- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जटिल शल्यक्रिया र आधुनिक रेडियोलोजी सेवा उपलब्ध गराई पश्चिम नेपालको सेवा विस्तार गरेको छ।
- प्रतिष्ठानमा विशेषज्ञ सेवाहरू जस्तै न्युरो, युरो सर्जरी र मानसिक रोग उपचारका लागि छुट्टाछुट्टै टोली परिचालित छन्।
- १२८ स्लाइसको सिटी स्क्यान र सिविसिटि मेसिनसमेत सञ्चालनमा ल्याई स्वास्थ्य बीमा कार्यक्रममार्फत सामाजिक उत्तरदायित्व बहन गरिएको छ।
दाङ- पछिल्लो समय राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो सेवा विस्तार गर्दै पश्चिम नेपालकै भरपर्दो उपचार केन्द्रको रूपमा पहिचान बनाएको छ।
२४ सै घण्टा आकस्मिक (इमर्जेन्सी) सेवा सञ्चालन गरिरहेको प्रतिष्ठानले अहिले जटिल शल्यक्रियादेखि आधुनिक रेडियोलोजी सेवासम्म उपलब्ध गराउँदै आएको छ। दाङ र आसपासका नागरिकले अब सामान्यदेखि जटिल उपचारका लागि बुटवल, नेपालगन्ज वा काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य हुँदै गएको छ।
प्रतिष्ठानमा हाल जनरल मेडिसिन, जेष्ठ नागरिक उपचार, बालरोग, छाला तथा यौनरोग, नाक-कान-घाँटी र हाडजोर्नी जस्ता आधारभूत विशेषज्ञ सेवाहरू निरन्तर सञ्चालनमा छन्। साथै, न्युरो सर्जरी र युरो सर्जरी जस्ता जटिल विधाका सेवाहरू थप हुनुले यस क्षेत्रको स्वास्थ्य सेवामा ठूलो सुधार आएको छ। मानसिक रोग, दन्तरोग र आँखा उपचारका लागि पनि छुट्टाछुट्टै विशेषज्ञ टोली परिचालन गरिएको छ।
निदान (डायग्नोसिस) तर्फ प्रतिष्ठानले प्रविधिमा विशेष जोड दिएको छ। यहाँ १.५ टेस्लाको अत्याधुनिक MRI, १२८ स्लाइसको सिटी स्क्यान, भिडियो एक्सरे र कम्प्युटराइज एक्सरे सेवा उपलब्ध छन्। प्रयोगशालामा अत्याधुनिक मेसिनहरूबाट गरिने परीक्षणका साथै हिस्टोप्याथोलोजी, FNAC र टीबी परीक्षणका लागि जिन एक्सपर्ट प्रविधि जडान गरिएको छ। दन्त सेवातर्फ मुख र अनुहारको सिटी स्क्यान गर्ने सिविसिटि (CBCT) मेसिन समेत सञ्चालनमा ल्याइएको छ।
गम्भीर बिरामीहरूको जीवन रक्षाका लागि प्रतिष्ठानमा १० बेडको सुविधासम्पन्न आइसीयु (ICU) का साथै नवजात शिशु र बालबालिकाका लागि NICU र PICU सेवा २४ सै घण्टा उपलब्ध छ। मृगौलाका बिरामीहरूका लागि १६ बेडको निःशुल्क डायलासिस सेवा सञ्चालनमा छ भने सरकारी कार्यक्रम अन्तर्गत आमा सुरक्षा, ART, डट्स (DOTS) र सिकल्सेल जस्ता उपचारहरू पूर्ण रूपमा निःशुल्क प्रदान गरिँदै आएको छ।
व्यस्त नागरिकहरूलाई मध्यनजर गर्दै प्रतिष्ठानले विस्तारित स्वास्थ्य सेवा (EHS) समेत सुरु गरेको छ। जस अन्तर्गत दिउँसो १२ बजेदेखि टिकट लिएर साँझ ५ बजेसम्म विशेषज्ञ चिकित्सकबाट परामर्श लिन सकिन्छ। स्वास्थ्य बीमा कार्यक्रम र एकद्वार संकट व्यवस्थापन केन्द्रमार्फत सामाजिक उत्तरदायित्व वहन गरिरहेको यस प्रतिष्ठानले पश्चिम नेपालको स्वास्थ्य क्षेत्रमा नयाँ इँटा थपेको छ।