- महन्थ ठाकुरले मधेश पहिचान र अधिकारको लागि अन्तिम पटक भोट माग्दै संसदीय राजनीतिको यात्रा तय गरे।
- ठाकुरले अन्तिम पटक भनेको कार्यकाल संसद विघटनसँगै अधूरो हुँदा, उनी राष्ट्रियसभाको चुनावमा लगभग विजयी हुने देखिएका छन्।
- सन् २०६४ देखि, ठाकुरले विभिन्न पार्टी गठबन्धनमा सहभागी भएर आफ्नो राजनीतिक यात्रालाई जारी राखेका छन्।
काठमाडौँ- ‘म अन्तिम पटक भोट माग्न आएको हुँ। किनकी मधेशको पहिचान र हक, अधिकारसम्बन्धी केही काम गर्न बाँकी छ। अन्तिमपटक भोट दिनुस्’, ८० वर्षीय महन्थ ठाकुरले २०७९ को निर्वाचनमा घरदैलो कार्यक्रम गर्दै भनेका थिए।
उनको त्यो भनाइ संसदीय राजनीतिको अन्तिम यात्रा थियो। उनी ०७९ मा महोत्तरी ३ बाट विजयी पनि भए। उनैले भनेको अन्तिमपटकको संसदीय राजनीतिको यात्रा सूनिश्चित पनि गरे।
तर उनले अन्तिमपटक भनेको संसदीय राजनीतिले पूर्ण कार्यकाल बिताउन पाएन। पाँचवर्षे कार्यकाल पूरा नहुँदै यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि संसद् विघटन भयो। अहिले उमेरले ८३ टेकेका उनै महन्थ फेरि संसद् पुग्ने यात्रामा छन्।
२०४८ पछि परिवर्तित राजनीतिका हरेक उतारचढाब भोगेका ठाकुर अझै सांसद बन्ने मोहबाट टाढा हुन सकेका छैनन्। ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि उनले कांग्रेस-एमालेसँग गठबन्धन गरेर जित लगभग सूनिश्चित पनि गरिसकेका छन्।
बुधबार अन्य क्लष्टर कोटामा मधेश प्रदेशबाट उनले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। उनलाई मनोनय दर्ता गर्नसमेत हम्मेहम्ये परेको थियो। उनलाई हिँडडुल गर्न असहज भएको मनोनयन दर्ता गर्न जाँदा दृष्यमा सहजै देखिन्थ्यो।
जेनजीलाई लोप्पा
भदौमा भएको जेनजी आन्दोलनको माग सुशासनसँगै वर्षैँदेखि पदमा रहेका पुराना नेताहरुको ठाउँमा नयाँ पुस्ता आउनुपर्छ भन्ने थियो। आन्दोलनको चार महिना पुग्न पाउँदा नपाउँदै राष्ट्रियसभाका लागि बुधबार भएको मनोनयनले जेनजी आन्दोलनको माग र मर्मलाई ‘लोप्पा’ खुवाइ दिएको छ।
चार दशकदेखि राष्ट्रिय राजनीतिको मुलधारमा रहेर ठोस काम गर्न नसकेका ८३ वर्षे ठाकुरले ६ वर्षका लागि राष्ट्रियसभाको सांसद हुने करिब निश्चित गरेका छन्।
गठबन्धनको मधेश प्रदेशमा दुई तिहाइ बहुमत भएकाले ठाकुरले जित्ने र उमेरको उत्तरार्ध अर्थात् ८९ वर्षसम्म सांसद पदमै रहने पक्का जस्तै भएको छ।
मधेस प्रदेशबाट दलित, अल्पसंख्यक/अपाङ्ग, महिला र अन्य सिटसहित चारवटा पदका लागि चुनाव हुँदैछ।
राष्ट्रियसभाको चुनावमा प्रदेशसभा सदस्य र स्थानीय तहका पदाधिकारी मतदाता (निर्वाचक मण्डल) रहने संवैधानिक व्यवस्था छ। जसमा प्रदेशसभातर्फ १०४ जना र स्थानीय तहतर्फ २६६ गरी ३७० जना मतदाता छन्।

हार्दा पनि संसद छिरेका थिए ‘ठाकुर’
कांग्रेसको राजनीतिक बिरासत बोकेर मधेसकेन्द्रीत राजनीतिमा बलियो उपस्थित बनाएका ठाकुर निर्वाचन हार्दासमेत प्रतिनिधिसभाको सदस्य बन्न सफल भएका नेता हुन्।
२०६४ मा भएको पहिलो संविधानसभाको निर्वाचनमा उनी सर्लाहीबाट हारेका नेता हुन्। त्यतिबेला उनले तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)को नेतृत्व गरेका थिए।
आफू हार्दा पनि उनले पार्टीलाई २१ सिट जिताउँदै संसदको पाँचौ शक्ति बनाएका थिए। ६४ मा हारे पनि शिर्ष नेताहरू चाहिने मनोभावनाअनुसार उनलाई मन्त्रिपरिषदबाट मनोनयन गरेर संविधानसभाको सदस्य बनाइएको थियो।
यसअघि २०४८ मै सर्लाही ५ बाट निर्वाचन जितेर उनी कांग्रेसको केन्द्रीय राजनीतिमा उदाएका थिए। उनी कांग्रेसको कोषाध्यक्षसमेत भए। २०५१ मा उनी उपसभामुख भए भने त्यसबेला सभामुख कांग्रेसकै नेता दमननाथ ढुङ्गाना थिए।
