कलाकार स्वतन्त्र हुनुपर्छ भन्ने भ्रम चिरिँदै

कलाकार स्वतन्त्र हुनुपर्छ भन्ने भ्रम चिरिँदै
+
-
देशसञ्चार AI सारांश
  • कलाकारहरूले लामो समयसम्म संघर्ष गरिरहेको राजनीति क्षेत्रमा नवीन र जिम्मेवार भूमिकामा समावेश हुनु स्वागत योग्य छ।

  • नयाँ पार्टीहरूले कलाकारहरूलाई महत्वपूर्ण स्थानमा ल्याएर राजनीतिक लोकप्रियता बढाउने ‘पोलिटिकल ग्ल्यामर’को चिन्ता व्यक्त गरिएको छ।

  • कलाकारलाई केन्द्रीय राजनीतिमा ल्याउने यस्ता प्रयासहरू दिगो हुन् या नहुन् भन्ने अझै स्पष्ट छैन।

‘कलाकर्मीहरू स्वतन्त्र हुनु पर्छ’

यो कथन अहिले पनि कलाकर्मीबिच चलिरहन्छ। ‘फूल-टाइम’ राजनीतिकर्मी तथा नेताले कलाकारलाई यसैगरी सम्झाएको देख्न र सुन्न पाइन्छ। तर २०४६ को परिवर्तनपछि कलाकारहरू फाट्टफुट्ट राजनीतिमा लागे त्यो पनि लुकी-लुकी।

लुकेरै राजनीति गर्न चाहेका कलाकर्मीलाई मूलधारको पार्टीले भातृ संगठनहरू स्थापना गरेर जोड्यो। त्यसैमा कलाकार पनि खुसी भए। पार्टीको केन्द्रीय सदस्यका लागि भातृ संगठनमार्फत ‘लविङ’ गर्नुपर्थ्यो। तर पार्टीले भातृसंगठनमा भएका कलाकारलाई केन्द्रीय सदस्यका लागि भन्दा पनि मन्त्रालयअन्तर्गत रहेका संस्थान, प्रतिष्ठान, बोर्डहरूमा जागिरका लागि प्रोत्सहान गर्दै आयो। जेनजी आन्दोलनपछि आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि भने बृहत वैकल्पिक शक्तिको रूपमा अगाडि बढ्ने तयारी गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले थुप्रै कलाकारलाई समानुपातिक सूचीमा समेट्यो र केहीलाई केन्द्रीय सदस्यसमेत बनायो। तिनैमध्ये एक हुन् कलाकार लक्ष्मी बर्देवा, जो रास्वापाको केन्द्रीय सदस्य भइन्।

बर्देवालाई एक दशक अघिबाटै राजनीति गर्न मन थियो। तर मूलधारको राजनीति पार्टीले कलाकारलाई कुनै भातृ संगठनमा बस्न भन्छन् कि भन्ने लाग्थ्यो उनलाई।

किन लाग्यो?

‘उहाँहरू त कलाकार हो। राजनीति गर्ने होइन भन्थे नेताले,’ कुनै नेताले आफूलाई भनेको जस्ताको-तस्तै सुनाइन् बर्देवाले। रास्वपाले कलाकारको कला मात्रै नभएर राजनीतिक क्षामतालाई पनि कदर गरेको लाग्छ उनलाई। ‘रास्वपाको एजेण्डा मन परेर समर्थन गरेको हुँ। अब चुनावमै नउठे पनि पार्टीमा म मेरो भूमिकालाई बलियोसँग प्रस्तुत गर्छु,’ उनले भनिन्।

परम्पारगत सोचका नेताहरूले कलाकारलाई केवल भीड जम्मागर्ने माध्यम मात्रै बनाए। त्यो माध्यम बन्न नपरोस् भनेरै बर्देवाले कुनै मूलधारको दलमा नगएर सही अवसरको पर्खाइपछि रास्वपामा गएको बताइन्।

फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय हुने बताउने बर्देवा भन्छिन्, ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ। तर कुनै योजना बनाएर राजनीतिमा लागेको भने हैन। केही दिनअघि मात्र मलाई पार्टीबाट प्रस्ताव गरिएको थियो।’

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष उम्मेदवारमा उठ्ने विषयमा कुनै योजना बनाइनसकेको बताउने बर्देवा नेपाली फिल्म र रंगमञ्चमा सशक्त अभिनय गर्ने स्थापित अनुहार हुन्।

आफ्नो मुद्दालाई पार्टीमा बलियोसँग राख्ने बताउँछिन् उनी। थप्छिन्, ‘चलचित्र क्षेत्रमा महिलाको उपस्थिति र सो क्षेत्रका समस्याहरूका बारेमा पनि आवाज उठाउनेछु।’

