- मंगलबार साँझ बालुवाटारअगाडि सांकेतिक विरोधका फोटो खिच्दा सुरक्षाकर्मीले एक फोटो पत्रकारलाई नियन्त्रणमा लिएको आरोप छ।
- सुरक्षाकर्मीले फोटो डिलिट गर्न दबाब दिँदै अपमानजनक व्यवहार गरेपछि सम्पादकलाई खबर गर्ने प्रयास असफल भएको थियो।
- एक उच्च अधिकारीको हस्तक्षेपपछि सुरक्षाकर्मीले फोटो पत्रकारलाई रिहा गरेका र घटनाबारे प्रतिक्रिया नदोहोरिने आश्वासन दिएका छन्।
मलाई प्रधानमन्त्री निवास बालुवाटारअगाडि मंगलबार साँझ भएको सुरक्षाकर्मीहरूबाट भएको दुर्व्यवहारपछि धेरैले फोन गर्नुभयो। व्यस्तताले कतिलाई रेस्पोन्स गर्न सकियो त, कतिलाई सकिएन। के भएको हो भनेर धेरैले जिज्ञासा पनि राखे।
मंगलबार अपराह्न अरु बेलाझैं प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारअगाडि सांकेतिक विरोध कार्यक्रम गर्न लागेको भन्ने खबर पाएपछि म त्यहाँ पुगेकी थिएँ।
विरोध जनाउनेहरू दुई जना मात्रै रहेछन्। ती दुई जनाले सरकारले जेनजीलाई ललिपप दिएको आशयमा सरकार र जेनजीबीच भएको सम्झौतापत्र र ललिपप (चकलेट)लाई बालुवाटारको गेटअगाडि फ्याँक्दै सांकेतिक विरोध गरेका थिए।
मैले त्यसको फोटो खिचेँ। मैले फोटो पत्रकारिता सुरु गरेदेखि यस्ता विरोध कार्यक्रमका फोटो खिचेको यो पहिलो पटक होइन। फोटो खिचिसकेर प्रदर्शनकारीलाई प्रहरीको भ्यानमा राखिसकेको अवस्थामा, पैदलयात्री हिँड्ने पेटीमा पुग्दा मलाई युनिफर्ममा रहेकी एक महिला प्रहरी र अर्की युनिफर्मबिनाकी महिलाले ‘तपाईंले खिचेको फोटो डिलिट गर्नुस्’ भने।
मैले ‘तपाईंले मैले खिचेको फोटो डिलिट गर्नू भन्न पाइँदैन र म डिलिट पनि गर्दिनँ’ भनेँ। उनीहरूले न मेरो परिचय मागे, न खिचेको फोटोबारे सोधे। एकोहोरो मलाई फोटो डिलिट गर्न भनिरहे।
जब मैले ‘गर्दिनँ’ भनेँ, उनीहरूले मलाई नियन्त्रणमा लिने र मोबाइल पनि सिज गर्दिन्छौँ भने। उनीहरूको जुन किसिमको दुर्व्यवहार र अपमान ममाथि गरे, यसबारे मैले म काम गर्ने देशसञ्चारका सम्पादक युवराज घिमिरे सरलाई फोन गरिरहँदा उनीहरूले मेरो हात ताने। सरसँग फोनमा कुरा गरिरहँदा नै उनीहरूले मेरो फोन खोसे। घचेट्दै बालुवाटारमा रहेको सानो प्रहरी बिटमा लगे।
उनीहरूले त्यहाँ मेरो पेसालाई खिल्ली उडाए। ‘क्यामेरा बोक्दैमा पत्रकार हुन्छ, पत्रकार हो भन्दैमा यो देशको सुप्रिम हो र ? यदि यहाँ बम पड्काइदियो भने त्यसको जिम्मेवारी तपाईंले लिने हो?’ ती सुरक्षाकर्मीले अपमानजनक ढंगले म र मेरो पेसाको खिल्ली उडाइरहे।
उनीहरूले न मेरो परिचय मागे, न खिचेको फोटोबारे सोधे। एकोहोरो मलाई फोटो डिलिट गर्न भनिरहे।