०५१ मै भएको मध्यावधि निर्वाचनमा उनी सर्लाही ५ बाटै जिते। त्यसपछि उनको कांग्रेसमा उपस्थिति बलियो बन्दै गएको थियो। उनलाई यतिसम्म भनिन्थ्यो कि २०६४ मा कांग्रेस नछाडेको भए सादय गणतन्त्र नेपालको पहिलो राष्ट्रपति ठाकुर नै बन्ने थिए।
तर ०५१ मा निर्वाचन जितर उनी कानुनमन्त्री बनेका थिए। उनी कानुनका विद्यार्थी पनि हुन्। राजनीतिसँगै उनले वकालत र प्रध्यापन पनि गरे।
उनी २०६४ पछि २०७० मा भएको दोस्रो संविधानसभामा पनि सर्लाहीबाटै पराजीत भए। यसबेला उनको तमलोपा आन्तरिक विवादमा फसिसकेको थियो। जसका कारण ०६४ मा संसदको पाँचौ शक्ति भएको तमलोपा ७० मा १० सिटमात्र जितेर ८औँ स्थानमा झरेको थियो।
ठाकुर त्यसपछि ०७४ मा भएको निर्वाचन र ०७९ मा भएको निर्वाचनमा भने आफ्नो गृहजिल्ला महोत्तरी ३ बाट विजयी भएर संसदीय राजनीतिलाई निरन्तरता दिएका थिए।
उनी पछिल्लो ०७४ र ७९ मा संसदको ज्येष्ठ सदस्यमध्ये एक हुन्।
संसदीय प्रतिष्पर्धामा चारपटक विजयी र दुईपटक पराजीत भएका उनी एक पटकको पराजीतमा मनोनयमार्फत संसदमा पुगि आफूलाई निरन्तर संसदको शक्तिका रुपमा उभिएका नेता हुन्।
अब राष्ट्रियसभाको सदस्यका लागि लगभग जीतलाई सुनिश्चितसमेत गरिसेकका छन्।
उनी २०४६ सालको जनआन्दोलनमा जेलसमेत परेका थिए।
तमलोपादेखि जसपासम्म
कांग्रेस छाडेर उनले २०६४ मा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गरे। दोस्रो मधेश आन्दोलनको जगमा उनले ०६४ मा आफ्नो पार्टीलाई संसदको पाँचौ शक्ति बनाए।
तर संसदीय राजनीतिको हिलोमा तमलोपा यसरी फस्यो कि त्यसपछि आरालो लागेको तमलोपा कहिल्यै संसदको पाँचौ शक्ति बनेन। जेनजी आन्दोलपछि पार्टी अहस्तित्व जोगाउने अवस्थामा यी दलहरू पुगेको विश्लेषण हुने गरेको छ।
त्यसकै कारण हुनसक्छ अहिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)नेपालमा समाहित गर्न १३ पुसमा हस्ताक्षर गरिसकेका छन्।
उपेन्द्रसँग ठाकुरको यो पहिलो मिलन हुन लागेको होइन। २०७० मा लोसपा ८औँस्थानमा खुच्चिएपछि २०७४ मा मधेशकेन्द्रीत राजनीतिक दलले ऐतिहासिक मिलन रोजेका थिए।

तस्बिर: राजा झा
तराई मधेशकेन्द्रित राजनीतिक दल तमलोपा मात्र होइन। २०४७ सालमा गजेन्द्र नारायण सिंहले गठन भएको नेपाल सद्भावना पार्टीदेखि उपेन्द्र यादवको जसपासम्म २०७४ मा एक भएका थिए।
०७४ को वैशाख ७ गते विभिन्न पार्टीबाट फुटेर टुक्रा बनेका ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सद्भावना, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी, महेन्द्र यादव नेतृत्वको तराई मधेस समाजवादी, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक पार्टी र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी एक भएर राष्ट्रिय जनता पार्टी (राजपा) बनाएका थिए।
६ पार्टीको मिलनले नपुगेर २०७४ को निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फरमसँग ठाकुरले चुनावी मोर्चा गरेका थिए। उनीहरूले पछि २०७७ वैशाख १० गते जनता समाजवादी पार्टी नेपाल (जसपा) बनाएका थिए। जसको नेतृत्व अहिले यादवले गरिरहेका छन्।
२०७६ मा केपी शर्मा ओलीले संसद विघटन गरेपछि समर्थन गर्ने कि नगर्ने भन्नेमा यादव र ठाकुरबीच विवाद भएको थियो। त्यसपछि ठाकुरले फेरि लोसपा बनाएर यादवसँग छुट्टिएका थिए।
पाँच वर्षपछि अहिले फेरि ठाकुर नेतृत्वको लोसपा र यादव नेतृत्वको जसपा नेपालबीच एकता गर्ने सहमति भएको छ।
–तस्बिर: राझा झा