- हस्त गौतम, जो अमेरिकी नागरिक हुन्, मानव तस्करीका आरोपमा पक्राउ परे पनि हाल प्रहरीको पहुँचभन्दा बाहिर रहेका छन्।
- जेनजी आन्दोलनको मौका छोप्दै कैदीबाट भागेका गौतमजस्तै अन्य १४,५५९ मध्ये ९,९६६ जना पुन: पक्राउ परिसकेका छन्।
- गौतमको अमेरिकी नागरिकता र कमजोर शारीरिक अवस्था हुँदा पनि उनी प्रहरीको ठूलो चुनौती बनेका छन्।
नाम- हस्त गौतम
देश- अमेरिका
मुद्दा- मानव बेचबिखन तथा ओसारपसार।
माथिको परिचय भएका व्यक्ति प्रहरीको फरार सूचीमा छन्। तीन महिना अर्थात जेनजी आन्दोलको दोस्रो दिन २४ भदौमा उनी केन्द्रीय कारागार जगन्नाथ देवलगणबाट भागेका थिए।
उनीजस्तै जेनजी आन्दोलनको फाइदा उठाउँदै जेलबाट १४ हजार ५ सय ५९ जना भागेकोमा सोमबार (पुस ७ गते)सम्म नौ हजार नौ सय ६६ जना पुन: जेल जीवनमा फर्किएका छन्।
फर्किएकामध्ये कोही आफै फर्किएका हुन् भने कतिपयलाई प्रहरीले पक्राउ गरी जेल फर्काएको हो।
तर जो अरुको सहायताविना हिँड्डुलसम्म गर्न सक्दैन, उनै गौतम प्रहरीको राडारबाट गायब भएका छन्। उनी सानै उमेरमा अपांगता भएका व्यक्ति हुन्। ह्वीलचियरको सहायतामा मात्र उनी हिँड्डुल गर्न सक्छन्।
तिनै व्यक्ति जेनजी आन्दोलन सकिएको तीन महिनाभन्दा बढी हुँदासमेत प्रहरीलाई मात खुवाउने गरी गायब भइदिएका छन्। नेपालीलाई अमेरिकामा बेचबिखन गर्ने गौतम ८ असोज २०८० मा पुर्पक्षका लागि जेल चलान भएका थिए।
काठमाडौँ जिल्ला अदालतसामु उनले दुई सयभन्दा बढीलाई अमेरिकामा पठाएको स्वीकार गरेका थिए। अमेरिका पठाउने भन्दै विभिन्न देशमा लगेर बन्धक बनाएको र फिरौती मागेकोलगायत आरोप लगाउँदै केही युवाले प्रहरीमा उजुरी दिएपछि त्यसकै आरोपमा गौतम जेल परेका हुन्।
जेनजी आन्दोलनको फाइदा उठाउँदै उनी जेलबाट निस्किएकोमा अहिले यसरी गायब भइदिएका छन् कि प्रहरीको राडारले काम गरेको छैन। जेनजी आन्दोलनमा भागेकामध्ये अझै चार हजार पाँच सय ९३ जना फर्किन बाँकी छन्।
तर गौतम अपांगता भएर पनि लुक्न सफल हुनुले प्रहरीको टाउको दु:खाइ बनिदिएका छन्।
रुकुम पूर्वको सिस्ने गाउँपालिका- ३ नाथिगाढमा जन्मिका उनी अमेरिकी नागरिक हुन्। २०६२/६३ तिरै अमेरिका पुगेर नेपाली नागरिकता त्याग्दै उनी अमेरिकी नागरिक बनेका थिए।
प्रहरीले जेनजी आन्दोलनको फाइदा उठाउँदै बाहिरी देश गएको हुन सक्ने आशंका पनि गरेको छ। यद्यपि जगन्नाथदेवलगणबाट भागेर कता गएका थिए भन्नेसमेत प्रहरीसँग जानकारी छैन।
विमानस्थल र सीमा नाकामा उनीबारे जानकारी मागरिएको छ। तर आजसम्म उनी कतैको राडारमा नदेखिएको मानव बेचबिखन अनुसन्धान व्यूराका प्रहरी प्रवक्ता एसपी विश्वराज खड्का बताउँछन्।
‘हाम्रो फरार सूचीमा छन्, उनी। सबै सीमानाका र विमानस्थलमा निगरानीका लागि भनिएको छ। यतैतिर छन् भन्ने कुनै क्लु पनि छैन’, खड्काले भने।
उनकाअनुसार जेनजी आन्दोलनमा फरार भएका गौतमलगायत मानव बेचबिखन अनुसन्धान व्यूरो अन्तर्गत फरार सूचीमा ७७ जना रहेका छन्। उनीहरूको खोजीका लागि विशेष टोलीले खटिएको एसपी खड्काले बताए।
गौतम बाहिरी मुलुक जान सक्ने सम्भावना कति?
