अमेरिका बसे पनि लेखक नीलम कार्की ‘निहारिका’ कथाको मियो खोज्न वर्षेनी नेपाल आइरहन्छिन्। आफ्ना आख्यानमा इतिहासले बिर्सिन लागेका पात्र समेट्नुअघि गहिरो खोज र अनुसन्धानका लागि यात्रा गर्छिन् र लेख्छिन्, इतिहासको जगमा उभिएर उपन्यास।
यसपालि उनको नेपाल यात्रा नयाँ उपन्यास ‘राजमाता’का लागि थियो। इतिहासकारलाई छोडेर उपत्यकामा रहेको तीन सहरले बिर्सन लागेकोइतिहासमा महिला पात्रको भूमिकालाई उपन्यास राजमातामार्फत् १० औँ शताब्दी यताको कथा भन्ने जमर्को गर्दै छिन् उनी। गए हप्ता मात्रै नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा भएको फाइन प्रिन्ट फिबरमा नीलमले राजमाता उपन्यासको आवरण सार्वजनिक गरिन् र इतिहासमाथि लेख्दाको अनुभव सुनाइन्। यही सिलसिलामा देश सञ्चार चौतारीमा हामीले उनलाई निम्तो गर्यौँ। उनले लेखन अनुभव सुनाइन्,’पाल्पामा स्कुलताका कविता छापियो। अनि लाग्यो, लेख्यो भने त छापिदो रहेछ।’
लेखनको सुरुवात कविता भए पनि आख्यानकारका रूपमा परिचित नीलम तीसको दशकमा पाल्पामा जन्मिन्, हुर्किन्। आमा मीना शिक्षिका भएका कारण स्कुल जान आउन समस्या थिएन उनलाई। पहाडिया ग्रामिण क्षेत्रको स्कुलमा आउजाउ गर्ने नीलम कविताको ‘अफेयर’ नटुङ्गिदै छात्रवृत्तिमा स्टार्फ नर्स पढ्ने अवसर पाइन् । अनि लागिन् ०४७ साल पाल्पा छोडेर नेपालगञ्जतिर।
प्रचण्ड गर्मी सहेर’नेपालगञ्ज नर्सिङ क्याम्पस’ पढिरहेकी नीलमको ध्यान नेपालगञ्जले तान्थ्यो, जहाँ टाँगा, रिक्सा र गर्मी थियो। पुरानो नेपालगञ्ज सहरले आफूलाई नयाँ स्वरुपमा ढाल्न अनेकन दु:ख गर्दै थियो। र, उनी स्टाफ नर्स भएर सेवा गर्ने सपना देखेकी थिइन्।
नेपालगञ्ज सहर उनको आँखामा कत्ति बिझाएन। त्यो सहर जहाँ उनले नर्सिङमात्रै पढिनन्, जीवनको स्वर्णिम पलहरु बाँचिन्। त्यो सहर जसले उनलाई मिठा अनुभूतिहरुमात्रै दिएन, लेख्ने प्रेरणा पनि दियो। अनि, लेखकको परिचय पनि।
धेरै लेखकका पुस्तक र कथाहरुमा अनेक पात्रहरु नेपालगन्जमा बाँचेका छन्, तर नीलमका लागि भने यो आफै बाँचेको सहर हो।
नेपालगञ्जको गल्ली र गाउँमा देखेका, भेटेका असली पात्र र बहुसांस्कृतिक चरित्र नेपालगञ्जको प्रेममा यसरी परिगइन् कि २०५१ सालमा त उपन्यास नै लेखिन्,’मौन जीवन’ र ‘नियतिको खेल’। यी दुई उपन्यास लेखेपछि उनलाई महसुस भयो किताब छाप्ने कसरी?
