थुप्रै नेपाली लेखक अंग्रेजी भाषामा लेखिएका साहित्य पढ्छन्। चियालयहरूमा विदेशी लेखक र तिनले लेखेका पुस्तकमाथि बहस पनि गर्छन्। कतिपय पुस्तकलाई नेपाली भाषामा अनुवाद गर्ने लेखक पनि छन्। तर, अंग्रेजीमै साहित्य लेख्न भने हच्किन्छन्। ‘नेपालीमा लेख्दा जति आनन्द हुन्छ त्यति अंग्रेजीमा लेख्दा आउँदैन,’ भन्ने लेखक छन्।
नेपालमा चलेका प्रकाशन गृहले पनि अंग्रेजी भाषामा साहित्यिक पुस्तक प्रकाशनमा ल्याउन डराउँछन्। बजार सानाे छ, अंग्रेजी भाषामा पढ्ने पाठक न्यून छन् भनेको सुन्न पाइन्छ। तर, विश्व बजारमा पुग्न अंग्रेजी भाषामा लेख्न आवश्यक छ। लेखक सम्राट उपाध्याय, मञ्जुश्री थापाजस्ता केही लेखक अंग्रेजीमा लेख्छन् तर त्याे पर्याप्त हाेइन। त्यसैले राम्रा नेपाली साहित्यिक पुस्तक बढीभन्दा बढी अनुवाद हुन आवश्यक छ। तर, नेपाली किताबलाई अंग्रेजीमा अनुवाद गर्ने अनुवादक नै न्यून छन्। नेपाली साहित्यलाई अंग्रेजीमा अनुवाद गर्न आर्थिक र अनुवादकका हिसाबले कति चुनाैती छ? कि अरु नै कारणले चुनाैती छ?
यिनै प्रश्नको घेराभित्र रहेर शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा ‘कस्तो भाषान्तर, कति भावान्तर’ सत्रको बहसमा लेखकहरू गम्भीर देखिए। अल्फा शाक्यले सञ्चालन गरेको तेस्रो सत्रमा अनुवादक निरन्जन कुवँरले भने, ‘नेपाली भाषालाई जस्ताको तस्तै अंग्रेजीमा ढाल्न गाह्रो हुँदोरहेछ।’
फाइनप्रिन्ट फिभरमा सेतो धरती (माई ह्यवाइट लाइफ) र सल्लीपिर (अल्फाबेट इन द स्नाे)को अंग्रेजी अनुवादको सार्वजनीकरण हुने सन्दर्भमा यो छलफल आयोजनामा आख्यानकार नयनराज पाण्डेले मूल भाषाबाट अर्को भाषामा आउँदा केही न केही बदलाव आउने गरेको बताए। ‘तपाईं,’ ‘तिमी,’ र ‘तँ’लाई अंग्रेजीमा ‘यु’ नै भनेर सम्बोधन गर्दा मात्र पनि हाम्रो मौलिक भाव नै मर्दो रहेछ,’ उनले भने।
त्यसैगरी लेखकले फरक भाषा र समुदायकाे कथा लेख्न सक्दैन भन्न नहुने पनि उनले बताए। पश्चिम तराईको कथा लेख्दै आएका पाण्डेले हिमालका कथा लेख्नु हुँदैन भन्ने सुझाब झेल्दै आएको स्मरण गर्दै भने, ‘लेखकले अध्ययन अनुसन्धान र समाज बुझ्नै पर्छ र लेखकको आफ्नै खालको भाषा हुन्छ। त्यसैले कुनै पनि समुदाय वा भूगोलको कथा लेखे पनि पूर्ण न्याय कति गर्यो भन्ने हुँदो रहेछ।’
मदन पुरस्कार विजेता अमर न्यौपानेले ‘पानीको घाम’ किताब लेख्नका लागि नेपालगञ्ज पुगेको सन्दर्भ पनि पाण्डेले जोडे। ‘उलार,’ ‘लू’ जस्ता उपन्यासका लेखक पाण्डेले भने, ‘लेखकले कुन समुदाय, भूगोल र भाषामा लेख्यो भन्दा पनि कति इमान्दार भएर लेख्यो भन्नेले अर्थ राख्छ।’
