उमेरले ७ दशक हिँडिरहेकी गायक तथा संगीतकार मीरा राणा अहिले पनि संगीतकै ध्यानमा हुन्छिन्। जीवनमा गीतसंगीतभन्दा पर सोच्न भ्याइनन्। हजारौँ गीत गाएकी मीराको जन्म गाउनकै लागि भयो। रेडियो नेपाल, नेपाल पुलिस क्लब, नेपाल प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय नाचघर, नारायणहिटी दरबारदेखि देशविदेशका मञ्चहरूमा सांगीतिक प्रस्तुति दिइन् मीराले र पनि आफूलाई संगीतको विद्यार्थी भन्छिन्, ‘अझै संगीत सिकिरहेकी छु। सायद सिक्दासिक्दै मर्छु होला।’
बोल्दाबोल्दै देश सञ्चार चौतारीमा मीरा भावुक भइन्। उनका आँखा आँसुले भरिए। गला अबरुद्ध भए। कोमल हृदयकी मीराले गीतसंगीतका कुरा मात्रै गरिनन्, आफ्नै जीवनको सात दशकका अनुभव पनि सुनाइन्, ‘बुवा हुनुहुन्थेन भने सायद म सांगीतिक दुनियाँमा आउँथिन हुँला।’
बीसको दशकमा मीराका बुवा अर्थात सङ्गीतप्रवीण शम्भुप्रसाद मिश्र रेडियो नेपाल र राजदरबारमा तबलावादक थिए। मीराको पारिवारिक माहोल साङ्गीतिक थियो। उनै मिश्र साइकल चलाउँदै घर फर्किदा मीराले रुखमा बसेर गाइरहेको गीत सुने। तर खासै चासो दिएनन् मिश्रले। पछि मीराले नै तारादेवीलाई भेटाइदिन अनुरोध गरिन्। अब त्यति ठूलो गायिकालाई भेटाउन मिश्रले छोरी मीरासँग राखेको शर्तलाई जस्ताको तस्तै सुनाइन्, ‘तारादेवीलाई भेट्ने भए तिमीले गीत गाउनु पर्छ। गीत गाउने भनेपछि म खुसी भइहालेँ।’
मिश्रकै संगीतमा गीत तयार भयो। मीराले गाइन्। त्यो पनि रेडियो नेपालको प्रतियोगिता– ०२२ का लागि जतिवेला उनी १४ वर्षकी थिइन्। उनको जन्म १९ असोज २००८ मा भएको हो, काठमाडौं कमलपोखरीमा।
मीराका बुवा बिहान रेडियो नेपाल र दिउँसो दरबारमा जागिर गर्थे। बिहान सिकाएको गीत दिउँसो मीराले बिर्सिन्। मिश्रले पनि बिर्सिए। मिश्र रिसाएर कार्यलय निस्किए। बाटोमा उनलाई गीतको लय याद भयो। फर्किए। मीरालाई सुनाए। मीराले पनि झट्टै सम्झिन्। तर शब्द हेरेर नगाउनु बरु शब्दलाई शरीरमा भिजाएर गाउनु भन्ने बुवाले दिएको बचन मीराका लागि गुरु मन्त्र जत्तिकै भयो। भन्छिन्, ‘मलाई त्यो गुरु मन्त्र नै भयो, त्यसपछि मैले शब्द हेरेर गाउनुमा विश्वास गरिनँ। शब्दलाई मनमा भिजाएर गाउनुका मजा बेग्लै छ।’
अब कुरा गरौँ, तारा देवीको
रेडियोमा गीत गाउने कस्ता हुन्छन् भन्ने जिज्ञासाले मीराले तारादेवी भेट्न खोजेकी थिइन्। तर गीत लिएर उनी आफ्नो बुवा मिश्रको हात समाएर रेडियो नेपाल पुगेकी थिइन्।
‘तारा बहिनी मेरी छोरी’ भनेर जब मिश्रले मीरालाई चिनाए। मिराले पनि नमस्कार गरिन् तर तारादेवीले नमस्कार फर्काइनन्। ‘तारा दिदीले जब नमस्कार फर्काउनु भएन, म साह्रै निराश भएँ। उहाँ ठूलो मान्छे भएर नमस्कार नफर्काएको होला भन्ने कत्ति लागेन बरु मनमा इख आयो, ‘मनमनै म पनि तपाईंजस्तै ठूलो गायक भन्ने छु,’ उनले ती दिनका कुरा सम्झिन्।