उपन्यास लेखायो नेपालगन्जको गगनगञ्जले । उनले गगनगन्जलाई अझै मनबाट हटाउन सकेकी छैनन्। जब उनी र उनका साथीहरु गगनगन्जको गल्लीभित्र छिरे, त्यहाँको दृश्यले अचम्मितमात्रै भएनन्, तर्सिए पनि। ‘त्यो गगनगन्ज जहाँ पचासको दशकमा बादी प्रथा अत्यधिक थियो,’ उनले भनिन्, ‘हामी त निकै डरायौं। महिलाहरु सिँगारिएर बसेका थिए। मोटो मोटा मान्छेहरु गल्लीमा हिँडिरहेका थिए। दृश्यले हिन्दी फिल्महरुमा देखेको रेडलाइड एरियाकै झल्को दिएको थियो।’
‘त्यसमाथि मैले लेख्न नसके पनि लेखक सरस्वती प्रतीक्षाले ‘नथिया’ उपन्यास नै लेख्नु भयो,’ उनले भनिन्।
गगनगञ्जको घुमाइले उनलाई बादी प्रथामाथि त लेख्न आँट आएन तर उपन्यास लेखिन्। तर किताब लेख्न सजिलो, छाप्न गाह्रो समय थियो।
‘कविता त स्कुलले छापेको थियो तर उपन्यास नेपालगञ्ज नर्सिङ क्याम्पस’ले छाप्ने कुरै भएन अनि म किताब छाप्न काठमाडौँ आएँ,’ उनले ती दिन सम्झिन्।
किताब छपाउने सपना देखेर काठमाडौँ आएकी नीलमले प्रकाशन गृहको राम्रै चक्कर लगाइन् तर किताब छापिदिने केही पाइनन्। समय थियो- जसले किताब लेख्छ उसैले किताब छाप्ने। तर उनी त नर्सिङको विद्यार्थी थिइन्। पढ्ने बेला किताब छाप्ने पैसा कहाँ पाउनु?
‘मेरो पुस्तक छाप्ने कोही पनि छैन् कि क्या हो, यसरी घरमा पुगेर भनेँ,’किताब छाप्न नसकेको निराशा उनले त्यतिखेर आमा र दिदीलाई जस्ताको तस्तै सुनाइन्।
किताब नछापिँदा नैराश्यबाट गुज्रिएको केही दिनमा उनकी आमा मीनाले केही पैसा दिइन्। उपन्यास छापियो- मौन जीवन र नियतिको खेल।
आमाको सञ्चय कोषको २५ हजार रुपैयाँ खर्चेर उपन्यास छापिँदा उनी २० वर्षकी थिइन्।
‘सानो बेला डर नलाग्ने हुँदोरहेछ। जति थोरै चेतना त्यति थोरै डर। फेरि किताब छापिएको हेर्ने रहर थियो। आमाले दिएको पैसाले किताब छापेँ। किशोर उमेरमा बाआमाको सम्पत्तिमा छोराछोरी हक लाग्छ नि भन्ने हुँदोरहेछ। मैले पनि त्यो समय त्यही सम्झिएँ, ‘उनी भन्छिन्,’आमाले त जीवनभरीको पुँजी दिनु भएको थियो। आमाको त्यो आँट देखेर अहिले डर लाग्छ।’
आज आमा मीनालाई सम्झिँदा उनी निकै भावुक हुन्छिन्। आमाले किताब छाप्न दिएको सञ्चय कोषमा राखेको पैसा थियो। उनी भन्छिन्, ‘आमाले भविष्यमा दु:ख पर्दा निकालौँला भनेर सञ्चित गरेको पैसा किताब छाप्न दिनुभयो। सन्तानको खुसीका लागि गर्नु भएको थियो। मलाई प्रोत्साहन गर्न लगानी गर्नु भएको थियो।’