लेखक न्यौपानेले अंग्रेजी साहित्य नेपाली भाषामा पढिरहेका हामीले हाम्रा किताब अंग्रेजी भाषामा ल्याउने काेशिस नै साहसिलो काम रहेकाे बताए।
नेपाली राम्रा पुस्तक विश्व बजारमा भाषाकै कारण पुर्याउन नसकेको आजकाे समयमा अंग्रेजीमा आउनुले लेखकहरू हाैसिने बताए न्यौपानेले। ‘साहित्यको देश हुँदैन। कुनै मन्त्री या राष्ट्रपतिको देश हुन्छ तर साहित्य लेख्ने जुनै देशका लेखकका कृतिका कारण उनीहरू सर्वप्रिय हुन्छन् र तिनीहरू एउटा देश व भाषामा सीमित रहनु पर्दैन,’उनले भने, ‘हाम्रो किताब पनि विश्व बजारमा पुग्न ढोका अझै फराकिलो भएर आएको छ। खुसी लागेको छ।’

कार्यक्रममा अर्काे सत्र थियाे, ‘आख्यानमा इतिहास।’
मदन पुरस्कार प्राप्त कृतिकी लेखक नीलम कार्की निहारिका र ‘मोक्षभूमि’ लगायतका पुस्तकका लेखक तथा राजनीतिक टिप्पणीकार केशव दाहालबीच उक्त सत्रमा कुराकानी भएको थियो।
संवादका क्रममा इतिहासलाई आख्यानमार्फत बुझाउन थप चुनौती रहेको निष्कर्ष थियो। इतिहास सत्य हो तर आख्यान कल्पनाशिलता पनि हुने भएकाले त्यसलाई मिलाएर किताब लेख्न गाह्रो रहने बताइन् कार्कीले।
कार्कीले यसअघि ‘योगमाया’ र ‘चीरहरण’ जस्ता किताब लेखेकी छन्। त्यसैगरी उनको नयाँ पुस्तक ‘राजमाता’ पनि इतिहासमाथि लेखिएको आख्यान हाे, जसकाे कभर अनावरण कार्यक्रममा गरिएकाे थियाे।
लेखक दाहालकाे पनि नयाँ उपन्यास ‘इथा’काे आवरण अनावरण गरिएको थियाे।
बेलायतमा पहिलोपटक प्रकाशित ‘ग्राफिक कमिक’ ‘यल्प! यती! केयोस इन काठमाडौँ’ की लेखक स्नेहा प्रधानसँग प्रकाशक तथा महोत्सव निर्देशक मोनिता गुरुङले उक्त पुस्तकलाई केन्द्रमा राखेर संवाद गरेकी थिइन्। साथै नेपाली-अमेरिकी लेखक सम्राट उपाध्यायको नयाँ ‘डिस्टोपियन’ उपन्यास ‘डार्कमदरल्याण्ड’माथि उद्यमी तथा फोटोग्राफर रिभा थापाले कुराकानी गरेकी थिइन्। उक्त सत्रमा अमेरिकाको सोहो प्रेसबाट प्रकाशित उपन्यासको नेपाली संस्करणको विमोचनसमेत भएको थियो।
फाइनप्रिन्टका लेखक र पुस्तकलाई ‘सेलिब्रेट’ गर्न तथा पुस्तक बजारलाई चलायमान बनाउने उद्देश्यले फाइनप्रिन्ट फिभर आयोजना गरिँदै आएको यसका परिकल्पनाकार नीरज भारी बताउँछन्। घुम्ती साहित्य महोत्सवका रूपमा २०८२ सालको फाइनप्रिन्ट फिभरको काठमाडौा संस्करणमा चार पुस्तकको विमोचन, लेखकहरूसँग पुस्तक हस्ताक्षर कार्यक्रम तथा विशेष छुटसहितको पुस्तक प्रदर्शनी भएको थियो।
गत कात्तिकमा चितवनबाट सुरू भएको यो महोत्सव पोखरा, सुर्खेत, नेपालगञ्ज र दाङ हुँदै काठमाडौँ आइपुगेको हो। अब इटहरी र बिर्तामोड हुँदै पश्चिमतर्फ धनगढी पुगेर समापन हुनेछ।