नमस्कार नपाई गीत गाउन रेडियो नेपाल भित्र पसेकी मीराले जब गाइन् उनको गलाबाट स्वर त आइरहेको थियो तर शरीरका भाग भने झमझमाएको थियो। लाटो भएको थियो।
‘मेरो मन शून्य भएको थियो। शरीरको भाग मरेको जस्तो अर्थात लाटो भएको थियो। गीत गाइसकेर जब सबैले प्रशंसा गरे म लाजले भुतुक्क भएकी थएँ। त्यति मेहनतले गीत गाउन बनाउने बुवापछि तारा देवी हो जसको नमस्कार नपाएकै कारण गायिका बन्ने अठोट लिएँ,’ उनले भनिन्।
त्यही दिन गीत गाएर बाहिर निस्कँदा नातिकाजीले मीराका बुवासँग मीराको प्रशंसा गरे। नजिकैको क्यान्टिनमा तारादेवी थिइन्। उनी आएर भनिन्, ‘शम्भुदाइ, छोरीले राम्रो गाउँदी रैछन्।’ तारादेवीले प्रशंसा गरेपछि मीरालाई पुग्यो । उनी शास्त्रीय सङ्गीत सिक्ने रहर तुरुन्तै बुवासँग गरिन्। पुतलीसडकमा संगीत महाविद्यालय थियो त्यही उनी भर्ना भइन्।
मखमली चोली चाहिँदैंन
२०२६ मा महाविद्यालयमा संगीतका रागहरु सिक्दै गर्दा एकदिन पुलिस क्लबमा गीत गाउने कलाकार चाहिएको थाहा पाइन मीराले। नेपाल पुलिस क्लबमा उम्दा गायक कलाकार भेटिन्थे। आफ्नो प्रस्तूति दिनका लागि क्लब एउटा सपना बनाउँथे। मीराका लागि पनि त्यो सपना नजिक थियो। उनलाई कसैले चिनाइदए— गायक संगीतकार गोपाल योञ्जन। ‘गोपाल दाइलाई भेट्दा म साह्रै झुक्किएँ। उहाँ बुढो हुनुहुन्छ जस्तो लागेको थियो तर भर्खरकै हुनुहुँदोरहेछ,’ उनले भनिन् ।
पहिलो भेटमा नमस्कार गरेर कुराकानी सुरु भएपछि मीरालाई योञ्जनले गीत गाउन लगाए। ‘माइतीघर’ चलचित्रमा लता मंगेश्करले गाएको ‘तिमीलाई शुभकामना’ छ गीत गाइन्। स्वर र गायकी सुनेर योञ्जनले ‘क्या बात’ भनेर उनलाई स्याबासी दिए।
यसरी मीराको संगत गोपाल योञ्जनसँग बाक्लियो। पुलिस क्लबमा नियमित आउजाउ हुन थाल्यो। योञ्जनका गीत अभ्यास गरिन्। यसरी योञ्जनको संगीतमा पहिलो गीत गाएको हप्ता दिनपछि मीरालाई नयाँ गीत बनाएका कुरा चुहाए उनै संगीकार योञ्जनले। गीतको बोल थियो,’मखमली चोली चाहिँदैन रेशमको साडी चाहिदैन।’
रेडियो नेपालको जमाना थियो। आमनेपाली, खासगरी मध्यम वा उच्चवर्गीय नारीका पनि सपना र चाहना त्यति ठूला थिएनन्, समाजका मूल्य–मान्यताले खुम्च्याइदिएर पनि। त्यो वेला खासगरी पहाडी नारीहरू मखमली चोलो, रेशमको सारी, नाकैमा फुली र कानैमा ढुङ्ग्री चाहन्थे। त्यसैमा नारीहरू भुलेको र ढकमक्क फुलेको मानिन्थ्यो। त्यही जमानामा एउटा विद्रोही लाग्नेजस्तो गीत रेडियोमा घन्कियो, ‘मखमली चोली चाहिँदैन रेशमको साडी चाहिदैन।’
मीराले गीत गाइनन् मात्रै दर्शकलाई नचाइन पनि। परिवर्तनकारी गीतमा दर्शक नाचे। पाँच सयमा ठूलै भोज निप्टिन्थ्यो तर दर्शकले पाँच सय तिरेर मीराका गीत सुन्ने भए।
