सहरका तान्त्रिक गल्लीतिर बिहानै जोगी पहिरनमा चिण्डे तालु लिएर एक्लै कोही हिँडिरहेको देख्नु भयो भने नतर्किनु होला। ती फिक्सन डिजाइनर कुमार नगरकोटी हुन्।
उमेरले हाफ सेन्चुरी हिँडेका नगरकोटीले जीवनमा गन्तव्यलाई कहिल्यै यात्रा बनाएनन्। बरु यात्राका लागि मात्र यात्रा गरे। यात्रालाई लिएर उनको आफ्नै दर्शन छ। यस्तै यात्राको क्रममा गए आइतबार देश सञ्चार चौतारी पुगेका थिए। देशसञ्जार परिवारलाई सहरका ऐतिहासिक घाट-गल्ली सयर गराए उनले। मनका अनेकन कुराहरु चौतारीमा बिसाइगए। उनी हिन्दीमा गुनगुनाउँछन्, ‘जिन्दगीकी इस लम्बी सफरमे राश्तौँ से महोब्बत हो गइ है। मञ्जिलकी यैसी कि तैसी। I am in love with the journey.’
‘हु केयर्स मञ्जिल, त्यो त बालै भएन’ भन्ने नगरकोटीले कुनै समयतालिका बनाएर जीवन बाँचेनन् । भन्छन्, ‘मैले कहिल्यै समय तालिका बनाएर हिँडिन। कहिल्यै गन्तव्य खोजेर हिँडिन, मेरा लागि यात्रा सुन्दर हो।’
सहरका चियालयहरुमा अझै सेलाएको छैन, ‘यदाकदा ’एन इभिनिङ अफ म्युजिकल पोएट्री’ को गफ। डिसेम्बर २५ को ठिहिराउँदो साँझ प्रदर्शनीमार्गस्ठित राष्ट्रिय सभागृहको हलमा अनुप तिमिल्सिनाको अलौकिक सांगीतिक धुनसँगै नगरकोटीले गुनगुनाएको कविताको स्वाद हाम्रा इन्द्रीयबाट छुटिसकेका छैनन्। काव्य इतिहासमा यदाकदा कन्सर्ट अविस्मरणीय नै बन्यो ।
जीवनमा कविता लेखन स्कुलबाटै सुरु गरेका थिए नगरकोटीले। आठ-दश कक्षाबाटै कविताको लतमा परे। उनले कक्षा नौमा पढ्दा नै कविता लेखेर पुरस्कार जिते। कविताको शीर्षक थियो- ‘वाचिङ द एग्जिस्टेन्स थ्रु टेलिस्कोप’।
नगरकोटी आख्यानमा लहसिएको भने ईश्वर बल्लवको कथा संग्रह ‘नीलो माटो’ पढेर हो। उनी भन्छन्, ‘नीलो माटो’ कथा संग्रहले मलाई यसरी कथा लेखनको लतमा पारिदियो कि मैले कक्षा दशमा कथा लेखेँ । कथा छापियो । पछि शिक्षकले भन्नु भयो- माष्टरमा पढ्ने विद्यार्थीले पनि यत्तिको कथा लेख्न सक्दैनन् । यो सरको बुझाइ थियो।’
उनले ‘नीलो माटो’ कथा संग्रह लाइब्रेरीबाट नभनिकनै ल्याए र कहिल्यै फर्काएनन्।
‘ईश्वरवल्लभ त ठूला कवि हुन्। नेपाली साहित्यको कवितामा उहाँको योगदान एकदमै ठूलो छ। तर मलाई कहिल्यै पनि ईश्वरवल्लभ कविजस्तो लाग्दैन। मैले पहिलोपटक उहाँको कथा पढेको हुँ, नीलो माटो शीर्षकको। त्यसैले मलाई उहाँप्रति जहिल्यै कथाकारको रुपमा प्रेम भइरह्यो। अरुको लागि कवि होला, मेरा लागि ईश्वरवल्लभ ‘स्टोरीटेलर’ हो,’ उनले भने।
‘मोक्षान्त: काठमाण्डु फिभर,’ ‘मिस्टिका,”अक्षरगञ्ज,”फोसिल,’ ‘ज्ञ,”घाटमाण्डु,’ ‘कल्प ग्रन्थ,”जोगियाना’ किताबका लेखक नगरकोटी जीवनमा धेरैपटक विरक्तिए । अराजक जीवनशैली बाँचे । घाटहरुमा बसे । ढुंगेधाराहरुमा उनी नग्न मायालु साबुन लगाएर नुहाउँथे। भन्छन्, ‘मायालु साबुनको सुगन्ध मेरो नाकबाट अझै छुटेको छैन।’