यस्तै, मिस नेपाल- २०१९ विजेता अनुष्का श्रेष्ठ, गायिका त्रिशला गुरुङ, गायकको रूपमा पनि चिनिएका रमेश प्रसाईं, गायक तथा अभिनेता प्रकाश सपुत, अभिनेता तथा निर्माता आसिफ शाह, गायिका सत्यकला राईलाई पनि रास्वापाले जोड्यो। प्रस्तोता तथा अभिनेत्री रीमा विश्वकर्मा पनि यतिबेला रास्पामै जोडिउकी छिन्। उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य रहेकी उनी रास्वपासँग एकतापछि रास्वपामा गएकी थिइन्। त्यसपछि कुलमान घिसिङको टोली फर्किए पनि उनी रास्वपामै रहिन्।

यसैगरी, अभिनेत्री निशा अधिकारी ‘गतिशील लोकतान्त्रिक पार्टी’मा केन्द्रीय सदस्य बनेकी छन्। अर्की अभिनेत्री तथा मोडल एलिजा गौतम ‘आम जनता पार्टी’ (आजपा) प्रवेश गरेकी छन्। निर्देशक निश्चल बस्नेत, रवीन्द्रसिंह बानियाँ,अर्जुन घिमिरे ‘पाँडे’ २०७९ सालकै निर्वाचनदेखि बालेनलाई मेयर बनाउन सघाएका थिए। र विस्तारै खुलेर पार्टीमा आउँदैछन्।

केही कलाकारहरू नेपाली कांग्रेस, नेकपा एमालेलगायत पुराना दलमा रहेर संघर्ष गर्दैछन्। जस्तै, चलचित्र निर्देशक मीन भाम, लोकगायिका रिता थापामगर प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका छन्।

कलाकार केवल निर्वाचन नजिँकिदा र सभा सम्मेलनहरूमा नाच्न, गाउन मात्रै प्रयोग हुँदै आएको पञ्चायतकालबाटै हो। तर, तत्कालीन माओवादीमा सयभन्दा धेरै कलाकारहरू खुलेरै पार्टी प्रवेश गरे। २०६५ मा राजेन्द्र खड्गी, युवराज लामा, मौसमी मल्ल, चेतन सापकोटा, उदय सुब्बा, विमला केसी, छविराज ओझा, राजु केसी, अञ्जु पन्त, रेखा थापालगायतका कलाकारहरू त्यतिबेला माओवादीमा प्रवेश गरेका थिए।

त्यसैगरी, करिष्मा मानन्धर, बद्री पंगेनीलगायतका कलाकार एमाले प्रवेश गरेका हुन्। तर समयअनुसार उनीहरूको भूमिका त्यति प्रभावकारी देखिएन् राजनीतिमा। जस्तै, रेखा थापा माओवादी परित्याग गरी राप्रपामा प्रवेशमा गरिन्। थापा राप्रपाको महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार बनिन् र पराजित भइन्। उनीबाट धेरै कलाकारहरू आशावादी थिए। त्यसैगरी एमालेबाट करिष्मा मानन्धर सक्रिय भएकी थिइन्। मानन्धर डाक्टर बाबुराम भट्टराईको ‘नयाँ शक्ति पार्टी’मा आबद्ध थिइन्। पछि एमालेमा प्रवेश गरिन् र त्यो पार्टी पनि छाडिन्। यसपालि एमालेको अधिवेशनमा उनी देखा परिनन्।

गायिका कोमल वली पनि ‘स्वतन्त्र बस्नु हुँदैन’ भन्दै रेडियो नेपालको जागिर छाडेर राप्रपामा प्रवेश गरेकी थिइन्। पछि उनी नेकपा एमालेमा आबद्ध भइन् र राष्ट्रिय सभा सदस्य तथा एमाले केन्द्रीय सदस्यसमेत बनिन्।

नेकपा एमालेसँग आबद्ध रहेका दिनेश डिसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भए। गायिका ज्योति मगर पार्टी प्रवेश गरेको घोषणा नगरे पनि एमाले महाधिवेशनमा केपी ओली प्यानललाई भोट माग्न पुगेकी थिइन्। अभिनेता भुवन केसी एमालेमा प्रवेश गरेर एकाएक चर्चामा आए। पछि कांग्रेसमा प्रवेश गरेर उनी विकास बोर्डको अध्यक्ष भए। अभिनेत्री श्वेता खड्का र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का नेपाली कांग्रेस प्रवेश गरेका थिए।

कलाकार शिवशंकर रिजाल (जोगिन्दर), निर्माता तथा अभिनेता रोज राणा, लोकगायक विमलराज क्षेत्री, कलाकार शिवहरि बैरागी, तीर्थ थापा, निर्देशक सम्झना रौनियारलगायत विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधि बनेका थिए।

यत्तिका कलाकारहरु राजनीतिमा लाग्दा पनि केन्द्रीय राजनीतिमा उपस्थिति न्यून देखिन्छ। एमाले तथा कांग्रेस र तत्कालीन नेकपा माओवादीमा लागेका कलाकारहरूले भातृसंगठनमै चित्त बुझाउनु परेको पाइन्छ। केन्द्रीय सदस्य, प्रतिनिधि वा पदाधिकारी बने पनि नीति निर्माण, वैचारिक बहस र सांगठनिक नेतृत्वमा सीमित भूमिकामै अड्किने गरेको पनि सुन्न पाइन्छ।