छिन्नलता, गोरखा दक्षिण बाहु, नारायणगोपाल युवा सङ्गीत पुरस्कार, नातिकाजी पुरस्कारलगायत थुप्रै पुरस्कार थापिसकेकी मीरा भन्छिन्, ‘आइमाइ बाहिर निस्किन डराउने समय थियो। तर म स्टेजमा नाचीनाची गाउँथे। वान्स मोर भन्थे। गीत परिवर्तनमय छ भन्ने याद गरिन। विद्रोही गीत गाइरहेकी छु भन्ने पनि लागेन तर मखमली चोली नलाएर पनि रेशमको साडी नलाएर पनि सुन्दर छु भन्ने भाव त्यो बेला मनमा आएको थियो।’
रेडियो नेपालको जागिर सुरू
२०२८ सालतिर रेडियो नेपालमा गीत गाउनका लागि महिला स्वर कमै थिए। सीमित गायिकालाई देश विदेशका कार्यक्रममा भ्याइनभ्याइ थियो। यस्तैमा युगल गीत गाउन मीरालाई सम्झिन्थे। उमेरले पनि सानी। स्वर पनि मिठो भएकाले गायक संगीतकारको रोजाइमा मीरा पर्थिन्।
गीत गाएबापत ३५ रुपैयाँ दिन्थे। महिनामा सात सय सम्म कमाउन थालिन् उनले। तर रेडियो नेपालमा जागिर खानेहरुको तलब महिनामा तीन देखि चार सयसम्म थियो। अनि त मीराको मेहनतमा आँखा लाग्यो।
‘एक दिन रेडियो नेपालमा गीत गाउनका लागि जानु थियो तर रेडियो नेपालकर्मी गोविन्दबहादुर दाइले घरमै आएर रेडियो नेपाल भोलि नजानू भन्नुभयो। मलाई रातभरि निद्रा लागेन। बिहान उठेर एघार बजे पुगेँ। मलाई नै पर्खिएर गायक संगीतकार र टेक्निसियनहरु बस्नु भएको रहेछ। उल्टो मलाई हप्काए। मलाई गीत गाउन नदिए कसैले केही नगर्ने भनेर मेरो पक्षमा उभिनु भयो। अनि प्रशासनले हार खाए,’ उनले भनिन्, ‘जागिर खानु हुन्छ भनेर सोधे। के गर्नु पर्छ भनेर मैले सोधेको थिएँ। गीत मात्रै गाउने हो भने। मैले तीन सय महिनाको तलब पाउने गरी खरदार पदबाट जागिर सुरु गरेँ।’
गीत संगीतमा लागेर पैसा कमाउन नसके पनि थुप्रै माया कमाउन सकेको उनको जिकिर छ। उनी जनताले गरेको मायाले औधी खुसी छिन्। तीन चालिस र पचासको दशकमा सबै भन्दा बढी विदेशमा सांगीतिक प्रस्तूति दिएकी मीरा रेडियो नेपालमा तारा देवीको साथी नै भइन्। उनले ‘प्यारी’ भनेर बोलाएको अहिले पनि बिर्सिएकी छैनन्। गोपाल योञ्जनलाई त उनी गुरु नै मान्छिन्।
अरुणा लामासँग पनि उनको सम्बन्ध सुमधुर रह्यो। सांगीतिक कार्यक्रममै भेटेर नजिक भएकी थिइन अरुणा लामासँग मीरा राणा। ‘दिदीले मलाई यति माया गर्नु हुन्थ्यो कि दार्जिलिङ सँगै लैजानु भयो। म गएँ। आफ्नै हातले खाना बनाएर खुवाउनु भयो। जाडो याम भएकाले आफूले ओढेको सल ओढाइदिनु भयो,’ उनले ती दिन सम्झिन्।
सांगीतिक यात्राका क्रममा मीरा तारादेवीको प्रिय थिइन्। तारा र मीराले एक–अर्काको सङ्गीतमा थुप्रै गीत गाए। दुवैले धेरै समय रेडियो नेपालमा सँगै काम गर्न भने पाएनन्। बहुदल आएपछि सरकारले कर्मचारीको ३० वर्षे उमेर हदबन्दी तोकेपछि तारादेवीको जागिर गुमेको थियो।
मीराले रेडियो नेपालमा एउटा साङ्गीतिक कार्यक्रम चलाइन्, पुष्पाञ्जली, जुन कार्यक्रम अति नै चर्चित बनेको थियो।