घरको आरामदायी बेडमा भन्दा पाटीपौवामा उत्तानो परेर निदाउन बढी चैन मिलेको बताउँछन् उनी। एकदिन राति उनी बागमती किनारमा सुतिरहेका थिए, प्रहरीले लगेर थुनिदियो । ‘प्रहरीले जाउलाखेल लगेर थुन्यो, जहाँ कयौँ अपराधीहरु थिए। कोही रेप गरेको कोही मर्डर गरेका कोही चोरेर आएका थिए। म जोगी सुतेको कारण लगेर थुनिदियो’, कुमार भन्छन्, ‘प्रहरीले सोधे के गर्नु हुन्छ भनेर, मैले भनेँ- म कथाकार हुँ, कथा लेख्छु। कस्तो कथा लेख्नु हुन्छ भनी सोध्नुभयो। अलि फरक खालको कथा लेख्छु। महेशविक्रम शाह चिन्नुहुन्छ भनेर सोध्नुभयो। चिन्छु भनेँ। दुई रात राखेर छोडिदिए। पछि ती प्रहरीले मेरो कथा पढ्न थालेका रहेछन्। धेरै वर्षपछि उनै प्रहरीले मेरो खुब तारिफ गरे।’
नगरकोटीसँग अनेकन किस्सा छन् जसको मुख्य पात्र उनी स्वयं हुन् । आफू वरिपरिको समाज र पात्रमाथि लेखेर उनी उम्दा लेखक भइदिए ।
कथा, संस्मरण, उपन्यास हुँदै ग्राफिक नोभेलसम्म लेखेर नेपाली साहित्यमा ‘फिक्सन डिजाइनर’का रूपमा परिचित नगरकोटी चल्तीको साहित्यिक गोरेटोबाट फरक हिँडे । कुनै समय शिक्षण पेशा गरेर जीवन चलाउन लागेका थिए । तर मिस्टिक लेखनताका उनले शिक्षण पेशा छाडेर फुल टाइम लेखे । जीवन लेखनबाटै चलिरहेको छ।
आफ्नो लेखनमा जहिल्यै ‘एक्सपेरिमेन्ट’ गर्ने नगरकोटी नयाँ नयाँ ‘थट्स’मा कलम चलाइरहन्छन्। उनलाई प्रकृतिमा त्यति रुचि छैन । तर सहरका मन्दिर र टुँडालहरुमा भएका कलाले उनलाई अर्कै दुनियामा पुर्याउँछ । भन्छन्, म खासै प्रकृतिसँग रमाउन सक्दिनँ । बरु म क्याफेहरुमा सजाइएका डिजाइन मन पराउँछु। रङहरुमा हराउँछु।’
नगरकोटीको पहिरन पनि भिन्न छ । उनी रङहरुको संयोजन र अर्थपूर्ण बनाउँछन् । ‘म सहरमा सजाएर वा झुण्डाएर राखेका कपडामन पराएपछि किन्न खोज्दा यो त लेडिज हो भन्छन् । म फरक पर्दैन भन्दै लिन्छु,’ उनी भन्छन्, ‘मैले एउटा महिलाको साडी मन पराएँ । अब मन पराइहालेँ । किने र कुर्ता सिलाएँ ।’
जे गर्नु छ गर्ने । नगरकोटीका प्रिय मित्र रंगकर्मीले नाटक लेख्नु पर्यो भने । उनले लेखौँ त भनेर लेखे,’कोमा: द पोलिटिकल सेक्स। अहिले पनि उनी घिमिरे युवराजले मलाई नाटककार पनि बनाए भनेर उनै नगरकोटीका मुखारबृन्दबाट सुन्न पाइन्छ । नगरकोटीले ‘ट्रान्जिट’ भन्ने अर्को नाटक पनि ।
उनको पहिलो रुची सिनेमा हो। संगीत हो र लेखन । जीवनको युवाकालमा उनले गीत बनाए । गाए । म्युजिक भिडियो बनाए तर ती सबै पछाडि छुटे र उनको आख्यान, नाटक, कवितामा अग्लिदै आए । भन्छन्, ‘सिनेमा त एकदिन कसो निर्देशन नगरिएला।’
विश्वको सिनेमाको बारेमा जानकार नगरकोटीलाई पछिल्ला नेपाली फिल्म मन पर्न थालेको छ। राम्रा फिल्म निर्देशक त आए तर लगानीकर्ता आउन नसकेको बताउँछन्।