आमा मीनाले गरेको योगदानको कदर गरेकी छन् उनले। आमा शिक्षण पेशामा लागेकी हुनाले असल शिक्षकलाई आमाको नामबाट सम्मान गर्ने लक्ष्यले उनकी दिदी प्राध्यापक डाक्टर आरती कार्की र उनी भएर ‘उत्कृष्ट महिला शिक्षक पुरस्कार’ स्थापना गरेकी छन्। ५१ हजार राशिको पुरस्कार आमाको सम्झना र सम्मानमा ‘मीना दिदी पुरस्कार’को नाममा राखिएको छ। त्यसैगरी२०७२ मा उपन्यास’चीरहरण’का लागि पद्मश्री पुरस्कार पाइन्। पाएको २ लाख आफ्नो श्रीमान पढेको स्कुलमा सहयोग गरिन्। नीलमको दाजु डा. देवेन्द्र कार्की र बुवा भद्रबहादुर कार्की २०५६ मा दुर्घटनामा परेर दिवङ्गत भएका थिए।
महाभारतकी नायिका द्रौपदीलाई मुख्य पात्र बनाएर ‘चीरहरण’ उपन्यास लेखेकी थिइन्।
नीलमले जीवनमा ११ वटा किताब लेखिन्। उपन्यास’योगमाया’लेखेपछि भने उनको चर्चा ह्वात्तै बढ्यो। अहिले त उनैलाई ‘योगमाया’ भनेर चिन्नेहरू पनि छन्। ‘नीलम नभनेर,योगमाया भनेर चिन्न थाले।’
मदन पुरस्कार (२०७४)जितेको यो कृति नेपाली इतिहासले कहिल्यै बिर्सिन नसक्ने योगमायाको जीवनमा आधारित छ। उनी भन्छिन्,’हामीले जुझारु पात्र भनेर पनि चिन्छौँ योगमायालाई।’
योगमाया न्यौपाने (वि.सं. १९२४ – वि.सं. १९९८) पूर्वी नेपालको भोजपुर जिल्लामा जन्मिएकी एक नेपाली धार्मिक गुरु, महिला अधिकारकर्मी तथा कवयत्री थिइन्।
नीलमका अनुसार राज्यले योगमायालाई चिन्न नसकेको छैन्। योगमाया एक विद्रोही नारी थिइन्। ‘उनलाई भाषण र नारी दिवस या कुनै कार्यक्रममा सम्झिएर मात्रै पुग्दैन,’ नीलम भन्छिन्,’योगमायाले नारी मुक्तिका लागि मात्र वकालत गर्नु भएन। सिंगो समाजलाई राम्रो बनाउन आवाज उठाउनु भएको थियो। जातका विरुद्ध अवाज उठाउनुभएको थियो। भ्रष्टचारका विरुद्ध पनि उहाँले राणाहरूलाई भेटेर कुरा गर्नु भएको थियो। महिलाले पनि बेद पढ्न पाउनु पर्छ भन्ने माग लिएर अगाडि बढ्नु भएको थियो।’
नीलम थप्छिन्, ‘विदुषी योगमाया विश्वविद्यालय र उहाँको नामको हुलाक टिकटले मात्र उहाँको सम्मान पुग्दैन। उहाँले परिकल्पना गरेको समाज जबसम्म निर्माण हुँदैन तबसम्म सच्चा सम्मान हुँदैन भन्ने लाग्छ।’
नीलमको अनुसार योगमाया जत्तिको नारी पात्र आजको समाज पाउन गाह्रो छ। उनी भन्छिन्, ‘योगमायालाई नारी मुक्ति र समाधिमा मात्र लगेर जोडिन्छ। उहाँले नारीका लागि मात्र हैन, सामाजिक मुक्तिका लागि काम गर्नु भएको छ।’
योगमायाले समकालीन समाज र राज्य व्यव्थासँग राखेका सबै मागहरू त्यतिबेला त पूरा भएनन् नै, आजको व्यवस्था र समाजले पूनि पुरा गर्न नसकेको बताउँछिन् उनी।
इतिहास अध्ययन र यसको सीमितता, ऐतिहासिक आख्यान लेखन र लेखकीय दायित्य बारे सधैं गम्भीर नीलमलाई योगमाया किताब लेख्नका लागि रेडियोकर्मी दाहाल यज्ञनिधिले सुझाएका थिए। नीलम आफूलाई पढाउने गुरु भन्दा माथि राख्छिन् दाहाल यज्ञनिधिलाई।