गीत गाउन रेडियो नेपालमा जागिर खाएकी मीरा अधिकृत भएर अवकाश लिएकी थिइन्। भन्छिन्, ‘३७ वर्ष जागिर खाएँ। आठौँ तहसम्म बढुवा भएर ०६६ सालमा अवकाश लिएँ। त्यहाँ जागिर हुन्थेन भने देशका ठूला गायक संगीतकारसँग उठबस हुन्थेन।’
अम्बर गुरुङसँगको त्यो भेट
जीवनमा थुप्रै गायक संगीतकारकी प्रिय मिरा राष्ट्र गीतका संगीतकार अम्बर गुरुङको प्रीय हुन नसक्नुको कथा पनि खोलिन्, ‘अम्बर दाइको जम्मा दुई गीत गाएँ। उहाँसँग त्यति नजिक हुन पाइनँ।’
एक दिन तत्कालीन नेपाल एकेडेमीमा गीत गाउनका लागि पुगेकी थिइन मीरा। उनलाई एकेडेमीका ठूला कर्मचारीले गीतका लागि बोलाए बमोजिम पुगेकी थिइन्। तर संयोग उनी अम्बर गुरुङको कार्यकक्षममा पुगिन्। त्यहाँ अम्बर गुरुङ गायिका निर्मलालाई गीत सिकाइरहेको थिए। उनै निर्मलाको पछाडि बसेर निर्मलाले अभ्यास गरिरहेको गीतमा स्वर थपिन्। अचानक कम्पोज तलमाथि हुन पुग्यो।
‘खासमा निर्मलाको स्वरमा स्वर खापेकी थिएँ। उनी त पहिलादेखि अभ्यास गरिरहेकी थिइन्। म नयाँ भएकाले मेरो स्वर चिप्लियो अनि त अम्बर दाइ पड्किनु भयो, निर्मलाजस्तो गाउन त १२ वर्ष लाग्छ। मेरो मनमा चस्स पर्यो । निराश भएँ । मनमनै सोचेँ- तपाईंको संगीतमा कहिले गाउँदिनँ। अनि म उठेर एकेडेमीको प्रशासनतिर गएँ,’ उनले भनिन्, ‘प्रशासन हाकिम र कवि माधव प्रसाद घिमिरेलगायतले उनै गुरुङकहाँ लगेर अभ्यास गर्न लगाए। अभ्यास गरेँ।’
एकेडेमीमा नै गाएँ। घिमिरेज्यूको शब्द थियो। उहाँ खुसी हुनु भयो तर अम्बर दाइ कत्ति खुसी देखिनु भएन। सायद उहाँलाई निर्मलालाई गाउन दिन नपाएकोमा पिडाबोध भइरहेको थियो कि! मैले पनि उहाँको अनुहारमा हेरेर गीत गाउन सकिनँ र अन्तै हेरेर गाएको थिएँ।’
एकेडेमीमा मीराको गुरुङसँग दोस्ती जम्न नसके पनि हङकङको हिम शिखर साँझ नामक कार्यक्रममा दुवैको भेट भएको थियो। ‘सिंगापुरमा पुगेर दाइले भन्नु भयो, ‘सरी बहिनी मैले तिमीलाई चिन्न सकिनँ।’ दाइले त्यति भनेपछि मेरो गह्रुङ्गो मन हलुका भएको थियो। पछि उहाँ बिरामी हुँदाम पटकपटक घरमा अस्पतालमा पुगेको थिएँ,’ मीराले भनिन्।
थुप्रै गायक संगीतकारसँग काम गरेकी मीराको भेट भने नारायण गोपालसँग कलकत्तामा भएको थियो।
कलकत्ता र नारायण गोपाल
२०२६ सालमा चलचित्र ‘परिवर्तन’का लागि गीत रेकर्ड गर्न कलकत्ता पुगेकी थिइन मीरा र तारादेवी। मेल भ्वाइसमा थिए, नारायण गोपाल। उनी दार्जिलिङ थिए विवाहको सिलसिलामा। त्यतैबाट कलकत्ता पुगे नारायण गोपाल। मीराले ‘त्यो बहिनीको दया,’ ‘किन बोलेको,’ ‘सुन मौसमले के भन्छ’ लगायत गीत गाइन्। भन्छिन्,’नारायण गोपाल दाइ पनि ठट्टा गर्न रुचाउनु हुन्थ्यो। एक पटक हामी बर्मा सांगीतिक कार्यक्रममा गएका थियौँ। त्यहाँ बर्मेली पहिरनमा उहाँले तारा दिदी र मलाई बर्मेली नारायण गोपाल भनेर खुब ठट्टा गर्नु भएको थियो।’
घर परिवार र क्यान्सर