‘सूचना विभागको पत्रकार परिचयपत्र हुँदैमा के तिमीहरू ठूला मान्छे हौ?’ एकजनाले भने।
उनीहरूले नियन्त्रणमा लिएको मेरो फोन तारन्तार बजिरहेको थियो।
केही क्षणपछि मलाई उनीहरूले ‘जानुस् अब तपाईं’ भने। तर, त्यसरी घचेट्दै नियन्त्रणमा राख्छु भन्दै मोबाइल खोसेकाहरूले किन समाते भन्ने प्रष्ट नपारी मलाई ‘अब तपाईं जानुस्’ भने।
त्यतिञ्जेलसम्म पनि मलाई मेरो फोन फिर्ता गरिएको थिएन। मैले ‘मलाई किन यसरी समात्नुभएको,फोन किन नियन्त्रणमा लिनुभयो? घचेट्दै ल्याएर अहिले त्यसै जा भनेर हुन्छ?’ भनेर प्रतिप्रश्न गरेँ।
ती दुई महिला र उनीहरूसँगै उभिएको एक पुरुष प्रहरीसँग यसरी प्रतिप्रश्न गरिरहँदा कसैले भन्यो –उहाँको फोन फिर्ता गरिदिनुस्।
त्यसपछि मसँग भएको यस्तो व्यवहारबारे त्यहीँबाट देशसञ्चारका सहसम्पादक मनोज दाहाल सरसँग कुरा भयो। मलाई उहाँले ‘नआत्तिन’ भन्नुभयो। त्यसपछि अफिसले यसबारे समाचार सम्प्रेषण गर्यो। त्यतिबेला म इन्टरनेटको पहुँचमा थिइनँ।
सायद सुरक्षाकर्मीको त्यो अपमान र दुर्व्यवहारबारे धेरै थाहा पाइसकेका थिए। मेरा सहकर्मी, साथीभाइ र शुभेच्छुकहरूले मलाई फोन गरिराख्नुभएको थियो। तत्कालै मैले रेस्पोन्स गर्न सकिनँ। म त्यतिबेलासम्म पनि बिटमै थिएँ। मेरो एउटै अडान थियो –किन मलाई यसरी नियन्त्रणमा लिइयो ? फोन खोसियो, घचेट्दै बिटसम्म ल्याइयो ? जवाफ देऊ। मलाई घचेट्दै लाने दुई महिला र एक पुरुष लुरुलुरु प्रधानमन्त्री निवासको गेटभित्र छिरे। म भने बिटमै थिएँ।
त्यो बीचमा ‘माली गाउँ प्रहरी वृत्त’का डिएसपी त्यहाँ आइपुगे। उनले मसँग निकै सौहार्द्रपूर्ण व्यवहार गर्दै बिटबाट निस्कन विनम्रतापूर्वक आग्रह गरे।
अन्ततः मलाई काठमाडौँ प्रहरी परिसरका एसएसपीलगायतले फोन गरेर यस्तो घटना नदोहोरिने वाचा गर्दै त्यहाँबाट निस्कन आग्रह गरे। काठमाडौँ प्रहरी परिसर प्रमुख रमेश थापाले मेरो कार्यालयका सहसम्पादक मनोज दाहाल सरसँग पनि कुरा गरेका रहेछन्। त्यतिञ्जेल अफिसका सहकर्मी टोपेन्द्र रोकामगर र केही अन्य साथीहरू त्यहाँ आइपुगे, अनि म उनीहरूसँगै निस्किएँ।
यस्तो घटना मैले पहिलोचोटि भोगेको होइन। योभन्दा अगाडि पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी हुँदा राष्ट्रपति भवनअगाडि मलाई समातिएको थियो। यस्ता किसिमका घटना बारम्बार पत्रकारमाथि हुने गर्छन्। कतिपय घटना साना हुन्छन्, त्यसै विलाउँछन्।
पत्रकारिता भनेको अपराध होइन भन्ने कुरा प्रधानमन्त्रीलाई पनि थाहा छ र गृहमन्त्रीलाई पनि । तैपनि किन भइरहन्छन् यस्ता घटना ? प्रधानमन्त्री निवासबाहिर भएको यो घटनाको जवाफदेही प्रधानमन्त्री/गृहमन्त्री हुनुपर्ने कि नपर्ने?