- मनीषा बोसेलको मिर्गौला समस्याले उनको परिवार आर्थिक रूपमा कमजोर बनाएपछि सहयोगको लागि अपिल गरिएको छ।
- मिर्गौला प्रत्यारोपणको आवश्यकता भएका कमल नेपालीको आर्थिक अवस्था कमजोर हुँदा उपचार प्रक्रिया अगाडि बढ्न सकेको छैन।
- नेपाल सरकारले मिर्गौलाका बिरामीलाई निःशुल्क डायलायसिस दिए पनि प्रत्यारोपणका लागि थप आर्थिक सहयोग आवश्यक देखिएको छ।
गलकोट (बागलुङ) – मिर्गौलामा समस्या देखिँदा मनीषा १७ वर्षकी थिइन्। उनी १२ कक्षामा पढ्थिन्। औषधि खाएर निको हुन्छ भनेको समस्या बल्झिँदा बल्झिँदै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुगेको छ।
बागलुङ नगरपालिका–१ निवासी मनीषा बोसेलले मिर्गौलामा समस्या देखिएर औषधि खान थालेको सात वर्ष भयो। डायलायसिस गराउन थालेको चार वर्ष भयो। सामान्य आर्थिक अवस्था भएका मनिषाको परिवार यतिबेला उनको उपचार गराउँदा गराउँदै विपन्न भएको छ। स्वास्थ्य समस्याकै बीचमा स्नातक भर्ना भएकी मनीषाले रोगसँग लड्दा पढाइलाई निरन्तरता दिन सकिनन्। स्वास्थ्यले मात्र होइन अर्थ पनि नभ्याएपछि बाच्नेसँगै पढ्ने पनि मनीषाका लागि सङ्घर्ष बन्दै छ।
मनीषालाई चिकित्सकले मिर्गौला प्रत्यारोपणको सुझाव दिएका छन्। आमा मीना बोसेल मिर्गौला दिन तयार छिन्। तर जाँच, प्रत्यारोपण र त्यसपछिको रेखदेखका लागि बोसेल परिवारसँग पैसा छैन। रेडियो, टेलिभिजन र सामाजिक सञ्जालमा समेत मिडियाका माध्यमबाट आपिल गरि पैसा सङ्कलन गरेर उपचार सम्भव भएको समाचार सुनेका बोसेल परिवारले बागलुङमा पत्रकार सम्मेलन गरेर सहयोगको अपिल गरेका छन्।
मनिषा जस्तै धौलागिरि अस्पताल बागलुङमा डायलायसिस गराइरहेका जैमिनी नगरपालिका–७ धुल्लुका ३९ वर्षीय कमल नेपालीको पनि समस्या उस्तै छ। आर्थिक अवस्था कमजोर रहेका कमललाई मिर्गौलामा समस्या देखिएको चार वर्ष पुग्यो। श्रीमती, छोराछोरी र आमाबुबाको समेत जिम्मेवारी रहेका कमलालाई चिकित्सकले मिर्गौला प्रत्यारोपणको सुझाव दिएका छन्। श्रीमतीले मिर्गौला दिन तयार भए पनि आर्थिक अवस्था कमजोर हुँदा कमलले जाँचको समेत प्रक्रिया अगाडि बढाउन सकेकी छैनन्।
धौलागिरि अस्पतालमा हप्ताको दुई दिन निःशुल्क डायलायसिस गर्दै आएका कमललाई सरकारले दिने मासिक रु पाँच हजार सहयोगी भए पनि साध्य हुन सकेको छैन। मिर्गौला मिल्ने गर्नेदेखि प्रत्यारोपण गर्नेसम्मको प्रक्रियाका लागि चिकित्सकले न्यूनतम रु २० लाख खर्च हुन्छ भनेका छन्। तर, कमलसँग निःशुल्क डायलायसिस गर्न अस्पताल आउने जाने भाडासमेत छैन।
धौलागिरि अस्पताल बागलुङमा ७० जनाले नियमित डायलायसिस गराइरहेका छन्। केही अझै पालोको पर्खाइमा छन्। नेपाल सरकारले मिर्गौलाका बिरामीलाई मासिक रु पाँच हजारसहित डायलायसिस सेवा निःशुल्क दिएको छ। मिर्गौलाले काम गर्न छाडेपछि कि नियमित डायलायसिस गर्नुपर्छ कि मिर्गौला प्रत्यारोपण गर्नुपर्छ। आर्थिक अवस्था कमजोर भएका बिरामीका लागि सरकारले दिएको डायलायसिससँगै रु पाँच हजार प्रत्यारोपणका लागि पर्याप्त नहुँदा सहयोगको अपिल गर्नुपर्ने बाध्यता भएको कमलले बताए।