कुनै समय रेडियो नेपालमा साहित्यिक कार्यक्रम चलाउँथिन् नीलम। उनलाई गाइड गर्थे दाहाल यज्ञनिधि। रेडियो नेपालमा पठाइएका रचनाहरु दाहाल हेर्थे। अस्वीकृत रचनाहरु दाहाल डस्टबिनमा फ्याँकिदिन्थे। नीलम ती रचनाहरु कोही नभएको बेला निकाल्थिन् र स्वीकृत हुने रचना लेख्न हौसिन्थिन्। भन्छिन्, ‘उहाँको संगतले मलाई योगमाया लेख्न जुरेको हो। उहाँले नै विजारोपण गरिदिनु भएको हो। उहाँले खोज तथा अनुसन्धानमा पनि सघाउनु भयो। अनि म भोजपुर गएँ।’
नीलम भोजपुरको धोत्ले भन्ने ठाउँ पुगिन्। निकै दु:खका साथ योगमायाका बारेमा तथ्यहरु बटुलिन्। उनी योगमायाका गाउँ जाँदा बर्खा लागेको थियो। चिप्लो बाटो थियो। त्यो यात्रामा कसैले सम्झाएको अहिले हामीलाई पनि सुनाइन्, ‘अर्काको इतिहास लेख्न आफ्नो इतिहास नबिगार्नुस् है दिदी भनेर त्यो भाइले मलाई सम्झाएको थिए। तर म डराइन् पहाडको चिप्लो बाटो हिँड्न। किनकि मेरो बाल्यकाल किशोर उमेर पाल्पाकै पहाडी क्षेत्रमा बितेको थियो।’
जीवन अमेरिकामा अभ्यस्त भए पनि उनका मनमष्तिस्कले नेपाल शब्द नै केलाइरहेका हुन्छन्। इतिहासका पात्र खोजिरहेकी हुन्छन्। अमेरिकामा सम्पन्नशील जीवन चले पनि उनी गाउँ बिर्सिएकी छैनन्। भन्छिन्, ‘मेरो जीवनको महत्वपूर्ण समय पाल्पामै गयो। कही छुटेको रहेको वा अल्झेको छ भने त्यही छ।’
नीलमको अर्को उपन्यास हो ‘द्रौपदी अवशेष’। कर्णाली प्रदेश, त्यसमा पनि हुम्लाको उच्च हिमाली भेगको बहुपति विवाहको कथामा आधारित ‘द्रौपदी अवशेष’ एक सांस्कृतिक उपन्यासका रुपमा लिइन्छ।
नीलम साहित्यको गम्भीर पाठक पनि हुन्। ०४९ सालमा नर्सिङ क्याम्पस भर्ना भएसँगै कलेजको पुस्तकालयमा उनको दिन बित्थ्यो। पुस्तकालयबाट ‘प्रेमपिण्ड’ ‘माधवी,’पारिजातको ‘शिरीषको फूल’ र बिपीको ‘सुम्निमा’ हो । उनले त आफ्नै विवाहमा मार्क्सको पुँजी पाएकी थिइन्। उनी भन्छिन्, ‘मेरो झोलामा मेकअपका सामान भन्दा किताब हुन्थ्यो। अहिले पनि किताब नै हुन्छ।’
नीलम नेपालगञ्जलाई भने खुब मिस गर्छिन्। नयाँ कपडा लगाएर नेपालगन्ज सहरको गल्लीहरुमा सफर गरेको क्षणहरु उनको मानसपटलबाट अझै मेटिएको छैन। भन्छिन्,’नेपालगञ्ज मेरो जीवनको टर्निङ पोइन्ट हो।’
नीलम अमेरिकातिर बस्न थालेपछि नेपालमा हुने साहित्यिक गतिविधिलाई खुब मिस गर्छिन्। उनी भन्छिन्, ‘अमेरिका बस्नेहरु व्यस्त हुन्छन् भन्छन्। म अमेरिका बसेर पनि नेपाली उपन्यास नै लेखिरहेको हुन्छु। अहिले फुल टाइम लेख्छु। बरु नेपालमा हुने साहित्यिक कार्यक्रम छुटेकोमा साह्रै खट्किन्छ। नेपालमा बसेर लेख्न पाए हुन्थ्यो भन्ने लागिरहँदा रहँदै पनि पारिवारिक कारणले उता बस्न परेको छ।’