गौतम अमेरिकी नागरिक भइसकेर पनि नेपालसँगै विभिन्न देशमा एजेन्ट खटाएर मानव तस्करको कार्यमा संलग्न थिए। उनीविरुद्ध उजुरी दर्ता भएपछि उनलाई नेपाल झिकाउन प्रहरीले निकै ठूलो मेहनत गर्नुपरेको थियो।
गौतमलाई नेपाल झिकाउन सुरुदेखि अनुसन्धानमा संलग्न तत्कालीन मानव बेचबिखन अनुसन्धान व्यूरोका प्रमुख एसएसपी जीवन श्रेष्ठ अहिले पनि भन्छन्– ‘धेरै मेहन गरेर उनलाई पक्राउ गरिएको थियो।’
उनकाअनुसार गौतम आफै हिड्डुल गर्न सक्ने व्यक्ति होइनन्। उनलाई अरुकै सहारा आवश्यक पर्छ। तत्कालीन व्यूरो प्रमुख श्रेष्ठ जेनजी आन्दोलनका कारण निस्किएपछि गौतम तत्कालै बाहिरी मुलुक जान सक्ने अवस्थाकाबारेमा विश्वास गर्दैनन्।
‘उनी (गौतम) आफै कुदेर जानेसक्ने व्यक्ति होइनन्। उनलाई कसैको सहारा चाहिन्छ। जनेजी आन्दोलनको केही दिन त बाहिर हिड्न सक्ने अवस्था पनि थिएन’, उनले भने ‘त्यसैले तत्कालै गौतम बाहिरी देश गइहाले भन्न सकिदैन। किन पनि हो भने, विमानस्थलमा निगरानी थियो। सिमा क्षेत्रमा पनि छिमिकी देशको कडाइ थियो।’
गौतम चुपचाप नेपालभित्र रहेको पनि हुनसक्ने उनी अनुमान गर्छन्। ‘अब बाहिर हिडडुल नगरेपछि त प्रहरीलाई पनि थाहा हुने कुरा होइन। कतै न कतै त देखिनुपर्यो। त्यसैले पनि उनी देशभित्र हुनसक्छन्’, श्रेष्ठ भन्छन्।
गौतमको बाहिरी देशमा राम्रो सम्बन्ध भएका कारण उनी अर्को देशमा पुगेर लुकिछिपी गरेर बस्नसक्ने व्यक्ति भएको पनि उनी बताउँछन्।
को हुन् गौतम?
रुकुम पुर्व सिस्ने गाउँपालिका- ३ नाथिगाढ गाउँमा जन्मिए पनि उनी काठमाडौँमा हुर्किएका हुन्। उनको कम्मरदेखि मुनिको भाग सानैदेखि कम चल्न थालेको थियो।
गौतमले कक्षा पाँचसम्म गाउँमै पढे। पछि उनलाई अपांगता क्षेत्रमा काम गर्ने संस्थाले काठमाडौं ल्यायो। उनी यतै हुर्किए।
०५१ सालमा पारा ओलम्पिक (अपांगता भएका व्यक्तिहरुको खेल) कमिटीको महासचिव भएका गौतम यहीक्रममा अमेरिका पुग्ने मौका पाएका थिए। पछि फेरि २०६२ सालमा उनी पुनः अमेरिका पुगेको बताइन्छ।
त्यस समयमा उनले मेक्सिकोबाट मानिसहरु अमेरिका छिर्न सकिने थाहा पाएका थिए। त्यसपछि तत्कालै नेपाल फर्किएर उनी श्रीमतीसहित तल्तो बाटो आफै अमेरिका पुगेका थिए।
त्यसबेला गौतम लठ्ठीको साहरामा हिडडुल गर्न सक्थे। लठ्ठीकै सहरामा उनी परिवारसहित हिडेर अमेरिका छिरेको बताइने गरिन्छ। अमेरिका छिरेपछि उनले द्धन्द्धबाट विस्थापित भनेर शरणार्थी निवेदन हाले। ग्रिन कार्ड पनि पाए।
पछि उनी आफै अन्य नेपालीलाई पनि अवैध मार्ग हुँदै अमेरिका पुर्याउने कार्यमा संलग्न भए। उनले नेपालदेखि बाहिरी देशसम्म एजेण्ट खडा गरे।
यतिसम्म कि उनले दुई सयभन्दा बढीलाई अवैधमार्गबाट अमेरिका पुर्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनलाई २० भदौ ०८० मा प्रहरीले भारतबाट पक्राउ गरी नेपाल भित्र्याएको थियो।
तर जेनजी आन्दोलनमा भागेका उनी अहिले प्रहरीलाई चक्मा खुवाइरहेका छन्।
(तस्बिर गोरखापत्र अनलाइनबाट साभार।)