यो परम्परागत दृष्यलाई बदल्न रास्वपाको भूमिका तत्काल स्वागत योग्य देखिए पनि दिगो हुने सम्भावना कम देख्छन् लेखक तथा अध्येता जेबी विश्वकर्मा। ‘पार्टीले योजनाबद्ध तरिकाले ल्याएको हो भन्न सकिन्न। कलाकारलाई केन्द्रीय स्तरमा लैजाने आधिकारिक दस्तावेजमा छ कि छैन? छ भने त राम्रै भयो यदि छैन भने कलाकारको लोकप्रियतामार्फत भोट संख्या बढाउने योजना हुन सक्छ,’ उनले भने।

उनी एक उदहारण दिन्छन्,’कोमल वलीहरू पार्टीमा त्यहाँसम्म पुग्नु स्वतन्त्र भएर मात्रै होइन समबद्ता नै बलियो भएर हो।’

उनकाअनुसार ‘पार्टी सिस्टम’बाट हेरिने भएकाले अहिले नयाँ दलमा आएका कलाकारहरुले कस्तो भूमिकामा पर्छन् भोलिका दिन देखिने बताउँछन्। ‘कला र संस्कृतिलाई पार्टीले अझै सकारात्मक लिइनसकेको अवस्था रहेकाले नयाँ पार्टीमा जोडिएका कलाकारले केन्द्रीय स्तरको भूमिकामा देख्न गाह्रै होला,’ जेबीले भने।

राजनीतिमा लाग्नु पर्छ भनेर लामो समय संघर्ष गराउन सिकाएको जस पुरानै पार्टीलाई दिन्छन् चलचित्रकर्मी केपी पाठक। ‘कलाकर्मी स्वतन्त्र बस्नुपर्छ भन्ने ‘न्यारिटिभ’ अहिले बदिलयो। राजनीतिक चेत भएका जो कोही कलाकारहरू खुलेर राजनीतिमा लाग्नुपर्छ,’ पाठकले भने, ‘कलाकर्मीहरू स्वतन्त्र हुनुपर्छ भन्ने भ्रम चाहिँ चिरिँदै गयो। यो खुसीको कुरा हो।’

नयाँ पार्टीले कलाकारलाई मात्र छान्नु ‘पोलिटिकल ग्ल्यामर’ मात्रै त देखिने चिन्ता पाठकले सुनाए, ‘लोकप्रिय अनुहार खोजेर पार्टीको संगठन बढाउनु त राम्रो होला तर कतै ‘पोलिटिकल ग्ल्यामर’ मात्रै त देखिने होइन।’

उनी थप्छन्, ‘राजनीति आफैँमा लामो समयको यात्रा हो। राजनीतिमा लागेका अधिकांश कलाकारमा सांसद र मन्त्री हुन त पाउँछन् तर त्यसले कति निरन्तरता पाउँछ।’

गायक कलाकारले आफ्नो कलाकारिताबाट जनतालाई सचेत गराइराख्छन्। नेताले गरेको गल्तीमाथि व्याङ्ग्य गर्छन्। किनकि कलाकार देशका सचेत नागरिक हुन्। भाषा, साहित्य, कला र संस्कृतिलाई जगेर्ना गर्ने र एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरणको माध्यम कलाकार नै बनेको छन्। त्यसैले उनै बर्देवा भन्छिन्,’कलाकारले राजनीति पनि गर्न सक्छन् भन्ने संस्कार बसाल्न आवश्यक छ।’

विश्व परिवेश नियाल्दा राम्रा कलाकार राजनीतिमा पनि सफल हुन सक्छन् केही उदाहारणहरू नभएका होइनन्। हलिउड प्रख्यात अभिनेता रोनाल्ड रेगन अमेरीकाको राष्ट्रपति भएका थिए। ‘किंग्स रो,’ ‘डेथ भ्यालि डेज’ जस्ता चलचित्रका नायक रेगन राजनीतिमा पनि सफल मानिन्छन्। त्यसैगरी भारतीय कलाकारहरू पनि राजनीतिमा भएका छन्। अमिताभ बच्चनदेखि स्मृति इरानीसम्म लाइम लाइट र पावर पोलिटिक्स दुवैमा सफल खेलाडि हुन्।

एक जमानाका चलेका हिरो सुनिल दत्त युवा तथा खेलकुदमन्त्री भएका थिए। इरानी बहालवाला मन्त्री हुन्। गोबिन्दा, सवाना आजमि, सत्रुध्न सिन्हा पटक-पटक सासंद बनिसकेका छन्। अहिले ढाइ किलो हातुवाला बवि देवल र रंगिला गर्ल उर्मिला मातोण्डकर पनि चुनावी मैदानमा छन्। साथै साउथ भारतका प्रख्यात अभिनेता विजय थालापती राजनीतिमा आउन कलाकारिता छोड्दै छन्। उनै पाठक भन्छन्, ‘राजनीति भनेको देशको मूल नीति हो। त्यसलाई सफा गर्न र सही मार्ग डोर्‍याउनका लागि राजनीति चेतका कलाकार पनि आउनुपर्छ।’

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?