सांगीतिक जीवनमा जसरी चल्यो त्यसरी नै उनको जीवनमा आएका थिए, उदयजंग राणा। मिश्र परिवारमा जन्मेकी मीरालाई जब राणा परिवारका युवा उदय जंगलेनेपाल पुलिस क्लबबाट पछ्याएका थिए। केही दिन पछ्याए। गाडीको भाडा समेत नदेखिने गरी तिर्थे। यसरी दुई वर्षपछि प्रेम विवाह गरे। राणासँग मीरा बम्बै पुगेकी थिइन्।
विवाह पछि पहिलोपटक बुवा भेट्न् मीरा अस्पतालमै पुगेकी थिइन् तर बुवा आमा नबोलेपछि आफूले लिएर गएको फलफूलको पोको छोडेर फर्किनु परेको थियो। उनी भन्छिन्, ‘त्यो फलफूलको पोको पछि फर्काइदिए। खुब राेएँ।’
मीरा बाेल्दाबाेल्दै भावुक भइन्।
जीवनमा श्रीमानसँग कहिले झगडा नगरेको बताउँछिन् मीरा। दुई कपमा चिया हालेर पिउँदा-पिउँदै पछि एउटा कपले दुवैलाई हुने गरेको सुनाइन्, ‘हामीले कहिले एकअर्कालाई गुनासो गरेनौँ। कहिले झगडा वा भनाभन भएन।’
श्रीमानको मृत्युको अन्तिम घडीमा पनि मीराले गीत सुनाएकी थिइन्। भजन सुनाएकी थिइन्। ती गीत र भजन प्रेमको सुरुवातीमा पनि सुनाउने गरेको बताइन् उनले।
‘किमो लिँदा साह्रै दुख्थ्यो। हरेक पीडा उहाँ लेख्नु हुन्थ्यो। मृत्युको केही समय अघि नर्सले बोलाएँ। उहाँको घाँटीमा कफ अड्किएजस्तो भएको थियो। मैले उहाँलाई गीत सुनाएँ। ६ वटा,’ मीरा बोल्दाबोल्दै राेइन्। गहभरि आँसु बनाइन्।
उनsf श्रीमान् प्याङ्क्रियाज क्यान्सर भएर बितेका थिए।
मिरा पनि क्यान्सर पीडित हुन्। ब्रेस्ट क्यान्सरका कारण नेपालमा उपचार नभएपछि बेलायत गएर उपचार गर्नु परेको थियो।
गायनसँगै राजनीति
जीवनमा गीत गाउँदा गाउँदै राजनीति पनि गरिन् मीराले। राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेर काठमाडौँको क्षेत्र नम्बर तीनबाट चुनाव लडिन्। हारिन्। भन्छिन्,’२० लाख सकेँ चुनावमा। तर देशका लागि केही गरौँला भनेर लागेको थिएँ। तर अहिले राजनीतिप्रति खासै चासो छैन।’
आम मान्छे नेता भएपछि नचिनिने हुने गरेको बताइन् उनले। केही नेतासँग सँगै कार्यक्रममा बसेको। सम्मानित भएको तर मन्त्री तथा प्रधानमन्त्री हुने वित्तिकै चिन्न नचाहे जस्तो गरेको बताइन् उनले।
‘हामी सबै जनताका लागि काम गर्छौँ। कसैले राजनीति गरेर कसैले गाएर तर नेता हुने वित्तिकै नचिनिने जस्तो भएको मन परेन,’ उनले भनिन्, ‘कांग्रेस एमाले माओवादीहरु मेरा गीत सुनेर आएका हुन्। त्यसैले यिनीहरू ठूला पल्टिएर के हुन्छ र?’
अहिलेका नेताहरू गतिला नभएकाले राजा देशका लागि चाहिएको बताइन्, ‘राजा नभएर देश खत्तम भइसक्यो देशका लागि पनि राजा चाहिन्छ।’
राजाका पालामा गायक कलाकारले पाउने सम्मान अद्भूत रहेको बताउँछिन् उनी। अहिले नेताले गायक कलाकारलाई प्रयोग मात्रै गर्दै आएको बताइन्।
जीवनमा संगीतबिना आफू अधुरो हुने बताउने मीरा भन्छिन्, ‘संगीतले मान्छेलाई जगाउँछ, संयम बनाउँछ, मृत्यु मुखमा पुगेका मान्छेलाई पनि संगीतले बचाउँन सक्छ। त्यसैले त अस्पतालहरूमा अहिले संगीत सुन्न पाइन्छ।’