मनोवैज्ञानिक तबरले कथा तथा फिल्म आउन नसकेको उनको बुझाइ छ।
विश्व साहित्य संगीत र सिनेमाका प्रशंसक नगरकोटीले ओशो पनि पढे । यति ओशो पढेकी तपोबन नगई धर पाएनन् । काठमाडौँ खाल्डोलाई पृष्टभूमिमा पार्दै पैदल तपोवन पुगेका नगरकोटी भन्छन्, ‘जब म तपोबन पुगेँ अनि आफ्नो प्रवेशका लागि अनुमति मागेँ । तर कसैले आफूले लगाएको जस्तै वस्त्र लगाएर आउनुस् भने । अब वस्त्र लगाउनमा के हानि छ नेर म वस्त्र पाउने ठाउँमा पुगेँ । वस्त्र मागेँ । २५ रुपैयाँ दिनुस् भने । म छक्क परेँ । म पैसा लोभ लालचलाई छोडेर विरक्तिएर आएको हुँ तर तपोबनमा पनि पैसा मागेँ । अनि म फर्किएँ ।’
तान्त्रिक गल्लीबाट बसाइँ सरिआएका ;’बिरलाकोटी’ उर्फ नगरकोटीलाई’जरा हट के’ गर्न मन लाग्छ। जीवनमा खासै विश्वविद्यालय गएनन् । तर विश्व विद्यालयका पाठ्यक्रमहरुमा पढाइने दार्शनिकहरु बारे उनी राम्रै जानकार छन् ।
एकदिन लेखक खगेन्द्र संग्रौलाले दिएको कलम र डायरीका बारेमा ‘ऊ कम्युनिस्ट मेनिफेस्टो पढिरहेको छ’ कविता लेखे र सुनाए। अनि संग्रौलाले दिएको डायरीमा कविता लेखेर कम्युनिष्टमाथि दरो व्याङ्ग्य गरे उनले। ‘मैले दिएको कलम डायरीले मलाई नै दरो हान्यो नगरकोटीले भन्नु भएको थियो खगेन्द्र दाइले,’ उनले भने ।
पुँजीवादको जन्त गएकाहरू
भतेर खाएर आइसके
ऊ कम्युनिस्ट मेनिफेस्टो
पढिरहेको छ।
स्वरैकाल्पनिक कथा बुनाइमा मग्न नगरकोटी घाटसँगै सहरका मधुशालाहरूमा पुगिरहन्छन्। कहिले नेवारी भट्टीहरूमा अएलाको चुस्की लिँदै गफिन्छन् त कहिले शान्त गल्लीहरूमा टोलाइरहन्छन्।
पुर्ख्यौली घर खुर्कोट भए पनि बुवा प्रहरीमा भएकाले नगरकोटीको यात्रा आमाकै पेटमा हुँदादेखि नै सुरु भयो। काठमाडौँमा जन्मिए तर हुर्किए पश्चिम पहाडी जिल्लाहरुमा। गाउँमा अहिले पनि आमा हुनुहुन्छ। उनी बालकुमारीमा श्रीमती र एक सन्तानका साथ बस्छन्।
उनी भन्छन्, ‘मेरो बाल्यकाल फरक–फरक ठाउँमा बित्यो। म एउटै ठाउँमा बसिनँ। बुबा पुलिस अफिसर भएकाले उहाँको सरुवा जहाँ हुन्थ्यो, म त्यहीँ गएँ। मेरो बाल्यकाल तराईदेखि हिमाल र पहाडका विभिन्न ‘पकेट्स’मा बित्यो।’
२०५४ मा बुवा रत्नबहादुर बित्दा नगरकोटीसँग कात्रो किन्ने पनि पैसा थिएन । जीवनमा नवराजबाट राजकुमार अन कुमार हुँदै उनी कुमार नगरकोटी भएका हुन् ।
‘स्पिरिच्युअल्ली’, कुरा पनि गर्छन्। उनी आफूलाई चरा ठान्छन् । भन्छन्,’म चरा जस्तो हुँ । मेरो कुनै जात छैन। मेरो घरमा पनि म मात्र हो नगरकोटी, सबैले श्रेष्ठ लेख्छन्। घरपरिवारमै म ‘आउटसाइडर’ छु। जुन साहित्य गरिरहेको छु, त्यहाँ त ‘आउटसाइडर’ अवश्य छु म।’
उनी खुसीका कुरा गर्छन् । सुखका कुरा धेरै पर हुने बताउँछन् नगरकोटी । ‘खुसी नजिक हुन्छ । त्यो वर्तमान हो । र सुखी भन्ने चिज पर हुन्छ । जो भविष्य हो।’ उनले भने ।