद्यालयमा पढिरहेका थिए।

अहिले उनी उमेरले ५८ वर्ष (२०२४ फागुन ११मा जन्म) पुगे। अझै पनि उनी राज्यको शासनसत्तासँग सहमत भइसकेका छैनन्। असहमति कति पर पुग्ने हो– विप्लवलाई अनुमान छैन।

उनी यति भन्छन्– ‘राजनीतिले जनतालाई आधार दिएको छैन। अब दिनुपर्छ।’

बन्दुकको नालबाट सत्ता परिवर्तनको सपना बोकेर उनले २०५२ पछि जनयुद्धको मोर्चा सम्हाले। २०६२/०६३ को जनआन्दोलनपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको उनको तत्कालीन माओवादी पार्टी संसदीय राजनीतिको यात्रातिर लाग्यो।

त्यसमा मोहन वैद्य ‘किरण’देखि विप्लवसम्मले असहमति जनाउँदै फेरि बन्दुकको नालबाट सत्ता ल्याउने सपना लिएर हिँडेको भए पनि उनीहरू सफल भएनन्।

२०७१ मा किरणसँग पनि असहमति जनाउँदै विप्लव आफ्नै नेतृत्वमा पार्टी लिएर सत्ताविरुद्ध धावा बोल्न हिडेका थिए। त्यसैक्रममा उनको नेतृत्वको पार्टीले एनसेलको टावरलगायतमा तोडफोड गरेपछि २०७५ मा प्रतिबन्धको सिकार हुन पुगेको थियो।

प्रतिबन्धपछि उनीहरूले भूमिगत जीवन बिताउनुपर्‍यो।

दुई वर्षपछि २०७७ फागुनमा सरकारसँग तीन बुँदे सहमति गरेर उनीहरू खुला राजनीतिमा आएर र २०७९ को स्थानीय तहको निर्वाचनमा पहिलोपटक उनीहरूले भाग लिए।

यसअघि विप्लव हरेक निर्वाचनमा राज्यको सुरक्षाको प्रमुख चुनौती थिए। उनीहरूलक्षित सुरक्षा निकायको छुट्टै सुरक्षा रणनीति हुने गरेको थियो।

तर अब विप्लव पनि संसदीय राजनीतिर औपचारिकरुपमा भाग लिने निर्णयमा पुगिसकेका छन्। उनी नेतृत्वको नेकपा (माओवादी)ले निर्वाचनमा जनमतसँग परीक्षण हुने बाटो रोजेको छ।

२०७९ को स्थानीय तहको निर्वाचनमा भाग लिए पनि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भने उनीहरूले बहिष्कार गरेका थिए। अब आउने फागुनका २१ गतेका लागि तोकिएको निर्वाचनबाट उनी संसद छिर्ने चेष्टा गर्दैछन्।

त्यो पनि मामुली ठाउँबाट लडेर होइन। जनयुद्धका आफ्नै सहयात्री वर्षमान पुन ‘अनन्त’को निर्वाचन क्षेत्र रोल्पाबाट उनी चुनाव लड्ने योजना बनाइसकेका छन्।

‘चुनाव लडेपछि रोल्पाबाटै लड्छु’, उनले सोमबार काठमाडौँमा केही पत्रकारहरूसँग भेटघाट गर्दै भने। रोल्पाबाटै किन? उनको भनाइ छ– रोल्पामा सबैले एकपटक आइदिनुपर्‍यो भन्ने आग्रह छ।

नेत्रबिक्रम चन्द ‘विप्लव’

चुनाव लड्ने भएपछि विप्लवमाथि अहिले ठूलो प्रश्न भनेको पहिले संसदीय राजनीति ठिक होइन भन्ने अहिले आफै किन चुनाव लड्न किन लागेको हो भन्ने हो? यो प्रश्नप्रति उनको असहमति छ– संसदीय राजनीति खराब मात्रै भनेको होइन। तर त्यसरी बुझियो।

‘संसदीय राजनीति पनि गर्नुपर्छ तर जनतासँग पनि पार्टी जोडिनुपर्छ भन्ने हो’, विप्लवले भने। २०६३ मा तत्कालिन प्रचण्ड नेतृत्वको माओवादी पनि संसदीय राजनीतिमा लाग्दा आफूहरूको यही विषयमा असहमति रहेको बताए।

त्यससमयमा पार्टीभित्र आर्थिक अराजकता बढ्दै गएपछि आफूहरू अलग हुनुपरेको उनको भनाइ छ।

