- हात्तीवनस्थित लिटल एञ्जल कलेजमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’मा आधारित विमर्श कार्यक्रममा प्रिन्सिपल पौडेलले परम्परागत शब्दको उपयोगबारे चर्चा गरे।
- कलेजकी विद्यार्थी सदीक्षा भट्टराईले किताबले टुरिजम र हस्पिटालिटी क्षेत्रमा भएको संघर्षलाई बुझाउन मदत गर्ने बताइन्।
- लेखक भीम न्यौपानेले किताब लेख्दाका अनुभव विद्यार्थीहरूसँग बाँड्दै अपने चलचित्र निर्माण सम्बन्धी जानकारी पनि प्रदान गरे।
हात्तीवनस्थित लिटल एञ्जल कलेज अफ म्यानेजमेन्टले लेखक भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’माथि विमर्श गरेको छ। कलेजका प्रिन्सिपल डक्टर मित्रबन्धु पौडेल, विद्यार्थी तथा शिक्षक र लेखक तथा पत्रकार राज सरगमले किताब माथि बोलेका थिए।
कालीगण्डकी क्षेत्रको बोलिचालीमा प्रयोग हुँदै आएका परम्पारगत शब्द जस्ताको तस्तै किताबमा आएको बताए प्रिन्सिपल पौडेलले। ‘गण्डकी क्षेत्रको आञ्चलिकताको पकड बलियो छ बादलमुनि बागलुङमा’, प्रिन्सिपल पौडेलले भने, ‘नयाँ पुस्ताले नेपाली कम बोल्न लागिरहेको समयमा मौलिक शब्द भाषिक नेपाली बोल्न मदत गर्छ।’
बागलुङमा पाइने बनस्पतिका बारेमा किताब ‘बादलमुनि बागलुङ’ले उजागर गरेको बताए पौडेलले । आफू ‘वाइल्ड लाइफ’मा चासो राख्ने भएकाले बागलुङमा भेटिने बनस्पती र बन्यजन्तु बारे थाहा पाइराख्न बादलमुनि बागलुङ पठनयोग्य रहेको बताए उनले ।
त्यसैगरी कलेज अफ म्यानेजमेन्ट विद्यार्थी सदीक्षा भट्टराईले नेपालमा टुरिजम तथा हस्पिटालिटी क्षेत्रमा पचासको दशकमा गरेको संघर्षलाई किताबले बुझाउन मदत गर्ने बताइन्।
लेख्ने शैली र भाषाको पकड भयो भने आममान्छेको पनि आत्मकथा हुन्छ भन्ने उदाहारणका रुपमा ‘बादलमुनि बागलुङ’ लिन सकिने बताए, लेखक तथा पत्रकार राज सरगमले। लेखकले पचासको दशकमा हस्पिटालिटी क्षेत्रमा गरेको संघर्षको बारे चर्चा गर्दै राज सरगमले भने,’हस्पिटालिटी क्षेत्रमा काम गर्न कति धैर्यता चाहिन्छ त्यो भीम जीको किताब बादलमुनि बागलुङले सिकाउँछ।’
लेखक भीम न्यौपानले किताब लेख्दाका अनुभव विद्यार्थी माझ सुनाए।
अष्ट्रेलियाको मेलबर्नमा दुई दशक अघिदेखि ‘बुद्ध ट्राभल एण्ड टुर’चलाउँदै आएका छन्। अष्ट्रेलिया नेपाल र न्यु-जिल्याण्डबाट सेवा दिँदै आइरहेका छन् ।
लेखक न्यौपाने चलचित्र निर्माता पनि हुन्। उनले ‘बाटोमुनि-२’, ‘दोख’ र ‘सुनकेशरी’ नामक चलचित्र निर्माण गरेका छन् ।