नेपालगन्ज – नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले आगामी महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपालगन्जमा आज नेपाली कांग्रेस बाँकेको नवनिर्मित सुशील कोइराला स्मृति भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गिरीले उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
सन्तनेता कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीको अवसरमा गरिएको भवन उद्घाटन कार्यक्रममा उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
बाँकेसँग लामो समयदेखि आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउँदै उनले नेपालगन्जबाट उपसभापति पदमा लड्ने घोषणा गरे। गिरीले कुन समूहबाट लड्ने भन्ने विषय पछि टुंगो लाग्नेसमेत बताए।
वि.सं. २०३६ सालमा नेविसंघ केन्द्रीय सदस्य भएका गिरी पटक-पटक पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। १४औँ महाधिवेशनमा गिरी डा. शेखर कोइराला समूहबाट खुलातर्फको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
उनी २०७९ को निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट सांसद निर्वाचित भएका थिए। गिरी २०७३ मा सिंचाइ मन्त्री पनि भएका थिए।