विप्लवले अहिले पनि संसदमा जानु पूर्णरुपमा गलत हो भन्ने पक्षमा आफू नरहेको बताए। ‘संसदमा जानु पूर्णरुपमा गलत भनेको होइन। संसदमा जानुपर्छ’, उनले भने ‘तर जनतासँग पनि जोडिनुपर्छ भन्ने हो।’

अहिले आफूलाई कम्युनिस्ट भन्ने पार्टीहरू त्यस अवस्थामा नरहेको बताए। विप्लवलाई लागेको छ– नेताहरू सत्तामा लागे। पार्टी गुट-उपगुटमा विभाजित बन्यो। जनता सबैले बर्सिए।

यही अवस्था रहने हो भने १० वर्षभित्रमा कम्युनिस्ट पार्टी सकिनेसमेत उनको अनुमान छ।

उनलाई एउटा पछुतो भने छ– जनतालाई माओवाद बुझाउन सकिएन। माओवादी आन्दोलन प्रश्नको घेरमा रहेको भन्दै उनले अब जनतालाई जोड्ने गरी माओवादी आन्दोलन पनि परिवर्तन गर्नुपर्ने अवस्थामा पुगेका बताए।

उनले आफ्नो पार्टी जनतासँगै उत्पादनमा जोडिएको भन्दै यो पनि माओवादी आन्दोलनको परिवर्तनवर्तनको स्वरुप रहेको बताए।

निर्वाचन जितेर अझै यसलाई फराकिलो पार्ने योजनामा रहेकोसमेत उनले सुनाए। उनी भन्छन्– ‘राजनीतिलाई जनतासँग जोड्नुपर्छ। जनतालाई आधार दिनुपर्छ। अहिलेको राजनीति आधार दिन सकेको छैन।’

जनतालाई पैसा कसरी कमाउने? पैसा कसरी बचाउनेसम्मजस्ता कुरा राजनीतिक दलको जिम्मेवारी भए पनि तीबाट राजनीतिक दल टाढै रहेको उनले बताए।

उनले आफ्नै कम्युन गाउँको कुरासमेत सुनाए। ‘हाम्रै कम्युन गाउँमासमेत एकघरमै १२/१५ वटा कुखुरा पालिन्छ। तर ती सबै काटी खाइन्छ। पाहुनालाई खुवाइन्छ’, उनले भने ‘मैले भन्ने गरेको छु। पालेका कुखुरा आधा खाउँ। कम्तिमा आधा त बेचौँ।’

जनतालाई साना-साना कुराहरू सिकाउन पनि पार्टीहरू असक्षम भएको उनको बुझाइ छ। उनले पार्टीका सबै नेताहरूले राजनीति गर्नुनपर्ने बताए। उनले भने, ‘म भन्छु सबै नेताहरूले राजनीति गर्नुपर्दैन। कोही राजनीति गरौँ। कोही जनतासँग जोडिऔँ भन्ने हो।’

प्रचण्डसँग एकतादेखि चुनावी गठबन्धनसम्मको कुरा भयो?

विप्लवले प्रचण्डसँग एकता गर्न गर्न पटक–पटक भेटघाट र छलफल गरेका हुन। तर उनीहरूबीच एकता हुन सकेको छैन। कात्तिक १९ गते प्रचण्ड नेतृत्व नेकपा माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एससहित विभिन्न कम्युनिस्ट घटकको एकता भयो।

तर त्यसमा असहमति जनाउँदै विप्लव एक हुन चाहेनन्। किन? उनी भन्छन्–‘पार्टीमा नेताहरू मात्र भएर हुँदैन।’ पार्टी एक हुनका लागि पार्टी संरचना नै परिवर्तन गरेर जानुपर्ने उनी बताउँछन्।

तर पार्टी संरचना परिवर्तनमा प्रचण्ड सहमत हुन नसकेपछि एकता हुन नसकेको उनले बताए।

विप्लव प्रचण्डसँग एक हुन नचाहेपछि कतिपय एमालेसँग चुनावी तालमेल त गर्ने होइनन् भन्ने विषयसमेत सार्वजनिक भएको छ। साथमा प्रचण्डसँग पनि चुनावी तालमेल हुने विषय उठिरहेको छ।

यस विषयमा विप्लवले चुनावी तालमेल नहुने बताए। यद्यपि छलफल चलिरहेको भने उनले बताए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?